Saturday, February 22, 2014

सौन्दर्यको शहरमा पर्यटन र पिडा


  
 सुन्दरपश्चिम सेराफेरो’      
                                                                                                                                                                       
                                                                                                         –कृष्ण महरा
विश्वभरी कब्जा जमाएको ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाईरहदा तत्कालिन  ईष्ट इन्डिया कम्पनीको सेनालाई सहयोग गरेकाले कम्पनी सरकारले खुसीभई सुगौली सन्धीमार्फत गुमेको  राप्तीपारी देखि महाकाली वारी सम्मको भुभाग तत्कालीन श्री ३ जंगबहादुरलाई बहादुरीको कदरस्वरुप   वि. स. १९१७ मा फिर्ता दियो । जसलाई अझैपनि हामी नयाँ मुलुकका नामले चिन्दछौ ।

जुन क्षेत्र हालका बाके, बर्दिया, कैलाली र कञ्चनपुर हुन । पश्चिम तराईमा क्षेत्रफलको हिसाबले लगभग एक चौथाई, जनसंख्या र उब्जनीको हिसाबले झण्डै आधा हिस्सा ओगट्ने समथर गुमिसकेको भुभाग फिर्ता पाउनु नेपालको लागी सौभाग्यको कुरा हो । सशस्त्र संर्घषका बेला आर्थीक संकटका कारण पैसाको सट्टा उक्त भुभाग प्रदान गरीएको इतिहाँसकारहरुले उल्लेख गरेका  छन ।

त्यही बहादुरीको बक्सिसमा नेपाललाई प्राप्त हुन सफल क्षेत्रमध्ये कञ्चनपुर पनि एक हो । इतिहाँसमा उल्लेख भएअनुसार सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गा.वि.स.को बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाँउबाट कञ्चनपुर जिल्लाको नामाकरण गरिएको हो । पश्चिम तथा दक्षिणमा क्रमशः भारतको उत्तराखण्ड र उत्तरप्रदेश तथा पुर्व र उत्तरमा क्रमशः कैलाली र डडेलधुराको अनुपम सुन्दरताले  घेरिएको छ । विष्णुमन्दिर, शिवधाम, घटालबाबा, वैजनाथधाम, निंलाशैनी भगवती, र सिद्धनाथजस्ता सुप्रसिद्ध धार्मिक स्थलहरु राजधानी र आसपासका कुनै चर्चित धार्मीक स्थलभन्दा कम छैनन,

अझ भन्नुपर्दा रमणीय वातावरण र भ्रमणका हिसाबले अरुभन्दा चोखा अर्थात प्रसिद्धिप्राप्त लेखक कर्ण शाक्यको भनाईमा भर्जिन क्षेत्र । बेतकोट ताल, बन्दा ताल,  झिलमिला ताल, रानीताल, प्यारा ताल एवं पुरैना ताल यहाँ स्थित कयौ तालहरुमध्ये केही ताल हुन जुन प्रचार–प्रसारको पर्खाईमा छन । जसरी पोखरालाई पानी रंगको शहर भनिन्छ, मिडिया, प्रचार प्रसार र विकाशले अलिकति बढि महत्वकासाँथ छुन सकेको भए सायद कञ्चनपुरपनि जलाशयको जिल्ला भनेर चिनिन सक्थ्यो ।

बाह्रसिंगाको राजधानी शुक्लाफाँटाका घासेमैदानहरुमा त्यतिकै स्वदेशी तथा विदेशी पर्यटक लाभ्याउने क्षमता छ जति मध्यतराईस्थित विश्वका हात्तीहरुको दौड प्रतियोगिता हुने  चितवनको सौराहामा छ । जति गोरखाको मनकामना र धरानको बुढासुब्बा जस्ता धार्मिक क्षेत्रहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गरी रोजगारी संगसंगै  अर्थापार्जन गर्न सफल भएका छन, गौरवमय तलाउको विचमा रहेको विष्णुमन्दिर परिसर र शौन्दर्यको शहर महेन्द्रनगरको विचमा रहेको सिद्धनाथ धार्मिक स्थलले पनि त्यत्ति नै पहिचान र पैसा कमाउने हिम्मत राख्दछन ।

बर्षेनि हुने कञ्चनपुर पर्यटन महोत्सव तथा वृहत व्यापार मेला र  स्थानीय सञ्चारमाध्यम  एवं पत्रपत्रिकाहरुले यस्ता अवसर र सम्भावनाको क्षण पर्खिरहेका पर्यटकिय स्थलहरुको  प्रचार–प्रसार अत्यन्त सरहानिय, सम्मानजनक र समय सुहाउदो भएपनि पर्याप्त भने हुन सकेको छैन । त्यसै अलौकिक प्रचार, संरक्षण र संवर्धन खोजेको अर्को सम्पुर्ण सुदुरपश्मिेली एवं नेपालीहरुकै  सम्पति हो दोधारा झोलुंगे पुल । साहित्यिक शब्दमा नेपाल बाहिरको नेपाल भनेर चिनिने महाकाली  सिमा बाहिरको नेपाली भुमि दोधारा–चाँदनीलाई  यो पुल निर्माणले त्यस ठाँउका देशभक्त नेपालीहरुको सदरमुकाम महेन्द्रनगर आउदा भारतको बनवासा भएर आउनुपर्ने वाध्यतालाई मात्रै अन्त्य गरेन, आफ्नै सिमा मार्फत निर्धक्कसंग आवत–जावत र व्यापार व्यवसाय गर्ने सुवर्ण अवसरसमेत जुराईदियो ।

पुल बन्नु भन्दा पहिला सदरमुकाम आउदा बनवासा पुलका मालिकहरुको अचाक्ली सास्ती खेप्नुपरेको पिडा दोधारा–चाँदनीका पाका बासिन्दाहरुसंग छ । एशियाकै चर्चित यो पुललाई हिड्डुलका रुपमा मात्रै प्रयोग गरिनु हुदैन । आवत–जावत त पुलले बोकेका अथाह सम्भावनाहरुमध्ये एउटा सानो अंशमात्रै हो, पुलले बोकेको अपार सांस्कृतिक तथा पर्यटकिय दृश्यहरुलाई चिन्न सक्नुपर्दछ । लमजुंगको घलेगाँउ र स्याङ्जाको सिरुवारी दक्षिण एशियाकै उत्कृष्ट पर्यटकिय गाँउ बन्नसक्ने तर पश्चिम नेपालको  दोधारा–झोलुंगे पुल, शक्लाफाँटा र खप्तड क्षेत्र नेपालकै पनि उत्कृष्ट पर्यटकिय क्षेत्र बन्न नसक्ने भन्ने हुदै हुदैन ।

अझ निर्माणको केहि वर्षमै संरक्षण अभावमा पुल जीर्ण अवस्थामा पुग्नु, संरक्षणमा स्थानीय निकाय एवं सम्बद्ध सरोकारवालाहरु नै गैरजिम्मेवार देखिनु भविष्यमा उक्त ठाँउ पर्यटकिय पकेट क्षेत्र घोषणाको लागी अत्यन्त अशुभ संकेत हो । सरकारले नै संरक्षणको व्यवस्था गर्ला भनेर सोच्नु हामी सबैको भुलवाहेक अरु केहि हुदैन किनभने सरकारले त पुल बनाईदिनु नै आफ्नो कर्तव्य पुरा भएको ठान्दछ ।

त्यसैले एशियाकै नमुना पुल संरक्षणमा सम्बधित निकाय तथा स्थानीय प्रवुद्ध व्यक्तित्वहरुले अग्रसरता र तदारुकता देखाउन सक्नुपर्दछ । एउटा स्वीस पर्यटक खसेको  खोल्सालाईपर्नि  डेविड फल्स’का नामले चर्चित बनाई रोजगारी र लाखौ रुपिया कमाउन खप्पिस पोख्रलीहरुबाट हामि सबैले पाठसिक्दै आफ्नो क्षेत्रमा भएका ऐतिहाँसिक तथा पर्यटकिय स्थलहरुलाई संरक्षण र संवर्धनसहित  आम्दानीको स्रोतको रुपमा उपयोग गर्नसके रोजगारी खोज्दै खाढिमुलुक धाउनुपर्ने अवस्थामा निश्चय नै कमि ल्याउन सकिन्छ ।

 त्यसो गर्न नसक्दा हामिलाई कुनैदिन घरमा घार हुँदाहँदै मह काट्न नसकेको आरोेप लाग्यो भने अन्यथा सम्झिनु नपर्ने अवस्था पनि आउनसक्छ  । झण्डै एकमहिना अगाडि नेपालका प्रमुख राष्ट्रिय प्रिन्ट तथा अनलाइन पत्रपत्रिकाहरुले तनहुँको ३५५ मि. लामो पुललाई नेपालकै सबैभन्दा लामो पुल भन्दै तस्विरसहित उच्च प्राथमिकताका साँथ समाचार सम्प्रेशण गर्दा पश्चिम नेपालको कञ्चनपुर स्थित १४५२ मि.लम्बाई भएको दोधारा–चाँदनी झोलुंगे पुल नेपालको मात्रै नभई एशियाकै लामो हो भन्ने थाहा पाउने जोसुकै नेपालीको  त्यस्तो भ्रामक समाचारले मन दुखेको हुनुपर्छ । यसले हाम्रो पर्यटकिय भविष्य कसरी र कहाँ पु¥याईदैछ भन्नेकुरा सबैले बुझ्नुपर्दछ ।

दोधारा–चाँदनीको  उर्वर नेपाली भुमि उसै त सिमापारि, त्यसमा पनि हिउदमा एकथोपा पानी नहुने तर  असार सुरु भएसंगै त्यस क्षेत्रका वासिन्दाको विचल्ली सुरुहुन्छ । सिंचाईको लागी मुट्ठीभर पानी छोड्न नचाहने असल छिमेकीको आशिर्वाद वा नियत भन्नुपर्छ वर्षातमा उर्लदो महाकालीको निर्दयी बहाव सोझै दोधारा–चाँदनीका श्रमजिवी वासिन्दासंगै  घरका भित्ताहरु झम्टिन पुग्छ ।

जताततै हरियाली र रिमझिम वर्षाको वहारसंगै प्रकृतिको मुहारमा खुसियाली  ल्याउने असार सिमापारीको त्यो रस्तिवस्तिको लागी भने कहिल्यै रहर र हर्षका आश्र्चय लिएर आएन । ल्यायो त केबल वर्षातको साउने भेल, डर, त्रास,चिन्ता, भय,अनिदो, हतास,  प्यास, हाहाकार, त्यस्तै त्यस्तै । कहिलेकाँहि त लाग्छ साउने भेलको सिमापारिको वस्तीसंग के नै लिनुदिनु थियो र ? यो वेदनाको अन्त्य कहिले होला ? र कहिले त्यहाँका वासिन्दाले बर्षात लाग्दापनि आनन्दले साउने झरिला रातहरु काट्न पाउलान ? यी प्रश्नहरु अनिश्चितकाल सम्मका लागी अनुत्तरित छन ।

महाकालीको बाढिले  कतिका रात भोकभोकै स्कुलका भवनहरुमा  वित्छन त कतिका सम्पतिसंगै सजाइएका सपनाहरु  लुटिन्छन । यसको स्थायी समाधान तथा न्युनीकरणमा ध्यान दिन सके पक्कैपनि  पिडित जनताले मुलुकमा जनताको सरकार भएको महशुस अवस्यपनि गर्न पाउथे  । यता सरकार भने बाढिपीडित भोका पेट र लुटिएका मनहरुलाई राहत दिए आचारसंहिता भंग हुने भन्दै राहत दिन नपाउने  हुकुम आदेश गर्दछ ।

उक्त आदेशले बाढिका कारण क्षतविक्षत जनतालाई कस्तो महशुस भयो होला भनेर कसैले सोच्नसमेत चाहेनन । त्यसै आदेशमा  सरकारले सुदुरपश्मि क्षेत्रका कयौ बाढिपिडितहरुलाई खाना र नाना  दिनुको सट्टा उल्टै राहत वितरण गरिरहेका पुर्वराजा ज्ञानेन्द्रलाई रोकि सुदुरपश्चिमेली बाढिपिडितहरुको भोको पेटमाथी लात नहानेको होईन । अब उप्रान्त बाढिपिडितहरुले राहत नपाएर रोईरहेका चित्कारपुर्ण दृष्यहरु न कसैले देख्न चाहेको छ न कसैले सुन्न नै ।

हाम्रो देशमा जहाँनिय राणाशासन, निदर्लीय पञ्चायतीव्यवस्थासंगै २४० वर्षसम्म एकछत्र राजगरेको  शाही शासन अन्त्य भई प्रजातन्त्र, बहुदल, लोकतन्त्र र गणतन्त्र आईसक्दापनि  नेपालको पश्चिमी सिमा महाकाली बाहिरका बाढीको वहावले वर्षेनि तर्साउने भुजेला, पिप्रैया, स्याउली बजार, कुटियाकबर लगायत दोधारा–चाँदनीका अन्य कयौ सुन्दर वस्तीहरुका लागी भने जुनसुकै शासन वा तन्त्र आएपनि अस्थायी तटबन्ध बाहेक  उनीहरुको हृदय हँसिलो हुनेगरी स्थायी समाधानको बाटो कसैलेपनि रोजेको देखिएन ।

त्यसो त नेपाल–भारत मन्त्री अर्थात सचिवस्तरमा कुटनैतिक ढंगले यो कुराको उठान गरि दुवै देशको सहकार्यमा स्थायी समाधानको उपाय अपनाउन नसकिने होईन । तर उक्त कुराको उठान, पहलकदमी र निदानको सोच  सरकार र पहुँचवालाहरुको मानसपटलमा कहिले आउने ?

राजधानी नजिक भक्तपुरका किसानहरुको वर्णसंकर विउको प्रयोगबाट धान नफल्दा र पोखराका अर्मलापीडितलाई क्षतिपुर्ती दिलाउन आयोगले सरकारलाई सिफारिस गरेको खबर सबैले सुनेकै हौँ । तर पश्चिम नेपालस्थित सिमापारीका ती वस्तीहरुमा त कहिले अन्न लगाउने बेला पुरै खेत बगाँउछ भने कहिले टिप्ने बेला, उब्जाउ जमिन संगै घरबार बगाउने पिडा त कति हो कति । यस विषयमा कहिकतै आयोग बनि क्षतिपुर्ती र राहतको सिफारिस गरेको यो पंक्तिकारले सुईको समेत पाएको छैन । त्यसैगरि, झण्डै डेढसय घर बगाई  त्यति नै संख्यामा घरहरु जोखिममा पार्दे कत्तिको सडकवास त कत्तिको उठिवास गराउने गरि आएको विनाशकारी दार्चुलाबाढीको बारेमा न कसैले आयोग बनाउन नै सान्दर्भिक ठान्यो न क्षतिपुर्ती दिन नै ।

राष्ट्र सफल कहिल्यै नहुने तर चुनाव भने बारम्बार आईरहने हाम्रो देशमा ती क्षेत्रका जनताले पनि भोट हालेकै हुन । अब भोट हालेरमात्रै हुँदो रहेनछ भनेर सम्पुर्ण जनता जाग्नुपर्ने बेला आईसकेको छ । अब आफ्ना लागी आफैले तदारुक्ताका साथ अघि नसर्ने हो भने बालुवा लिन गएका सिमा क्षेत्रका वासिन्दा महाकालीको बिच वगरमा चिसो रात काट्न विवस भएको खबर आउदो वर्षातमासमेत दोहोरिने निश्चित छ ।

देशमा लामो राजनैतिक संकर्मणको अन्त्य वा नयाँ संविधान निर्माण हुनेवितिकै देशमा रातारात आफै कायापलट हुन्छ भन्ने होईन । स्थीर राजनितीसंगै संविधान निर्माण हुनु भनेको देश विकाश, समृद्धि तथा अग्रगतिको लागी ठोस रुपमा आधार तयार हुनु मात्रै हो, काम त हामी आफैले गर्नुपर्छ । जनताका जनजीविकासंग सम्बन्धित समस्या र पिडाहरुमा राहत तथा विकाशको मल्हम फुलाउने शुसोभित कार्य राजनैतिक  दल तथा स्थानीय निकायको  मात्रै जिम्मेवारी र कर्तव्यको विषय होईन यसमा सबै  सम्वद्ध सरोकारवालाहरुले आ–आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्नुपर्दछ,  तर प्रतिबद्धता जाहेर गर्दै निर्वाचित हुने राजनैतिक दल र स्थानीय निकाय अलि बढि सजग,चनाखो  र  जिम्मेवार हुन सकिएन भने योजनावद्ध स्थानिय विकाशको कल्पनासमेत गर्न सकिदैन ।

तसर्थ, सौन्दर्यको शहरभित्रका अलौकिक पर्यटकिय सम्भावनाहरुलाई प्रचार, प्रवर्धन र संवर्धन गर्दै सबैले आ–आफ्नो तह र क्षेत्रबाट आत्मविश्वास र दृढ संकल्पका साँथ सिमानामा सिंचित सम्भावनाहरुलाई माथि उठाउन सके निश्चय नै स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो सुन्दर पश्चिममा ओइरिनेछ । संगसंगै वर्षेनी बाढीले थिलथिल पार्ने महाकाली सिमापारिका वासिन्दाका पीडा र वेदनालाई  विस्तारै न्युनीकरण र  समाधानको लागी पहल गर्न सके हामी सबैको मन प्रफल्ल हुन्थ्यो कि ?
                                                                                                           
फागुन १०, २०७०को नागरिक दैनिकमा प्रकाशित

No comments:

Post a Comment