Sunday, February 25, 2024

वाह! यस्तो पो हाईकिंङ

लेखक: कृष्ण महरा 
पीपीएलएको आयोजना:

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, काठमाडौँ उपत्यका कमिटीले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ललितपुर गोदावारी देखि फुलचोकी डांडासम्म शनिबार आयोजना गरेको हाईकिंङमा सहभागी हुने मौका मिल्यो  पंतिकार पनि प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनकै भएको हुँदा सकेसम्म आफ्नो संगठनको हरेक जस्तो कार्यक्रमहरुमा भ्याएसम्म पुग्ने गरेको छु  संगठनका धेरैजसो कार्यक्रममा भन्दा गोदावरी-फुलचोकी हाईकिंङले फरक किसिमको अनुभव भएको हुँदा यात्रा संस्मरण नलेखी हाईकिङको यात्रा पुरा नहुने ठानेर यो यात्रा संस्मरण लेख्ने जमर्को गरेको छु


 माननीय प्रमुख अतिथि:

नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सांसद माननीय योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न यस हाईकिङ (पदयात्रा) मा नेकपा एमाले बागमती प्रदेश सचिव हाईकिङ एरियाकै निवर्तमान सांसद नवराज सिलवाल, पार्टीका विभिन्न तहमा रहेका नेताहरुको समेत सहभागिता रहेको थियो

सदाझैं विहानको नित्यकर्म सकेर पुर्व सूचना अनुरुप बिहान ७ बजे नयाँ बानेश्वरबाट गोदावरीतर्फ हानिए करिब साढे सात बजे गोदावरीस्थित नौधारामा रहेको होटेलमा पुग्दा दर्जनौं कानून व्यवसायी साथीहरु आईसक्नु भएको रहेछ

वरिष्ठ अधिवक्ताहरु सबैभन्दा अगाडी:

आफ्नो व्यस्तताका बाबजुद पनि जोश जाँगर र उमंगका साथ वरिष्ठ अधिवक्ताहरु रबिनारायण खनालज्यू, पुर्व महान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एशोसिएशनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ताद्वय टिकाराम भट्टराईज्यू र ईश्वरी भट्टराईज्यू, वरिष्ठ अधिवक्ता गंगा सागर खत्रीज्यू लगायत थुप्रै सिनियरहरुको उपस्थितिले हाईकिङको प्रस्तान विन्दु बडो रोचक भईरहेको थियो

गोदावरीस्थित हाईकिंङको प्रस्तानबिन्दुमा सबैभन्दा पहिले पुगेर वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पुर्व महासचिव रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता सानुराज पोखरेल केही साथीहरु लिएर फुलचोकी डांडोतर्फ अगाडी बढीसक्नु भएको विषयले हामीलाई झन् हौसला मिल्यो

पुर्व महान्यायाधिवक्ताको कमाण्ड:

गोदावरीस्थित प्रस्तान विन्दुमा केही समयको बसाई पछी औपचारिक रुपमा हाईकिङको शुभारम्भ गर्दै करिब सय जना हाराहारी भएको हाम्रो टोली पुर्व महान्यायाधिवक्ता रमेश बडालज्यूको कमाण्डमा सवा नौं बजे हाम्रो टोली फुलचोकीतर्फ लम्कियो

अग्रपंक्तिमा हुनुहुन्थ्यो गोदावरी क्षेत्रकै निवर्तमान सांसद नवराज सिलवाल ज्यू हामी धेरैजसो कानून व्यवसायी हाईकिङ क्षेत्रको लागि नयाँ भएकोले वहाँले हामीलाई निरन्तर गाईड गरिरहनु भएकोले हामीलाई के कति समय लाग्छ, के कति यात्रा गर्न बाँकी छ भन्ने कुरामा धेरै सहज भएको थियो । जंगलै जंगलको बाटोमा रमाईलो गर्दै गीत गाउँदै सुसेल्दै हाम्रो टोली निरन्तर अगाडी बढीरह्यो पछाडीका साथीहरु नछुटुन् र अगाडीका साथीहरु ग्रुपबाट नछुट्टीउन् भनेर इन्चार्ज रमेश बडालज्यूको 'कसैलाई गाह्रो-अफ्ठ्यारो हुनसक्छ, त्यहि भएर २५ मिनेट हिडेपछी अगाडिको टोलीले बस्ने र सबै साथीहरु पुगिसकेपछि संगै जाने भन्ने निर्देशन थियो

अग्रपंक्तिमा शान्तिराम सर:

अगाडीको नेतृत्व उच्च अदालत बार एशोसिएशनका अध्यक्ष शान्तिराम खतिवडा र गोदावरी-फुलचोकी हाईकिङका संयोजक एवं प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनका उपमहासचिव शिव अर्यालले गर्नुभएको थियो साच्चै भन्ने हो शान्तिराम सर त्यति छिटो हिद्नुहोला भन्ने मलाई नै लागेको थिएन हाईकिङका दौरान मैले वहाँलाई पछ्याउन निकै नै संघर्ष गर्नुपरेको थियो २५ मिनेट जति हिडेपछी सबैलाई सुसेल्दै बस्न संकेत गर्दै १० मिनेट जतिको आरामपश्चात हाम्रो टोली अगाडी बढिरह्यो बीच-बीचमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनका अध्यक्ष भोजराज आचार्यज्यूले साथीहरु आई पुगे नपुगेको, छुटेको बारे  निरन्तर सोध खोज गरिराख्नु भएको थियो  

 जब भेटियो हिउँ: खेलियो रमाईयो, फोटो/भिडियो खिचियो

करिब आधा भन्दा अलि बढी बाटो कातिसकेपछी भेटियो सेताम्य हिउ काठमाडौँमा खासै हिउ खेल्न नपाएका हामीहरुलाई हिउकै थुप्रोमा पुगेपछि अरु के चाहियो हिउ खेल्दै फोटो खिच्दै रमाईलो गरियो साथीहरु कोही सिंगल-सिंगल खिच्ने, कोही ग्रुपमा रमाउने, अझ म छुटे भन्दै तलैबाट आवाज दिएर स्वाँ-स्वाँ गर्दै दगुर्ने साथीहरु पनि कहाँ कम्ति थिए र ? हिउँ खेल्न र हिउँमा फोटो भिडियो खिच्न पाएकोमा सबै दंग देखिनुहुन्थ्यो 'हैट, धान्ने हाईकिङ छुटेको, बिहानसम्म आउने तयारी थिएन, नआको भए धेरै कुरा छुट्ने र पछी पछुतो लाग्ने रहेछ', एकजना दाईले सुनाई रहनु भएको थियो

सातुसामल खाईयो अनि हिडियो:

'हाईकिङमा स्टामिना चाहिन्छ' भन्दै साथीहरुले झोलामा पोको पारी ल्याउनु भएको खान्की सबैलाई बाडीरहेनु भएको थियो जति ठाउँमा बस्यो, कोही न कोही साथीहरुले केही न केही निकालिसकेका हुन्थे, साथमा पानीको घुट्की नलाई त उकालो चढ्न सकिने कुरै भएन   

पानीको घुट्की र साथमा बोकेको सातु सामलको बलमा सुस्तरी हाम्रो टोली अघि बढीरह्यो हिड्दै, आराम गर्दै, रमाईलो गर्दै फुलचोकी डांडातिर उक्लिएको हाम्रो टोली झन्डै ४ घन्टामा फुलचोकी डांडामा पुग्यो बिहान सुरुमै गोदावरीबाट 'हामी अगाडी जान्छौं है, आउदै गर्नु' भनेर हिद्नुभएको वरिष्ठ अधिवक्ताद्वय रमण श्रेष्ठ र सानुराज पोखरेल सरको टोली फुलचोकी पुगीवरी चिया पिउदै हुनुहुदो रहेछ हामी पुगेपछि फुलचोकी डांडामा रहेको मन्दिर दर्शन गरी फोटो सेसन पश्चात तल होटेलमा आई चिया पियौं

वरिष्ठ अधिवक्ताज्यूको काभ्रेको कोशेली:

साथीहरुले साथमा लागेको सातुसामल पालैपालो निकाल्दै खाईवरी सकिने बेला मन्दिर दर्शन गरेर हस्यांङ-फस्याङ गर्दै 'ल आउनुस् काभ्रेको कोशेली खाउँ' भन्दै वरिष्ठ अधिवक्ता गंगा सागर खत्रीज्यूले हाम्रो टोलीको अगाडी एउटा ठुलो पोको राख्नुभयो पोको भित्र मकै, गहुँ, थरी-थरीको भटमास भुटेर मिठो बनाएर ल्याउनु भएको रहेछ हाईकिङमा साथीहरुले बोकेको मध्ये सबैभन्दा अर्गानिक, मौलिक, राम्रो, मिठो र पोषिलो खानेकुरा लाग्यो मलाई चाहिं

झन्डै झोला हराएन !

फुलचोकी डांडामा पुगेपछि सबैले मन्दिर दर्शन गर्ने क्रममा मैले पनि जुत्ता र झोला बाहिर राखेर भित्र दर्शन गर्न गए दर्शन गरेर फर्किदा जुत्ता मात्रै लगाएछु, झोला त्यतै छोडेर तल आएछु धन्न मन्दीर तल चिया खाने ठाउँमा पुग्नै लाग्दा एकजना साथीले झोला भिरेको देखेपछी बल्ल याद आयो, मैले पनि झोला बोकेको थिए भन्ने कुरा

 लगातार चार घन्टाको उकालो हिडाईको थकाईले लखतरान भएकोले  झोला कहाँ छोडे भन्ने कुरा झट्ट सम्झिन सकिन एकैछिनमा याद आयो दर्शन गर्नेबेला झोला बाहिर राखेको र लिन गए दर्जनौं मान्छेको भिडमा राखेकै ठाउँमा जस्ताको त्यस्तै सकुशल भेटियो झोला

झोला छुटेको भए अरु त केही थिएन बिहान लगाएर गएको ज्याकेट, बाटोमा खान भनेर लगिएका स्याउ, पानी र अन्य केही अत्यावश्यक सामान थिए झोलामा झोला मन्दिरमै बिर्सेको भए न ज्याकेट लगाउन पाईन्थ्यो न खानेकुरा खान नै तर त्यस्तो भएन, धेरै तल नझर्दै झोला बिर्सेको थाहा पाएर लिईहाले  

अनि तल झर्यो टोली:

सातुसामल खाई, फोटोसेसन गरी रमाईलो गरिसकेपछि हाम्रो टोलीले फर्किन सुरु गर्यो फर्किने बेलामा चाहिं कोही छोटो बाटोबाट आउने र कोही पिच रोडको बाटो आउँन चाहनु भएकोले आ-आफ्नै इच्छाले संग संगै तल झर्यौं हाम्रो साथमा पुर्व महान्यायाधिवक्ता रमेश बडालज्यू, पीपीएलका अध्यक्ष भोजराज आचार्यज्यू, उच्च बारका अध्यक्ष शान्तिराम खतिवडाज्यू लगायत १०, १२ जना थियौं  पिच बाटैबाटो जाउँ भन्ने सल्लाह भएको हुँदा केही समय हामी पिच बाटो नछोडी आयौं  

 

हराएको चश्मा पाउदा बहिनी भईन दंग !

तल आउदै गर्दा एकजना बहिनीको आफ्नो चश्मा हराएर हैरान हुनुभएको रहेछ फुलचोकी पुगेर मन्दिर दर्शन सकेर गोदावरी झरिसक्दा फेरी चश्मा खोज्न भन्दै माथी जानुभएको रहेछ र हाम्रो टिमका साथीहरुलाई 'मेरो कालो चश्मा भेटाउनु भयो' भन्दै सोध्दै आउनु भएको रहेछ   चश्मा खोज्न माथी चढेर फर्किंदै गर्दा हाम्रो पीपीएलएका अध्यक्ष भोजराज आचार्यज्यूसंग हाम्रो अन्य साथीहरुको भेट भयो र वहाँले कुनै केटी मान्छेले लगाउने चश्मा भेट्टाएको खबर साथीहरुलाई जानकारी गराउनु भयो  

 

नभन्दै एकैछिनमा चश्मा खोज्न माथी गएकी बहिनी साथीसंग बाईकमा आईपुगिन बहिनीलाई चश्मा हराएको हो भनेर भोजराज सरले सोध्दा 'हो हो' भन्दै बहिनी जोरले चिच्याईंन सायद बहिनीको  हिउमा चश्मा लगाएर फोटो खिच्ने रहर चश्मा हराएसंगै चकनाचुर भएको हुनुपर्छ   हाम्रो टिमका साथीहरुले कस्तो थियो चश्मा, आकार, कलर सबै सोधेर अझ त्यो चश्मा लगाएको फोटो देखाउनु भनी क्रस चेक गरेपश्चात सुनिश्चित भई चश्मा भेट्टाउनु हुने हाम्रो संगठनका अध्यक्ष भोजराज सरले स-सम्मान हस्तान्तरण गर्नु भयो   चश्मा भेट्टिएपछी त्यो बहिनीको अनुहारमा आएको खुसी बयान गरिनसक्नु थियो     

लालीगुराँसको फुल माग्नेहरुको लहर :

पीपीएलएका अध्यक्ष भोजराज सर, म लगायत केही साथीहरु संग लालीगुराँसको फुल थियो फुरासको फूललाई हामीले स-सम्मान बोकेर अझ भोजराज सरले त छातीमै टासेर तल आईरहनु भएको थियो रातो अनि रहरलाग्दा गुराँसका फुल हात-हातमा देखिपछी 'लालीगुराँसको फुल दिनुस् न' भन्दै गुराँसको फुल माग्ने माथी चढ्दै गरेका युवा युवतीहरुले तातीं नै थियो हामीले बोकेका गुराँसका फुलहरु भने कसैलाई दिन सकेनौं, कारण एउटा त हामीले बडो जतनसाथ रहर लागेर बोकिरहेका थियौं भने अर्कोतिर फुल माग्ने धेरै र फुल थोरै थिए  

जब मोटरबाटो छोडेर छोटो बाटो रोजियो :

करिब आधी-पौने घण्टा पिच बाटो हिडेपछि साथी हुम खनालले यसरी पिच बाटो हिड्दा त दिनभरी लाग्छ, अघि आको छोटो बाटो जाउँ भन्दा छोटो बाटो समात्यौं । साथी हुम खनालको अगुवाईमा त्यसरी छोटो बाटो समात्नेमा पीपीएलएका अध्यक्ष भोजराज सर, नेपाल बारका पुर्व केन्द्रीय सदस्य भुवन निरौला, म र एकजना अर्को साथी थियौं    

 दुई-तिन घुम्तीमा त हामीले सहजै छोटो बाटोको सदुपयोग गर्यौं त्यसपछी भने मेन सडकमा जोडिने बाटो भर्खरै कटिंग गरी बिस्तार गरेकोले मुख्य सडकमा जोडिन बडो मुस्किल भयो अध्यक्षज्यू, हुम खनाल जी त जसोतसो मुख्य सडकमा ओर्लिनु भयो तर भुवन सर म र अर्को साथीलाई भने बडो सकस नै पर्यो चिप्लो र पतकरहरुले भरिएको साघुरो बाटोमा कति पटक लडियो, कतिपटक उठियो हिसाब छैन लड्दै, उठ्दै अनि हिड्दै बल्ल मुख्य सडकमा जोडीयौं

 

झन्डै अर्को गाउँमा पुगिएन:

लामो मोटर बाटो हिड्न छोडेर सर्ट-कट बाटो हिड्दै आएका हामीहरु फेरी पनि सर्ट-कट बाटोकै खोजीमा थियौं   त्यति नै खेर एक जना भाई र बहिनी भेटीए त्यो जोडीले 'हामी अघि आको बाटो यहि हो, सिधै मोटरबाटोमा जोडिन्छ' भनेपछि हामी पनि तिनीहरुकै पछी पछी लाग्यौं

छोटो बाटोबाट छिट्टै र अरुभन्दा अगाडी तल गोदावरी पुग्ने हाम्रो सपना त्यतिबेला चकनाचुर भयो जतिबेला हामी छोटो बाटो भनेर हिडेको बाटोले अर्कै गाउँतिर जाने रोडमा पुर्याएर छोड्यो, हामीले पुग्नुपर्ने मोटर बाटोको अत्तोपत्तो नै भएन । अब कता जाने बडो दोधार भयो

त्यति नै खेर साथी हुम खनालले एउटा अईडीया निकाले दायाँ होइन बायाँ मोडिने दायाँतिरको निर्माणाधीन सडक पछ्याउदै जादा हामी गन्तव्यमा पुग्न नसक्ने र बायाँतिरको जंगलै-जंगल साघुरो झाडी मिश्रित बाटो बाट गए गन्तव्यमा पुग्न सकिने निष्कर्षसहित झन्डै आधा किलोमिटर उकालो चढ्यौ र हाम्रो गन्तव्यको मुख्य मोटरबाटोमा पुग्यौं मुख्य सडकको किनारामा एकछिन थकाई मारेपछि हामी अझ छोटो-छोटो बाटो खोज्दै मोटरबाटो छोडी पैदल मार्गतिर हिड्यौं  

केही तल आएपछि हुम जी र भुवन सर थकाई लागेको र हिड्न नसकिने भन्दै बाईक वाला साथीहरु संग लिफ्ट मागी अगाडी आउनुभयो म हाम्रो अध्यक्ष ज्यू भन्दा अलि अगाडी नै भएकोले केही समय एक्लै हिडे र अलि तल पुगेपछि कुमारी खरेल, गणेश ओली, भद्रा राउत लगायतका साथीहरु थकाई मारेर बसिरहनु भएको रहेछ

 त्यसपछि फेरी सुरु भयो हाम्रो रमाईलो फोटो खिच्ने, रमाउने, भिडियो बनाउने काम फेरी सुरु भयो त्यसपछि हाम्रो अन्तिम मिलन बिन्दु गोदावरीको नौ धारामा आईपुग्यौं हामी आईपुगेको केही समय पछी हाम्रो इन्चार्ज रमेश बडाल सर, अध्यक्ष भोजराज सर लगायत सबै आईसकेपछी खाना खाईवरी सबैले आ-आफ्नो स्वेच्छाले केही रकम जम्मा गरिदिएर आ-आफ्नो गन्तव्यतिर लाग्यौं  

हाईकिङले सिकाएको पाठ !

एक्लाएक्लै धेरै हिडे डुलेपनि ग्रुपमा हिड्नुको आनन्दै बेग्लै हुन्छ समय मिलाएर हाईकिङ जान सके रमाईलो पनि हुने र साथीहरुको भेटघाट पनि हुने हुनाले यसले सम्बन्धलाई अझ प्रगाढ बनाउछ

हाईकिङ जाँदा बिर्सिन नहुने !

जहिल्यै पनि हाईकिङ जाँदा खानेकुरा, पानी, लौरो लैजान भने बिर्सिन नहुने कुरा हुन् हामी डांडाकाँडा हिडेको मान्छे के लौरो चाहिएला भनेर लौरो नबोकी गएको मलाई समेत हिड्ने जाँदा लौरो नबोकेकोमा पछुतो लागेको थियो साना केटाकेटी बोकेर हाईकिङ जाने सपना नदेख्ने राम्रो किनकि लगातार ३, ४ घण्टा साना केटाकेटीहरुलाई हिड्न गाह्रो हुन्छ आफ्नो जिउमा लगाएको लुगा भारी महशुस हुने बेला साना केटाकेटी डोर्याएर वा बोकेर लानुपर्दा हाईकिङको आनन्दै हराउँछ

सबैलाई धन्यवाद:

अन्तमा, यसरी सधैं काममा व्यस्त मात्रै भईरहने हामीहरुलाई हाईकिङको आयोजना गरेर रमाउने अवसर जुटाउने पीपीएल, काठमाडौँ उपत्यका कमिटी र हाईकिङ आयोजनामा खट्ने सम्पूर्ण पीपीएलएका साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु शनिबारका लागि थाति राखिएका थुप्रै कामलाई पन्छ्याउदै हाईकिङ कार्यक्रममा उपस्थिति नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई, हाईकिङ क्षेत्रको लोकेशन देखाउदै हामीलाई गन्तव्यसम्म डोर्याउनु हुने नेकपा एमाले बागमती प्रदेश सचिव एवं निवर्तमान माननीय नवराज सिलवाल संगै आफ्नो व्यस्त समयलाई थाति राख्दै हामीहरुको हाईकिङ कार्यक्रममा सहभागिता जनाई हौसला बढाउनु हुने वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, सानुराज पोखरेल, टिकाराम भट्टराई, ईश्वरी भट्टराई लगायत सम्पूर्णलाई धन्यवाद




        

Wednesday, March 9, 2022

कानून व्यवसायीको १५ औं सम्मेलन र नेपाल बारको भावी कार्यदिशा

कानूनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक मर्यादित बार हाम्रो प्रतिवद्दता भन्ने मुल नाराका साथ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा उद्घाटित १५ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन भर्खरै समापन भएको छ । कोरोना महामारीले पटक पटक सर्दै आएको बार सम्मेलन यस पटक भने छोटो समयको तयारीमा सम्पन्न भएको छ । 

एकातिर साढे तीन महिनादेखि न्यायालयको शुद्धिकरण र प्रधानन्यायाधीसको राजिनामाको मागसहित गर्दै आएको आन्दोलन र अर्कोतिर बारको केन्द्रीय कार्यसमितिको निर्वाचनको मुखैमा आयोजित यो सम्मेलनको विशेष अर्थ रहेको छ । 

देशभरबाट हजारौंको संख्यामा कानून व्यवसायीहरुको उपस्थितिमाझ राष्ट्रिय सम्मेलन केही अपवादबाहेक भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । 

नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यालयबाट प्रभातफेरीसंगै सुरु भएको सम्मेलनमा नेपाल बार एशोसिएशनका पुर्व अध्यक्ष, वरिष्ठ अधिवक्ता गुरुदेव कृष्णप्रसाद भण्डारीलाई नेपाल प्रज्ञा प्रतिष्ठानदेखि नेपाल बार एशोसिएशनसम्मको कलात्मक रथयात्रा सम्मेलनको मुख्य आकर्षण रह्यो । सम्मेलन ताका विभिन्न समितिहरु निमार्ण गरी सो समितिमा देशभरबाट आएका कानून व्यवसायीहरुले आ–आफ्नो विचार र कार्यपत्र प्रस्तुतीले सम्मेलन विचार, वहस र बौद्धिक छलफलको केन्द्र बनेको थियो । विभिन्न विषयका समितिहरुले आ–आफ्नो समितिको छलफल, वहस पश्चातको प्रतिवेदन सम्मेलनमा प्रस्तुत गरेका थिए । 

सम्मेलनमा विविध किसिमका विचारहरु आएका छन् । आगामी चैत्र १९ देखि हुने निर्वाचनका विषयमा सम्मेलनमा गहन विचारहरु आएका छन् । नेपाल बारले हाल गर्दै आएको आन्दोलनलाई साथ दिने व्यक्ति नै अबको निर्वाचनमा नेतृत्वमा आउनुपर्ने एउटा पक्षको विचार छ भने अर्कोले सबै कानून व्यवसायीहरुको साझा संस्था भएर बारले आन्दोलनलाई साथ दिने व्यक्तिमात्रै निर्वाचनमा उम्मेद्दवार हुनसक्ने भन्न नमिल्ने विचार राखेका छन् । नेपाल बारलाई दलिय दबाब, प्रभाव र छायाबाट अलग गर्नुपर्ने र स्वतन्त्र व्यक्तिहरु नेपाल बारको नेतृत्वमा आउनुपर्ने आवाज पनि उत्तिकै उठेको छ । प्रदेश संरचना खारेजीदेखि संविधान संसोधनसम्मका विषयहरु पनि उत्तिकै वहसका विषयहरु बने । 

निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरालाई आन्दोलनकै प्रभावमा महाअभियोग लगाउन सक्नु हामीहरुको ऐतिहासिक जीत भएको भन्नेहरु एकथरी थिए भने कानून व्यवसायी भएर पनि सडकबाट प्रधानन्यायाधीसको राजीनामा मागी नेपाल बार र आन्दोलनकारी कानून व्यवसायीहरुले विधिको शासनको खिल्ली उडाएको भन्नेहरु पनि उत्तिकै भेटिन्थे । 

देशभरका कानून व्यवसायीहरुलाई राष्ट्रप्रमुखबाट सम्बोधन, कानून व्यवसायीहरुका गुरुदेव वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई गरिएको कानून वाङमय शताब्दी पुरुषले पुरुष्कृत, सुशोभित एवं रथयात्रा सहित सम्मान गरिनुले नेपाल बार एशोसिएशनको गरिमा निकै बढेको छ । यसले नेपाल बार एशोसिएशन आफ्ना अग्रजहरुको सम्मान गर्न जान्दछ भन्ने सन्देश दिएको छ जुन कानून व्यवसायीहरुको आउँदो पुस्ताका लागि संग्रहणीय अभिलेख रहनेछ । 

देश कोभिड महामारीले आक्रान्त बनेपश्चात पटक–पटक सर्दै आएको सम्मेलन सरकारले स्मार्ट लकडाउन खुलाएको चौध दिनमा नै आयोजना गर्न सक्नुलाई नेपाल बारको सक्षमता नै मान्नुपर्दछ । 

तुलनान्मक रुपमा सानो हलका बाबजुत पनि विभिन्न समितिहरु बनाई आफुलाई रुची लागेको विषयमा छलफलमा सहभागी हुन सक्ने सम्मेलनको व्यवस्थालाई सकारात्मक रुपमा लिन सकिन्छ । अझ केन्द्रीय कार्य समितिको निर्वाचन अगाडी नै राष्ट्रिय सम्मेलन सम्पन्न गरेर ‘सम्मेलन गर्न नसक्ने बार’को ट्याग लाग्नबाट नेपाल बार बचेको छ । 

प्रदेश अनुसार कानून व्यवसायीहरुका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गर्न सकेको भए पैसा तिर्न, पुस्तक–ब्याग बुझ्न, कुपन लिन वा अन्य प्रयोजनका लागि लामो लाईन पर्खिनुपर्ने अवस्था आउने थिएन ।  छलफलमा सबैलाई सहभागी गराउन नसक्नु, समय अभाव देखाउँदै समितिहरुले पेश गरेको प्रतिवेदनमाथि सम्मेलनमा आएका प्रतिनिधीहरुलाई विचार वा प्रतिक्रिया राख्ने मौका नमिल्नु, सम्मेलनको दैखिक कार्यतालिका सार्वजनिक गर्न नसक्नु सम्मलेनका सुधार गर्नुृपर्ने पक्षहरु थिए । 

२४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको छ । समग्र सम्मेलनलाई एकजना युवा कानून व्यवसायीको नजरले हेर्दै गर्दा सम्मेलनमा युवाहरुलाई आफ्नो विचार राख्ने मौका पाईएपनि सम्मेलनपश्चात घोषणापत्रमा भने युवा कानून व्यवसायीहरुको पेशागत सुरक्षा र वृद्धि विकासका लागि खास केही समेट्न सकिएको देखिएन । 

लगातार दुई वर्षभन्दा बढी समय देखिको कोरोना महामारीले स्थापित कानून व्यवसायीहरुलाई समेत समस्या भईरहेको बेला नवप्रवेशी र भर्खर स्थापित हुँदै गरेका कानून व्यवसायीहरुका लागि सम्मेलनपश्चात जारी घोषणापत्रले पेशामा टिक्नका लागि प्रभावकारी घोषणा नहुनु आम नवप्रवेशी  कानून व्यवसायीहरुका लागि दुःखको विषय हो । आम युवा कानून व्यवसायी जो यही पेशामा आफ्नो भविष्य देख्छन्, उनीहरुका लागि २०७८ सालको घोषणापत्र भन्दा ‘पेशाामा नयाँ प्रवेश गर्नेहरुका लागि केही अवधीको प्रशिक्षण संगठनबाट दिईने व्यवस्था हुनुपर्ने’ भनी घोषणा पत्रमै उल्लेख गर्ने २०३४ सालको घोषणापत्र प्रगतिशील र युवामुखी थियो भन्दा अत्युक्ति हुँदैन । 

हुन त घोषणापत्रमा लेखिएका कुराहरु बाध्यकारी हुँदैनन् तथापी यी कुराहरु नेपाल बार एशोसिएशना लागि मार्गदर्शन भने अवश्य हुन् । धेरै परका सम्मेलनका घोषणापत्रहरु हेर्ने पर्दैन । नेपाल बारको १४ औं राष्ट्रिय सम्मेलनबाट जारी नेपालगञ्ज घोषाणापत्र मात्रै हेरे पुग्छ । नेपालगञ्ज घोषणापत्रले नेपाल बार एशोसिएशनमा ‘एउटा अध्ययन अनुसन्धान विभाग गठन गरी न्याय सम्पादन र न्याय प्रशासन लगायतका विषयमा नियमित रुपमा अनुसन्धान गरी सो को प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था मिलाउन नेबाए केन्द्रीय कार्य समितिको ध्यानाकर्षण गराउने’ घोषणा गरेको थियो । उक्त घोषणापत्रका उल्लेखित विषयहरु बारले अनुसरण गर्दै गृहकार्य गरिरहेको छ भन्ने मैले ठानेको छु ।  

अझ गम्भीर विषय त ‘स्वतन्त्र न्यायपालिका लोकतन्त्र र कानूनी शासनको धरोहर हो भन्ने नेबाएको मान्यता रहेकोले न्यायपालिकामा आँच आउने गरी हुने सबैखाले अनुचित दबाद र प्रभाव नेबाएलाई स्वीकार्य छैन, न्यायपालिकाको स्वतन्त्रतामा हस्तक्षेप हुने कुनैपनि गतिविधी नगर्न यो सम्मेलन सबैलाई सचेत गर्दछ’ भन्ने नेपालगञ्ज घोषणापत्र विपरीत मुलुकको प्रधानन्यायाधीसलाई राजिनामा दिन आन्दोलन गर्ने नागरिक समाज र राजीनामा दिन सुझाउने पुर्व न्यायाधीस समाजलाई १५ औं सम्मेलनले धन्यवाद दिनुले बार आफै स्वतन्त्र न्यायपालिकाको पहरेदार बन्नबाट चुकेको कतिपयको बुझाई छ । 

२०७४ भन्दा अगाडी बार सम्मेलनहरुबाट पारित घोषणा पत्रहरुलाई अध्ययन गरी सो को कार्यान्वयनको पहल गर्न, लयर्स एकेडेमी स्थापना गरी कानून व्यवसायीको विषयगत विशेषज्ञता अभिवृद्धि गर्न अबिलम्ब भूमिका निर्वाह गर्न १४ औं नेपालगञ्ज सम्मेलनको म्यान्डेटलाई नेबाएले आत्मसाथ गरेको छ भन्ने हामीले बुझेका छौं । 

न्यायालयमा भष्ट्राचार छ भन्ने कुरा आज उठेको विषय होइन, नेबाएको दास्रो राष्ट्रिय सम्मेलन २०३७ सालमै उठेको हो । 'न्यायको आदर्शलाई भ्रष्ट्राचार, पक्षपात तथा मुजाहिला आदि अनैतिक कार्यले ठुलो असर प¥याएको यो सम्मेलन महसुश गर्दछ । यसमा कार्यचाहिँ न्यायाधीसबाट वा कानून व्यवसायीबाट वा दुवैको सहयोगबाट वा अन्य व्यक्तिहरुबाट भएको होस् यस किसिमको कार्यलाई अबिलम्ब रोक्न ठोस कदम उठाउन सर्वोच्च अदालतका प्रधान न्यायाधीसज्यूलाई अनुरोध गरि पठाउने' नेबाएको दास्रो राष्ट्रिय सम्मेलनको घोषणापत्रको २३ औं बुँदामा आजपनि अंकित छ । नेबाएको राष्ट्रिय सम्मेलनका घोषणापत्रहरु बन्धनकारी नभएपनि हामी कानून व्यवसायीहरुले व्यवहारमा के कति अनुसरण ग¥यौँं त्यसको खासै समिक्षा भएको पाईएन । सम्मेलनका सबै घोषणापत्रहरु हाम्रा मार्गदर्शक हुन्, यी घोषणाहरुलाई क्रमशः अनुसरण गर्दै जाने परिपाटी बसाल्नुपर्छ ।  

एकजना जनप्रतिनिधीले बैतडीका कानून व्यवसायीलाई जाहेरी लेखिदिएकै आधारमा जनप्रतिनिधीले कुटपीट गरेको खबर होस् वा मुद्दामा वहस गरेकै आधारमा अदालत परिसर वा बाहिर कानून व्यवसायीहरुमाथी हातपात गर्नेसम्मका घटनाहरु किन नहोन्, कानून व्यवसायीहरुको संरक्षक संस्थाले उनीहरुलाई दरिलो साथ दिन नसकेको र उनीहरुको आवाज बन्न नसकेको यथार्थ हाम्रासामु छर्लंग छ । 

अखिल नेपाल राष्ट्रिय कानून व्यवसायी सम्मेलन २०३४ मा वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवालीको पहिलो समितिको प्रतिवेदनको वुँदा नं. ५ मा ‘कानून व्यवसायीले आफ्नो पेशागत कार्य गर्दा अवरोध उत्पन्न भएमा वा निजमाथी कुनै निकायले अनुचित दबाब गरिएको अवस्थामा निजको हक सुरक्षार्थ संगठनबाट सामुहिक कदम चाल्ने’ भनी ४४ वर्ष अगाडी गरेको घोषणाले नेपाल बार कानून व्यवसायीहरुको सुरक्षा र संरक्षणमा सधैं अग्रपंक्तिमा थियो भन्ने पुष्टि गर्दछ । 

अदालतहरुमा नियुक्त हुने सबै तहका न्यायाधीसहरु, न्याय परिषदका सदस्यहरु एवं निजहरुका परिवारका एकाघरका सदस्यहरुको दाखिला एवं सार्वजनिक गर्नुपर्ने र सम्पत्ति विवरण पेश गर्दा कुनै सम्पत्ति लुकाएको पाइएमा फौजदारी दायित्व सिर्जना हुने कानूनी व्यवस्था गर्नुपर्ने व्यवस्था संगसंगै कानून व्यवसायीहरुले पनि उल्लेखित दायित्व सिर्जना हुनेगरी कानून व्यवसायी प्रमाण पत्र अद्यावधिक गर्दा आफ्नो सम्पत्ति विवरण कानून ब्यवसायी परिषदमा पेश गर्नुपर्ने परिषदले त्यस्तो विवरण सार्वजनिक रुपमा प्रकाशन गर्न आह्वान गर्ने घोषणा गरिएको छ । 

सम्मेलनले नै पारित गरिसकेपछि  सम्पत्ति विवरण सार्वजनिक अब कानून व्यवसायीहरुबाट सुरु हुनुपर्छ । सम्पत्ति सार्वजनिक गर्नुपर्ने घोषणा कानून व्यवसायीहरुले आफैबाट कार्यान्वयन गर्न सके न्यायाधीसहरुलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नैतिक दबाब मात्रै सिर्जना हुदैन, संसद पनि न्यायाधीसको सम्पत्ति गोप्य रहने कानून संसोधन गर्न बाध्य हुन्छ । 

अन्तमा, हालसम्म १४ वटा राष्ट्रिय सम्मेलन सफलतापुर्वक सम्पन्न गरिसकेको नेपाल बार एशोसिएशनलाई अनेक बाधा, व्यवधान र आशंका बीच पनि १५ औं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सफल भएको छ । सम्मेलन केबल घोषणापत्रमा सीमित नहोउन, हालसम्मका घोषणापत्रहरु के कतिको अनुशरण गरिएका छन्, समिक्षा होस्, घोषणा एकातिर र व्यवहार अर्कैतिर नहोस् । हालसम्मका सबै र १५ औं राष्ट्रिय सम्मेलनको घोषणापत्र पनि नेपाल बार लगायत सबै कानून व्यवसायीहरुको मार्गदर्शन बनोस् । 

  लेखक अधिवक्ता हुन् ।