Saturday, February 1, 2014

माननीयको अबको बाटो


                                                       
                                                                                                                                –कृष्ण महरा

सधैको मंशिर झै २०७० को मंशिरपनि सिरेटो र चिसोसंगै आरम्भ भयो । प्रकृतिको समयसारणीभित्र तापक्रमको सुचक त्यतिमाथिसम्म नल्याउने मंशिर यसपालि भने आम जनमानसमा भित्रैदखि हर्ष र उल्लासको न्यानोपना छरिरहेको देखिन्थ्यो । पहिलो संविधानसभा संविधान विना नै अवशान  भएको पिडा दोस्रो संविधानसभाको निर्वाचन घोषणा संगसंगै कम भई निर्वाचनको तिथि मुखैमा पुग्नु देशव्यापी जनमानसको हर्षोल्लासको कारक थियो । जहाँसम्म दार्चुलामा दोस्रो संविधानसभा निर्वाचन पुर्वसंध्याको विषय छ, दार्चुलावाशी जनसमुदाय कांगे्रस केन्द्रिय सदस्य एवं पार्टीप्रवक्ता तथा पुर्वमन्त्री दिलेन्द्र प्रसाद वडूलाई भोट दिने वा नेकपा एमाले युवा नेता क. गणेशसिंह ठगुन्नालाई भोटदिने वा विगतको संविधानसभामा सबैभन्दा ठुलो दल बनेको एनेकपा माओवादीका नेता क. ललितसिंह ठगुन्नालाई भोटदिने भन्ने विषयमा द्धिविधामा नपरेका होइनन । निर्वाचनपश्चात मतगणना नसकिदा सम्मपनि कसले वाजी मार्ला त्यसै भन्नसक्ने अवस्था थिएन । आफ्नो राष्ट्रिय तथा पाटिभित्र स्थान जे–जस्तो बनाउन सकेपनि दार्चुलामा निर्विकल्प उमेद्धारको स्थान र पहिचान यीमध्ये कसैले पनि बनाउन सकेका थिएनन । निर्वाचन परिणामपछिको झिनो मतअन्तरले समेत यहिकुराको संकेत गर्दछ ।


त्यसै कौतुहलता र जिज्ञासाबिच नेकपा एमाले युवानेता क.गणेशसिंह ठगुन्नालाई दार्चुलावाशी जनताले विश्वास र भरोसाको मत दिए । वि.स. २०५४ सालको स्थानिय निकायको निर्वाचनमा जिविस सभापतिको हैसियतले कमरेडले लगाएको गुनले हो वा अहिलेसम्म व्यवस्थापिका संसदको निर्वाचनमा नेकपा एमालेले  पालो नपाएकोले हो वा अरुको परिक्षालिईसकेका जनताले कमरेडको पनि परिक्षा लिन हो, त्यो भने आउदो समयले नै बताउला तर जेहोस नेकपा एमाले दार्चुला र माननीय कमरेडलाई सुनौलो अवसर र जटिल चुनौतिको कठघरामा भने उभ्याएकै हो । यो कुरा सम्पुर्ण पार्टीपंति र विजयी माननीयले राम्ररी बुज्नुपर्दछ । मंशिर ४ पुर्व उहाँ पार्टीको एक जिम्मेवार नेता तथा पुर्व जिविस सभापति मात्रै हुनुहुन्थ्यो । अब उहाँ त्यतिमात्रै हुनुहुन्न, पुरै दार्चुलावाशीको सफल नेतृत्वकर्ता तथा अभिभावक हुनुहुन्छ । आज उहाँ नेता, नेतृत्वकर्ता हुदै अभिभावक तथा माननीय भईसक्नुभएको छ । फरिदो परिचय संगसंगै उहाँको कर्तव्य र जिम्मेवारीसमेत फरिएको छ । आश गरौ कि सम्पुर्ण दार्चुलावाशीहरुको आशा, भरोशा र विश्वासलाई कमरेडले गुम्नदिनुहुने छैन ।

पार्टिप्रति कार्यकर्ताको लगाव, वलियो संगठन र आम मतदाताको कमरेडमाथीको विश्वास नै उक्त जीतको आधार हो । गुट र उपगुटको महामारीले  सताएको नेपाली राजनितीमा नेकपा एमालेपनि उक्त रोगबाट अक्षुण रहन सकेको छैन । त्यहि केन्द्रिय स्तरमा लागेको रोगको लक्षण दार्चुलामापनि नदेखिएको होईन । दार्चुलाबाट नेकपा एमालेको कुनैपनि उमेद्धवार समानुपातिकको वन्दसुचिमा नपर्नुले एउटा पक्ष निराश र रुष्ट देखिएकै हो जुन स्वभावतहः देखिने गर्दछ । दार्चुलाबाट यहि गुटको अन्त्य गर्न सक्नु वा दुवै पक्षको विश्वास जित्नसक्नु माननीयको एउटा कर्तव्य हुनेछ । पार्टीभित्र र राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन हरेक ठाँउमा आफुुलाई बलियो रुपमा प्रस्तुत गर्नसक्नु उहाँको अर्को महत्वपुर्ण पक्ष हो । गत संविधानसभामा पार्टी तेस्रो स्थानमा खुम्चिनुपरेको अवस्था र विपक्षीहरुले नेपालमा एमाले भन्ने पार्टी नैै छैन भनिरहदा आफ्ना लेख,रचना, विचार र विज्ञतामार्फत आज पार्टीलाई देशकै दोस्रो ठुलो दल बनाउन सफल प्रदिप नेपाल, भीम आचार्य तथा अग्नि खरेलजस्ता विज्ञहरुबाट माननीय मात्र नभई जोकोहि एमालेप्रति आस्थावान व्यक्तिले पाठ सिक्नैपर्ने हुन्छ ।  चुनाव हारेर पनि नेकपा एमाले प्रदिप ज्ञवाली र गोकर्ण विष्टहरु जन्माउने पार्टि हो भन्ने कुरा माननीयले कदापि भुल्नुहुदैन । जनताका मागहरु एकैचाटि शतप्रतिशत पुरा गरिनुपर्छ भन्ने हाम्रो आम आशय किमार्थ होईन तर त्यसको सुरवात र स्पष्ट नीति भने अवश्य बसालिनु पर्दछ । के थाहा जनताले यस्तो अवसर सधैँभरी दिईरहन्छन भन्ने के ग्यारेन्टी छ र ? यो माननीयको परिक्षापनि त हुनसक्छ नि ।


माननीयले दार्चुलाको विकाशमा धेरै समस्या, जटिलता र चुनौतिहरु अवश्यपनि देखेको हुनुपर्दछ तर चुनौतिका बाबजुतपछिको सफलताको स्वाद र वाहवाह कति मिठो हुन्छ भन्ने कुरापनि भुल्नुुहुदैन । हरेक सफलता र विजयका पछाडि चुनौतिका संगिन अप्ठ्याराहरु हुनु विश्वप्रसिद्ध राजनेताहरुको आत्मवृतान्तले बताउछ ।  एमाले पार्टी स्थायी समितिले उर्जा मन्त्रालय विशेषगरी विद्युत प्राधिकरणमा रहेका समस्या र चुनौति देखेरै स्थानिय विकाश मन्त्रालय दिने सोच बनाइरहदा स्वयम गोकर्ण विष्टले समस्याको सुनामीभित्रै सफलताको सुत्रपात गरेकोले आज जोसुकैले पनि एमालेभित्र गोकर्ण विष्टको नाम गर्वका साथ लिने गर्दछन । हुन त गोकण विष्ट बन्न जोकोहिलाई सजिलो नहुन सक्दछ तरपनि अहोरात्र प्रयासरत रहे असम्भव भन्नेकुरा पनि त छैन नि, होइन र ? निश्चित क्षेत्रको मात्रै विकास वा कसैको व्यक्तिगत स्वार्थको मात्रै उठान माननीयको लागी नराम्रो नजिर बन्नसक्छ तर त्यसो भन्दैमा आफ्नो ज्यानको आहुतिदिई अहोरात्र खटिने स्वाभिमानहरुको मनोबलपनि गिर्न दिनुहुदैन ।  बाढिपिडितहरुको समस्या समाधान, जिल्लाको आर्थिक,सामाजिक, शैक्षिक, एवं समग्र क्षेत्रको समानुपातिक विकाश, सिमा समस्या समाधान,  गाँउस्तरमा दरिलो उपस्थिति तथा बलियो जनसम्पर्क स्थापना गर्नु नेकपा एमाले दार्चुलाको आगामी योजनाभित्र समेट्नु बुद्धिमता हुनेछ । दार्चुलावाशीको वैचारिक र भावनात्मक मागलाई संविधानसभामा पु¥याउन हरसम्भव प्रयत्नशील रहनु माननीयको प्रशंशाको विषय रहनेछ । कतै आफ्नो मतआधार बलियो भएको क्षेत्र र स–साना कम महत्वका काममा अल्झिई प्रेमसिंहको पुनरागमन देख्नेहरुलाई माननीयद्धारा सकसमा पारिने त होईन भन्ने प्रश्न आज जताततै चर्चा र परिचर्चाको विषय बन्नपुगेको छ ।

पहिलो संविधानसभामा जनताको अभिमत लिएर गएकाहरुमध्ये कतिले नाम कमाए, कतिले दाम कमाए र अझ कतिले त वदनाम समेत कमाए । दाम र वदनाम कमाउनेहरुको हविगत दोस्रो संविधानसभाले देखाइसकेको छ । यो संविधानसभामा पनि जनताको आशा र अभिलासालाई विर्सेर रातारात दाम र सुन्दै अत्यासलाग्दो वदनामको पगरी भिर्नेहरुको हालत नजिकै आइरहेको स्थानीय निकायको निर्वाचनले स्वतः देखाउनेछ । यी र यस्ता कुराहरुप्रति सजग र सचेत माननीय संविधानसभा अवधि र त्यसपछिपनि प्रशंशाका पात्र हुनेछन । यसरी उदाहरणीय रुपमा प्रशंशनीय पात्र बन्न सके आजकोे माननीय भोलीको सम्माननीय हुने कुरामा म कुनै शंका गर्ने ठाउँ देख्दिन । अहिले दार्चुलावाशी जनतामाझ माननीयको हैशियतले सफल सन्देशवाहक कार्यको थिति बसाल्दै भविष्यमा कसैलेपनि विर्सन नसकिने कम्तिमा एउटा अमिट छाप छोड्न सक्नुपर्दछ । जस्तो कि बीस वर्ष अगाडि एमालेले अघिसारेको आफ्नो गाँउ आफै बनाउ कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्था अहिलेसमेत पार्टीको लागी अविस्मरणीय छाप बन्न सकेको छ । अहिलेपनि हरेक वृद्ध, अपांग, असहाय तथा एकल महिलालाई तपाई भोट केमा दिनुहुन्छ भन्दा गर्वका साथ एमालेको नाम लिनु यसैको उपज हो । ठुला कार्यक्रमको अधुरो सुरवात गर्नभन्दा सानै कार्यपनि विवेकपुर्ण तरिकाले अविस्मरणीय बनाउन सके दार्चुलावाशी आम मतदाताहरुलाई  आउदा  निर्वाचनहरुमा भोट के मा ?भनेर सोध्नु पर्दैनथ्यो । यहि सन्दर्भमा विख्यात भारतीय अमेरिकी लेखक शिव खेरार्र्र्को विजेताहरु फरक काम गर्दैनन, उनीहरु सोही काम फरक ढंगले गर्दछन’ भन्ने भनाई जोड्नु सान्दर्भिक ठान्दछु । भारतीय सत्तासिन कांगेस र प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टी(विजेपि) लाई नामै नसुनिएका अरविन्द केजरीवालको आम आदमी पार्टीले डग्मगाउनु यसैको उदाहरण हो ।


अन्तमा, विजयी कमरेडलाई मैले यहाँ बारम्बार माननीय भनि सम्बोधन गरिरहदा समय परिस्थिति र कार्यव्यस्तताका वाबजुत चाहेरपनि यो सन्देश पढ्न वा सुन्न नभ्याउनुहोला तर सम्बन्धित निकाय,सरोकारवाला, पत्रकार वा सम्पुर्ण सम्मानित दार्चुलावाशीहरुले यो सन्देश माननीयको दैलोसम्म पु¥याउन सहयोग गर्नेछन भन्ने पुर्ण विश्वास गर्दछु किनकि यो मेरो मात्रै सन्देश नभई सबैको साँझा शुभ–सन्देश हो ।
                                             
( २०७० पौष २६ गतेको  दार्चुला सन्देशमा प्रकाशित)

No comments:

Post a Comment