Friday, July 31, 2015

बजेटबिनै कसरी कल्पना गरियो सुन्दर सुदूरपश्चिमको ?

कृष्ण महरा 
लमजुङमा शिक्षकदेखि न्युयोर्कस्थित सयुक्त राष्ट्रसंघको जागिर तिलाञ्जली दिएका वर्तमान अर्थमन्त्री डा. रामशरण महत मन्त्री बाहेक कहलिएका अर्थशास्त्री समेत हुन्। असार २९ गते व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७२/७३ का लागि ८ खर्ब १९ अर्बको बजेट पेश गर्दा बजेट वक्तव्यको ७६ औ‌ बुँदामा सुदूरपश्चिमलाई सुन्दर क्षेत्रको रुपमा विकास गरिनेछभनिएको छ

बजेट र कार्यक्रम जति काठमाडौ र पूर्वी तराइमा समेटेर गरीबी, आर्थिक विकास र मानव विकास सुचकाङ्कको हिसाबले अत्यन्तै पछाडि रहेको सुदूरपश्चिमलाई सुन्दर क्षेत्रको रुपमा विकास गर्नेकुरा झट्ट सुन्दा जति खुसी  भइन्छ बुझ्दै जाँदा त्यतिकै दुःखी हुनुपर्ने अवस्था छ। दुःखलाग्दो कुरा, आर्थिक वर्ष २०७१/७२ मा सुदूरपश्चिमबाट बजेटको ठूलो परिमाण फ्रिज भएको छ । बजेट फ्रिज हुँदाको पीडा र त्यसको नालीबेली अर्को आलेखमा गर्नेछु यो आलेख बजेटमा सुदूरपश्चिमलाई कसरी पाखा पारिन्छ भन्ने विषयमा मात्रै केन्द्रित हुनेछ । 
नेपालको मानचित्रमा सुदूरपश्चिम:
केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको नेपाल जीवनस्तर सर्वेक्षणतेस्रो २०६६÷६७ मा आधारित प्रतिवेदनले सुदूरपश्चिममा ४६ प्रतिशत गरिबी रहेको डरलाग्दो तथ्यांक बाहिर ल्याएको थियो। सन् २०१४ को मानव विकास सुचकाङ्क अनुसार नेपाल दक्षिण एशियामा छैठौं र विश्वमा १४५ औं स्थानमा छ। नेपालको सन्दर्भमा सुदूरपश्चिम मानव विकास सुचकाङ्क (०.४३५) को पुछारमा रहेको छ
 
विश्व वैंकको सहयोगमा नेपाल सरकारले सन् २०१३ मा गरको एक अर्को अनुसन्धान अनुसार नेपालका सबैभन्दा बढी गरिबीको चपेटामा परेका पाँच जिल्ला (बाजुरा, कालिकोट, बझाङ, हुम्ला र दार्चुला) मध्ये तीन जिल्ला (बाजुरा,बझाङ र दार्चुला) सुदुरपश्चिमकै रहेका छन् जहाँ ५३ प्रतिशत भन्दा बढी (अझ बाजुराको हकमा ६४.१) मानिसहरुको दैनिक आम्दानी १.२५ डलर पनि छैन मानवीय, आर्थिक, सामाजिक, शैक्षिक तथा राजनैतिक चेतना विकासका लागी यो आँकाडा एकदमै डरलाग्दो र दयनीय हो। अर्को कुरा, हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी ५ वर्ष भित्र नेपाल दक्षिण एशियाको सबैभन्दा पहिलो गरिब मुलुक बन्ने प्रक्षेपण गरिएको छ। कल्पना गर्नुहोस् त्यतिबेला सुदूरपश्चिमको हालत के होला ?
 
यी त केहि नमुना मात्रै हुन्। स्वास्थ्य, शिक्षा, यातायात, विद्युत लगायत यहाँका अनगिन्ती समस्याहरु कति छन् कति। वर्षौदेखि यहाँका जनता समस्या र पीडासंग पौठीजोरी गरिरहँदा बजेटमै यसरी सुदूरपश्चिमलाई पाखा लगाइन्छ भने सरकारको ध्यान कसरी र कुन माध्यमबाट जाला ?
आर्थिक वर्ष २०७२/७३ को बजेटमा सुदूरपश्चिम:
यस वर्षको वजेट सरसर्ती रुममा हेर्दा तराई मधेशका लागिमात्रै ११ अर्ब ३२ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ। जसमा भिट्टामोडजनकपुर सडक स्तरोन्नतिको लागि २५ करोड, मिथिला क्षेत्र सडक सुधारका लागि ३१ करोड, वर्दिबाससिमरा खण्डको रेल्वे ट्रयाक निर्माण र जग्गा खरिदका लागी १ अर्ब ८६ करोड, सिक्टा, रानी जमरा कुलरिया र बबई सिंचाई आयोजनाका लागि ३ अर्ब ७६ करोड रहेको छ

त्यस्तै सिञ्चाई आयोजना पुनस्थापनाको लागि ५२ करोड, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमलाई १ अर्ब ९६ करोड, तराईमधेश द्रुतमार्ग निर्माणका लागि १ अर्ब, गौतम बुद्ध विमानस्थलको निर्माण सम्पन्नका लागि २ अर्ब ५० करोड, गरिबीको गहनता तुलनात्मक रुपमा बढी रहेका बारा, पर्सा रौतहट, सिराह, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा जिल्लाका सिमावर्ती गाविस र नगरपालिकामा आयआर्जन र सचेतना अभिवृद्धिका लागी १६ करोड छुट्याइएको छ । 

अब लागौ सुदुरपश्चिम तिर। टनकपुर लिङ्क सडक, पाटनपञ्चेश्वर सडक र दार्चुलातिङ्कर सडक गरी तीनवटा अत्यन्तै महत्वपूर्ण सडक निर्माणको लागि जम्मा २९ करोड र महाकाली तेस्रो सिंचाई आयोजनाका लागि ७५ करोड रुपैयाँ गरी पुरै सुदुरपश्चिमभरी १ अर्ब ४ करोड रुपैयाँ छुट्याइएको छ। नेपाली कांग्रेस नेतृृत्वको सरकारले सुदूरपश्चिमका लागी छुट्याइएको जम्मा बजेट यत्ति हो। अरुपनि केही कार्यक्रम पारिएका छन् तर नाम मात्रका छन्। तराईमधेश दु्रतमार्ग र सुदूरपश्चिमका ९ जिल्लाको बराबर कसरी भयो ? बुझिनसक्नु छ
  
यो केबल बजेट वक्तव्यमा उल्लेखित बजेट र कार्यक्रम मात्रै हुन्। वक्तव्यमै सुदूरपश्चिम यसरी पाखा पारिएको छ भने पछि विनियोजित बजेट वा रकमान्तरमा कायापलट होला भनेर कसरी विश्वास गर्ने ? बजेटमै प्राथमिकतामा नपर्ने सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममा पारिने कुरै भएन। पहुँचवाला बाहुबलीको निर्वाचन क्षेत्र वा गृहजिल्लामा आर्थिक वर्षको बीच वा अत्यतिर भएपनि रकमान्तर गरेर कार्यकर्ता पोसिने देशमा सुदूरपश्चिममा रकमान्तर गरेर बजेट पुर्‍याउने आँट त किन गरिन्थ्यो तर बजेटमा महत्वपूर्ण आर्थिक महत्वका कार्यक्रमहरु समेत नपारिनुले सरकारको सुदूरपश्चिम प्रतिको रवैया एकपटक फेरि उदाङ्गिएको छ ।  
बजेटमा पहुँचवालाकै हालीमुहाली :
सरकारी ढुकुटी र वैदेशिक अनुदान/ऋणबाटै वितरण हुने बजेटमा त यसरी पहुँचको आधारमा वितरण हुन्छ भने हामीले कसरी समानुपातिक विकासको कल्पना गर्ने? बजेट जहाँ गरिबी, अशिक्षा, भोकमरी  छ त्यहाँ बढाउनुको साटो ठूला नेता, उच्च पदस्थ कर्मचारी वा पदाधिकारीका गाविसमा बजेट थुपारेर कस्तो नयाँ नेपाल बनाउन खोजेका हुन् ? दार्चुलातिङ्कर सडक सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका भन्दा त्रिदेशीय सीमा पर्ने भएकोले भन्सार, राजस्व, पर्यटन, सीमा सुरक्षा तथा व्यापार व्यवसायका लागी बढी महत्वपुर्ण नाका हो। तर सरकारले यो सडक निर्माणका लागि भन्दै टनकपुर लिङ्क सडक, पाटनपञ्चेश्वर सडक र दार्चुलातिङ्कर सडक गरी तीनवटा सडकको लागी मात्र २९ करोड रुपैयाँ छुट्याएको छ। यसले प्रष्ट पारेको छ बजेटमा पहुँचवाला नै हावी भएका छन भन्ने कुरा  
पर्यटनमा पनि हेपियो सुदूरपश्चिमलाई 
देशको पर्यटकीय क्षेत्र गत बैशाखको भूकम्पपश्चात नराम्ररी धराशयी भएको छ। काठमाडौं, पोखरा, चितवन लगायत देशका थुप्रै पर्यटन व्यवसायी तारे होटर र रिसोर्ट बन्द गर्न बाध्य भएका छन् । भूकम्पले मध्य तथा पूर्वी नेपालमा असर पुर्‍याएपनि सुदूरपश्चिममा भूकम्पको कुनै असर परेको छैन। यस्तो अवस्थामा सुदूर तथा मध्यपश्चिमको पर्यटन व्यवसायमा सरकारले यथेष्ट ध्यान दिइ पर्यटकहरुलाई नेपालमै राख्ने उचित बन्दोबस्त गर्नुको सट्टा काठमाडौं वरिपरीका एकाध ठाउँमा पर्यटकहरुलाई घुमाएर नेपाल सुरक्षित रहेको तस्विर खिचाउनमै लागिपरेको छ । यसले सरकार  अझैपनि नेपाल भनेको काठमाडौं र आसपासको क्षेत्रमात्रै हो भन्ने भ्रममा रहेको प्रष्ट पार्दछ
   
सरकारले ध्यान दिनसके भूकम्पपश्चात ठप्प रहेको चितवन सौराहको विकल्प कैलालीको टीकापुर हुन सक्थ्यो, लाङटाङ, वारपाकको विकल्प खप्तड हुन सक्थ्यो। घलेगाउँको विकल्प बैतडीको पाटन र अछामको रामारोशन हुन सक्थ्यो। अपी हिमाल, सैपाल हिमाल लगायत शैलेश्वरी, उग्रतारा, अमरगढी, खप्तड, एशियाकै लामो झोलुङ्गे पुल तथा बाह्रसिंगाको राजधानी शुक्लाफाँटा यहाँका आकर्षक पर्यटकीय गन्तव्य हुन्। सरकार तथा सम्बन्धित निकायले यस्ता क्षेत्रहरुकोे विकास, व्यवस्थापन र प्रवर्धनमा पहलकदमी गर्न सकेको भए विश्व पर्यटन मञ्ममा भूकम्पपश्चात नेपालको पर्यटकीय क्षेत्र समाप्त भएको गलत सन्देश जाने थिएन  
निष्कर्ष:
केन्द्रीय राजधानीभन्दा भौगोलिक र राजनैतिक पहुँचका हिसाबले टाढा रहेको सुदूरपश्चिमा बजेट विनियोजन बिनै सुन्दर क्षेत्रको रुपमा विकास गरिने शब्द आफैमा हाँस्यास्पद र काल्पनिक छ । गरीबी, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सदा पछाडि रहेको सुदूरपश्चिमलाई बजेटको पहिलो प्राथमिकतामा पार्नुको सट्टा अन्तिम प्राथमिकतामा पार्नु सुदूरपश्चिमलाई समृद्ध बनाउन नचाहनु  हो भन्ने कुरा घामजस्तै छलङ्ग भएको छ अबको बजेट पहुँचका आधारमा नभई विकास निर्माणमा सबैभन्दा पछाडि परेका कणाली र सुदूरपश्चिमलाई आधार मानेर विनियोजित गरियोस्, होइन भने समानुपातिक विकासको नारा नलगाइयोस् ।      

साउन १५ गतेको पहिलोपोष्टमा प्रकाशित 
See more at :

Friday, July 24, 2015

लिपुलेकबारे योगेश भट्टराईलाई खुला पत्र




कृष्ण महरा 
आदरणीय कमरेड योगेश भट्टराई,

अभिवादन                            
पछिल्लो राजनैतिक परिवर्तन पश्चात हामी सबैले व्यग्र पतिक्षित संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा नेपाली भुमी लिपुलेक माथी भएको अघोषीत प्रहारले जोसुकै नेपालीको पनि मुटू भतभती पोलिएको हुनुपर्छ । 

यहि बेला लिपुलेक संग दार्जीलिङ्ग साँट्न सकिने यहाँको अभिव्यक्ति पढ्न पाइयो । शीर्षक मात्रै पढ्दा विश्वासै लागेन तर जब प्रतिष्ठित पत्रिका अनलाइनखबर’ ले नै प्रकाशित गरेको रहेछ तब थाहा पाए र भक्कानिए ।  

कमरेड,

यसरी सार्वभौतसत्ता माथी दिनदाहाडै पह्रार भएको बेला खुसी हुनुहुन्छ भनेर त भन्दिन म तर यति चाही भन्छु भन्छु लिपुलेकको सट्टा दार्जीलिङ्ग पाउनुभयो भने हाँसी हाँसी स्वीकार गर्नुहुन्छहैँ ।यहाँनेर अझ प्रष्ट पार्न म कमरेडकै शब्द सापट लिन चाहन्छु, ‘जमित साँटासाँट गर्ने चलन दुनियाँमा चलेको छ,त्यसमाथी दार्जिलिङ्ग त पहिले नै हामै्र भुमि थियोयदि लिपुलेक लिएर दार्जीलिङ्ग दियो भने हामी खुसीसाँथ खुसीसाथ तयार हुनुपर्छ

यो भनाइमा तपाईको मात्रै नाम नभई नेपालको सबैभन्दा दोस्रो ठुलो तथा सत्तारुढ पार्टी एमालेका सचिव तथा प्रचार विभाग प्रमुखको समेत नाम छ । एउटा आशलाग्दो नेताले राष्ट्रियतासार्वभौमसत्ता र देशको अखण्डताको सवाललाई ख्यालै नगरी आफ्नो विचार सार्वजनिक गर्नु किमार्थ शोभनीय कुरा होइन ।

एमालेमा पार्टी विभाजन पश्चात मात्रै राष्ट्रियतामाथी चर्को वहस भएको थियो  । २०५५ साल तिर कालापानी नेपालको मुटू हो,मुटू हो’ भन्ने नारा गाउँमा गुन्जीन्थ्यो । त्यतिबेला एमालेले उठाएको कालापानीको मुद्दा बोकेर तपाई लगायत धेरै एमाले नेताहरु दार्चुला आउनु भएको रहेछ । दार्चुलाका अति लोकप्रिय नेता तथा कालापानीको मुद्दा सदन र सडकमा उठाउने आँट र जोश भएका कमरेड प्रेमसिंह धामीको असामहिक निधन संगै यो मुद्दा पनि विस्तारै सेलाउदै गयो र भारतीय सेनाले कालापानीमा स्थायी डेरा जमायो ।   

तत्पश्चात झण्डै दुई दशक सम्म गुमनाम रहेको कालापानी मुद्दा अहिले भारतचीन बीच सम्पन्न लिपुलेकलाई व्यापार वडोत्तरीको नाका बनाउने सम्झौता पश्चात लिपुलेक प्रकरणका रुपमा आएको हो ।
लिपुलेकलाई कमरेड योगेशले भने जसरी दार्जीलिङ्ग संग त केदेहरादुनदिल्ली र मद्रास संग समेत साट्न सकिदैन र त्यो कुरा सारा नेपालीलाई र अझ दार्चुलाबासीलाई कदापी स्वीकार्य हुँदैन । कमरेडले भने जस्तै कुनैदिन भारतको दार्जीलिङ्ग मात्रै होइनटिस्टासिक्किमकुमाउकाँगडागडवालर देहरादुन समेत नेपाली भुमी थिए । सन् १८१६ मार्च ४ मा अनुमोदित सुगौली सन्धी प्रयोगमा आएपछि यी क्षेत्रहरुबाट नेपालले हात धुनु परेको हो ।

नेपाल सरकारले लिपुलेक प्रकरणको बारेमा तदारुकताका साँथ कुटनीतिक ढंगबाट पहल नगर्नुएमाले वरिष्ठ नेता झलनाथ खनालले हामीले प्रतिपक्षमा हुँदा उतिबेलै वाजपेयी संग यो कुरा उठाएका थियौ भनेर झारा टार्नुअझ एमालेकै नेता तथा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको राजा महेन्द्रले लिपुुलेक÷कालापानी सुनसंग साँटेको आरोप लगाउनु लाई संयोग मात्र मान्न सकिन्न ।

चीन र भारत दक्षिण एशियाकै उदयीमान राष्ट्र हुन । यीनीहरु लक्ष कसरी एशिया हुँदै विश्वमा आफ्नो प्रभुत्व कायम गर्न सकिन्छ भन्ने भित्रि रणनीति को खोजीमा छन । भारतले बंगलादेशलाई विवादित भुमीको २०० प्रतिशत हिस्सा दिएर हालै गरेको सीमा विवाद समाधान लाई सामान्य रुपमा लिनु हामी सबैको महाभुल हुनेछ । 

यस्तो अवस्थामा लिपुलेक जस्तो सामरिकपर्यटकीय तथा सार्वभौमसत्तासंग जोडिएको क्षेत्रलाई दुनियाँको कुनैपनि भुभागसंग साँट्ने कुरा आफ्नी आमालाई लात हानेर अर्काकी आमा खोज्न जानुसिवाय अरु केहि हुन सक्दैन । आफ्नी आमा चाहे बुढीआँखा नदेख्नेचाउरी परेकी नै किन नहोउनशहरीया चिटिक्क परेकी हिरोइन भएपनि दाँज्न त मिल्दैन साँट्नुको के कुरा ।

कालापानी÷लिपुलेकको काखले हजारौ नेपाली(दार्चुलाबासी)हरुलाई न्यानो काख दिएको छ । भोक लाग्दा छाक टार्न बहुमुल्य जटीबुढी यार्सागुम्बापाँच औलेकटुकी दिएको छ । तिर्खा लाग्दा चिसो पानीथकाइ लाग्दा आफ्नो छातीको सिरानी र गर्व गर्न अपि हिमालको शीर दिएको छ । लिपुलेकले हामीलाई केहि नदेओस् र पनि कसैसंग साँट्ने कुरा स्वीकार्य हुँने छैन ।  

कमरेड,

आज लिपुलेक दार्जीलिङ्ग संग साँटेर भोली भारतले लिपुलेक बाटै महाकाली नदी तल आउन नदिई त्यसको धार भारततिर फर्काइदियो भने पश्चिम नेपालका बैतडीडडेलधुरा र कञ्चनपुरलाई पनि विहार संग साँट्ने त्यसैले यस्तो कदम स्वीकार्न सकिदैन ।

नेपाल सरकारको इच्छातदारुक्ता र चाहना भए अन्तराष्ट्रिय विवाद शान्तीपुर्ण र कुटनैतिक ढंगले समाधान गर्न सकिन्छ । आफ्नै पार्टी सम्मिलित सरकारलाई लिपुलेक विवाद कुटनीतिक नियोग मार्फत  तीन वटै देशले आपसी सहमतिसंवाद र वार्ताद्धारा समाधानको लागी दवाव दिनुको साँटो भारतले दार्जीलिङ्गसंग साटे खुसी भएर स्वीकार गर्नुपर्ने यहाँको तर्कसंग कदापी सहमत हुन सकिदैन ।     
नेपाल र भारत दुवै संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र र चीन संयुक्त राष्ट्र संघको स्थायी सदस्य हो । राष्ट्र संघकै वडापत्रको धारा ३३ अनुसार वार्तासत्सेवासमन्वय,  मध्यस्थतापञ्जनिर्णय,  मेलमिलाप
द्धारा समस्या समाधान गर्न सकिने प्रावधान समेत व्यवस्था गरिरएको छ । 

मलाई लाग्छनेपाल सरकारको कुटनीतिक क्षमता भए यो विवाद समाधान गर्न राष्ट्रसंघको शान्तीपुर्ण विवाद समाधानको धारा ३३ सम्म पुग्नै पर्दैन । गत जुन महिनामा भारतबंगलादेशबीच वर्षौ पुरानो सीमा विवाद समाधानमा  ती देशको परराष्ट्र नीति र कुटनैतिक क्षमता देखेर सारा विश्व अचम्भित भएको छ । हामी मध्ये कतिपयलाई त त्यो कुरा थाहा पनि छैन । 

उतिबेला पार्टी विभाजनको छटपटीमा कालापानी विवाद उठाउने वामदेव अहिले आफ्नो कुर्सी टिकाउन कालापानी÷लिपुलेकको कुरा गरे भारत रिसाउँछ’ भन्ने बनावटी बोली बकीरहनु भएको छ । जोसुकैले पनि राजनीतिमा आफ्नो पद जोगाउनु कुनै ठुलो कुरा होइनमुलुक जोगाउनु ठुलो कुरा हो । जसले जे सुकै आरोप लगाएपनि सबै मान्छे पृथ्वीनारायण र मरीचमान बन्दैनन । 

कमरेड,

उतिबेला कालापानी नेपालको मुटू हो’ भन्ने तत्कालिन माले अहिले किन दार्जीलिङ्ग दिए खुसी हुनुपर्ने सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेशको त के कुरा  उतिबेला कालापानीमा गोर्खाली खुकुरी नचाउन तयार एमाले समेत अहिले सामान्य कुटनीतिक पहलमार्फत लिपुलेक प्रकरणको विवाद समाधानमा उदासिन र असफल सावित हुँदैछ । जुन भ¥याङ्गको सहायतामा एमाले माथी चढ्यो त्यहि भ¥याङ्गलाई  लात्ती ?

महाकाली सन्धीकै कारण तत्कालिन एमाले विभाजन भएको यहाँलाई राम्रोसंग थाहा छ होला । नेपालभारत बीच १२ फेबु्रअरी १९९६मा गरिएको महाकाली नदीको एकिकृत विकास सम्बन्धी उक्त सम्झौताको धारा ७ र ८ को प्रावधान अनुसार महाकाली नदिको वहाव र स्तर व्यवस्थापन गर्ने सन्दर्भमा दुबै पक्षको सम्झौता विना पानीको प्रयोगअवरोध र डाईभर्ट गर्न र महाकाली नदीका सहायक नदीहरुमा समेत सर्वे तथा विकास निर्माण कार्य गर्न पाईदैन । 

अनि थाहा छ ?, महाकाली नदीको सहायक नदी धौलिगंगामा भारतले २८० मेघावाटको धौलिगंगा जलविद्युत आयोजना निर्माण गरको छ । गत दुई वर्ष अगाडि दार्चुला सदरमुकाम बग्नुमा पनि सोही आयोजनाको ड्याम भएको र यसको निष्पक्ष छानविन गरी क्षतिपुर्ती दिलाउनु पर्ने बाढीपीडितले उतिबेलै माग गरेका थिए जसको कहिकतै सुनवाई नै भएन ।  

अन्तमा,

दार्चुलाको पश्चिम उत्तरी गाउँ गरमोरामा जन्मिएर अहिले भने परिस्थितिको परिवेशमा रुमल्लिदै काठमाण्डौको कोलाहल शहरमा समय वर्वाद गर्दै गरेको म सामान्य नागरीक हुँ । सुनेको थिएदेश यस्तै सामान्य नागरीक र भुँईमान्छेहरुलाई नै बढी दुख्छ । जुन देशमा सामान्य व्यक्तिलाई भन्दा नेतालाई बढी देश दुख्छत्यो देश समयमै समृद्ध भईसकेको हुन्छ । 

जहाँ जन्म्योहुक्र्योबढ्योत्यस देशको माया नलाग्ने यो संसारमा को नै होला र लिपुलेकलाई भारतले दार्जीलिङ्ग दिए साट्न तयार हुनुपर्ने यहाँको भनाई प्रति कुनैपनि हालतमा सहमत हुनसकिदैन । भविष्यमा युवा वर्ग र देशको लागी केहि गर्ला भन्ने आश गरीएका तपाईबाटै यस्तो अभिव्यक्ति आउनुले नेपाली युवा नेतासंगको हाम्रो आश माटोमा विलय भएको छ । अहिलेलाई यत्ति नै कमरेड ।

उही एक नेपाली नागरीक
गरमोरादार्चुला
हाल : नेपाल ल क्याम्पस

८ साउन, २०७२ को अनलाइनखबर.कम मा प्रकाशित 
See more at :

Saturday, July 18, 2015

माननीय ज्यू, कति वर्ष टिक्ने संविधान बनाउँदै हुनुहुन्छ ?


- कृष्ण महरा  
२०६२/६३ को जनआन्दोलनको राजनीतिक परिवर्तनपछि हामी सबैले व्यग्र प्रतिक्षा गरेको संविधान निर्माण भई नसक्दै यस्तो प्रश्न गर्दा अनौठो लाग्न सक्छ। झण्डै तीन करोड नेपाली र सारा विश्वले पर्खिरहेको नयाँ संविधानको प्रारम्भिक मस्यौदा हेर्दा यस्तै संविधान आए त्यसको आयु कति हुन्छ होला भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो
 
हामी ६८ वर्षको पछिल्लो इतिहासमा छ वटा संविधान फाल्दै सातौं संविधान बनाउन अर्बौँ खर्च गरिरहदा स्क्यान्डिन्याभियन देश नर्वेले गतवर्ष मात्रै आफ्नो संविधानको २०० औं वर्षगाँठ भव्यताका साथ मनायो। 

त्यसैगरी वेल्जियमका नागरिक साह्रै पश्चगामी भएर होला सन् १८३१ मा बनेको संविधान त्यति पुरानो भइसक्दासमेत फेर्ने कुरा गरेनन्, देश विकास मात्रै गरिरहे  हामीलाई भने २५ वर्ष अगाडि बनेको संविधान मस्यौदाकै शब्दमा साह्रै परम्परावादी, सामन्ती, निरंकुश, केन्द्रीकृत, विकास वाधक लाग्यो र दौडियौं नयाँ संविधानको खोजीमा। झण्डै ५० अर्ब रुपैयाँ र ९ वर्ष समय स्वाहा पार्‍यौँ। सत्य कुरा संविधान पश्चगामी हुन सक्दैन धु्ब्रसत्य कुरा संविधान आफैमा सामन्ती कहिल्यै र कदापी हुन सक्दैन। पश्चगामी र सामन्ती त हामी हौं जो अमेरिकाले २२८ वर्ष पुरानो संविधानले विश्वकै नेतृत्व गरेको देखिदेखी अझ संविधानकै पछि दगुर्छौं

खैर जे होस्, जनताको हातमा संविधानको खाका आएको छ, जनप्रतिनिधिमुलक संस्था संविधानसभाले ८ वर्ष लगाएर विरोध वा समर्थन जे भएपनि संविधानको मोटामोटी दस्तावेज (मस्यौदा) जन समक्ष ल्याएको छ जुन अति स्वागतयोग्य छ। पंक्तिकार संवैधानिक कानुनको विद्यार्थी भएकोले संविधान संधै फेरि रहनुपर्छ भन्दापनि एउटै संविधान वर्षौंवर्ष टिक्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ

अन्य कुरा यथावत रहे भने झण्डै आधा शताब्दीदेखि संविधानसभाबाटै संविधान लेख्ने नेपाली जनताको सपना अबको केही सातामै साकार हुँदैछ। ३७ भाग, २९७ धारा र ७ अनुसूची बोकेको मस्यौदा झट्ट हेर्दा राम्रै देखिएपनि अर्थको अनर्थ लाग्ने गरी घुमाइएको छ

राज्यले आफ्ना नागरिकलाई कागजी रुपमा के दिने, के नदिने भन्दापनि आफ्नो सामर्थ्यको स्रोत छाम्नुपर्छ। राजमार्गका होटल अनुगमन गर्न नसक्नेहरुले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक राज्यको दायित्व कदापी पूरा हुन सक्दैन । संविधानमा धेरै वा थोरै लेखेर देश विकास हुने भए आज बोलिभिया (५०० धारा) उहिल्यै संसारको सर्वशक्तिमान र अति विकसित देश बनिसकेको हुन्थ्यो भने अमेरिका (जम्मा ७ धारा) अति दरिद्र देश
     
अब बन्ने नयाँ संविधानले एकातिर सदियौंदेखि राज्यसंयन्त्रको मूलप्रवाहबाट विमुख पारिएका भनिएका आदिवासी/जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत समुदायलाई सम्बोधन गर्नुपर्ने  र अर्कोतिर जनताले प्रजातन्त्र प्राप्त गरेको ६०/६५ वर्षसम्मपनि केन्द्रीकृत राज्य संयत्रका कारण विकास निर्माणमा सँधै पाखा पारिएका सुन्दर सुदूरपश्चिम तथा कर्णालीबासीहरुको अधिकार संघीयतामार्फत विकेन्द्रीकरणको माध्यमद्वारा विकास र सम्पन्नताको मूलधारमा ल्याउनुपर्ने मुख्य चुनौती छन्

त्यसो त नेपालमा संविधान बन्ने प्रक्रिया पहिलो पटक भने होइन। २०७२ मा बन्न लागेको संविधान नेपालको संवैधानिक इतिहासमा निर्माणका हिसाबले सातौं जनप्रतिनिधिमुलक संस्था संविधानसभा मार्फत निर्माण हुन लागेको पहिलो संविधान हो। 
विगतमा संविधान निमार्णपछिको तीतो परिणाम :
२००४ सालमा राणा प्रधानमन्त्री पद्मशम्सेरले नेपालको पहिलो संविधान जारी गरे तर राणाहरु भित्रकै आपसी विवाद र किचलोले लागु गर्न सकेनन्। जनतालाई अधिकारसम्पन्न बनाउन सकेनन् फलस्वरुप २००७ सालको क्रान्ति भयो र राणाशासन सदाका लागी अन्त्य भयो
२००७ मा दोस्रो संविधान जारी भयो, क्रान्तिका नायक र प्रधानमन्त्रीका पहिलो हकदार बिपी कोइरालालाई देशको प्रधानमन्त्री बनाइनुपथ्र्यो तर त्यसो गरिएन। २०१५ सालमा संविधान बनाइयो उक्त संविधानको परिणामस्वरुप दलमाथि प्रतिबन्ध लाग्यो, निर्दलीय पञ्चायती ब्यवस्था सुरु भयो। बिपी कोइराला, कृष्णप्रसाद भट्टराई लगायत अन्य कयौं २००७ सालको क्रान्तिका योद्धाहरु जेलजीवन जिउन बाध्य भए

फेरिपनि नेपालको संवैधानिक इतिहासमा संविधानको फेरबदल हुने क्रम रोकिएन। राजा महेन्द्रले फेरि पञ्चायती व्यवस्था अनुकुल २०१९ सालमा संविधान जारी गरे, त्यस लगत्तै कतिपय क्रान्तिवीरहरुले देश छोड्नुपर्‍यो। त्यतिमात्रै होइन, २०३७ सालको जनमतसंग्रहमा राज्यशक्तिको चरम दुरुपयोग गरी पञ्चायतको पक्षमा मत दिन सारा नेपाली जनतालाई बाध्य पारियो र देश २०४६ सालको आन्दोलनको शिकार भयो

उक्त आन्दोलन सफल भएपश्चात २०४७ सालमा नेपालमा फेरि अर्को संविधान जारी भयो । उक्तसंविधान घोषणाका क्रममा विश्वका दश उत्कृष्ट संविधानमध्ये एक मानिएपनि त्यस संविधान नेपाली जनताको मर्म, भावना र हित अनुकुल भएन जसको परिणामस्वरुप यसबीचमा बिभिन्न संर्घष र सशस्त्र द्वन्द्व नै निम्तियो। दशवर्षे द्वन्द्वले देश कति पछाडि पर्‍यो त्यो यहाँ उल्लेख गरिरहनुपर्दैन। पछि २०६२/६३ को जनआन्दोलनले आँधिहुरी नै ल्याइदियो। फेरि पनि नेपालमा नयाँ संविधान आयो नेपालको अन्तरिम संविधान २०६३ ।२४० वर्षदेखि सदा शासन गरिरहेको राजतन्त्रको नाम निशाना इतिहासमा सीमित रह्यो भने लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रको स्थापना भयो

नेपालमा जति जति राजनैतिक परिवर्तनहरु भए त्यति त्यति संविधानहरु बन्दै गए। राणादेखि राजासम्म र विश्वप्रसिद्ध संविधानविद आइभर जेनिङ समेतको सहभागितामा बनेको संविधान त सफल भएन नै, आयोग मार्फत निर्माण गरिएको २०४७ सालको संविधानसमेत इतिहास सावित भइसकेको छ ।  
अहिलेको मस्यौदामा विम्बित स्वरहरुः  
चार राजनैतिक दलका चार नेताहरुले १६ बुँदाको परीक्षा दिएपछि नतिजा स्वरुप नेपालको संविधान २०७२ (प्रारम्भिक मस्यौदा) आएको हो। नेताहरुले १६ बुँदे परीक्षा बहिष्कार गर्दा हुन् त यो मस्यौदा सायदै आउन सक्थ्यो। आम जनमानस, विज्ञ र विशेषज्ञ सबैकाबीच मस्यौदाको समर्थन भन्दापनि विरोधको पल्ला भारी छ।

अन्तरिम संविधान २०६३ को मर्म र सर्वोच्च अदालतको फैसला अनुसार संघीयता सहितको मस्यौदा नआएकोमा मधेसकेन्द्रित दलहरु रुष्ट छन्। नामांकन र सीमांकनको जिम्मा आयोगलाई दिएर आफ्नो गल्ती, जिम्मेवारी र कमजोरी अर्काको थाप्लोमा राखी विश्राम लिन खोज्ने कुचेष्ठा कसैको लागि सुखद होइन। प्रारम्भिक मस्यौदामा नागरिकताको ब्यवस्था अन्तरिम संविधान भन्दा पनि अझ पछाडि हटेकोमा महिला तथा मानवअधिकार कर्मीहरु असन्तुष्ट छन्

अन्तमा, नेपालको संवैधानिक इतिहासमा २००४ सालको संविधान गर्भमै तुहाइएको थियो, २००७ सालको संविधान बाल्यकालमै संवैधानिक संहारको शिकार बनाइयो। अझ २०१५ सालको संविधान त झन् राजा महेन्द्रले गलहत्याएर घाँटी निमोठ्दै चार बर्षमै पञ्चायती व्यवस्था अनुकुलको संविधान २०१९ जन्माए।

राजनैतिक दलमाथि प्रतिबन्ध र एकदलीय पञ्चायती व्यवस्था भएकोले २०१९ सालको संविधान जम्माजम्मी २८ वर्षसम्म चल्यो र २०४६ सालमा जनताले आन्दोलनमार्फत त्यसलाई पनि परास्त गर्दै नेपाल अधिराज्यको संविधान २०४७ जारी गरियो। यो पनि किशोरावस्थामै दोस्रो जनआन्दोलनको आँधिवेहरीले पछारियो  

विगतका यी सबै संविधान कत्तिको जनउत्तरदायी र प्रजातान्त्रिक थिए त्यो भिन्दै बहसको विषय बन्न सक्छ तर वास्तविकता के थियो भने ती सबै संविधानहरुमा कुनैपनि संविधान दीर्घजीवि हुन सकेनन् वा बनाउन सकिएन । प्रारम्भिक मस्यौदा हेर्दा यो संविधानको समेत हालत करिब करिब त्यस्तै हुने देखिन्छ। त्यसैले संविधान बनाउनेहरुलाई सोध्न मन लागेको छ माननीय ज्यू, कति आयुको संवाधान बनाउदै हुनुहुन्छ?


साउन २, २०७२ को पहिलोपोष्टमा प्रकाशित 
See more at :