Saturday, February 1, 2014

शहिद चिन्ने मापदण्ड

                                                                                                                             -कृष्ण महरा


राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अस्मिता जोगाउन प्राण बलिदान गर्ने वा जनतालाई निरंकुश शासनको चंगुलबाट मुक्ति दिलाउने संर्घमा जीवनको आहुति दिने वीर योद्धालाई शहीद भनिन्छ। सहादत प्राप्त गर्ने गौरवशाली कार्य पक्कै पनि सजिलो हुँदैन। वि.स. १९३३ फागुन २ गते राणाविरुद्ध आवाज उठाएका कारण लखन थापाले मृत्युवरण गर्नु पर्‍यो। भारतमा माहात्मा गान्धीले अहिंसात्मक सत्याग्रहका माध्यमबाट स्वतन्त्रता आन्दोलन चलाएर ब्रिटिस साम्राज्यलाई हाराबार बनाएकै बेला नेपालमा पनि राणाहरुको एकतन्त्रीय शासनबाट मुक्ति खोज्न जनता जुर्मुराउन थाले। त्यतिबेला निरंकुश राण शासनविरुद्ध बोल्नु कालको मुखमा जानीजानी पस्नुजस्तै थियो। त्यस्तो अवस्थामा पनि देशलाई राणाहरुको पञ्जाबाट छुटाई जनताको शासन कायम गर्ने उद्देश्यदे संगठन गर्नेहरूमध्ये शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई विसं १९९७ माघमा मृत्युदण्ड दिइयो। उनीहरूकै सहादतको सम्मान गदर्ैै माघ १६ गते राष्ट्रव्यापीरूपमा शहीद दिवस मनाइन्छ।



राजाले २०१७ सालमा प्रजातन्त्र अपहरण गरे। प्रजातन्त्र पुनर्प्राप्तिका लागी नेपाली जनताले लामो संघर्ष गरे। सयौँले प्राण दिए। अन्ततः वि.स.२०४६ सालमा भएको जआन्दोलनमा बहुदलीय प्रजातन्त्रको माग गर्दै जनसागर सडकमा उत्रियो। बीसौं युवाले त्यस आन्दोलनमा प्राण दिए। त्यसपछि २०६१ माघ १९ मा ज्ञानेन्द्रले पुनः जनताका हातबाट सत्ता खोसे। उनको निरंकुश सत्ताविरुद्ध नेपाली जनतो २०६२/६३ मा दोस्रो जनआन्दोलन गरे। यसमा पनि थुप्रै वीर नेपाली सपूतले सहादत प्राप्त गरे। दस वर्षे सशस्त्र विद्रोहका क्रममा ज्यान गुमाउनेको त सरकारसँग स्पष्ट तथ्यांक पनि छैन।

बर्सेनिजस्तै यसपटक पनि राष्ट्रप्रमुख, सरकारप्रमुखलगायत उच्च ओहदाका व्यक्तित्वहरूले 'ज्ञातअज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली' प्रकट गलौन् नै। देश र जनताका लागि प्राण दिनेहरू नै यसरी अज्ञात अवस्थामा हुन्छन् भने सर्वसाधारण जनताको हालत के होला? विश्वमा नेपालमात्रै यस्तो देश होला जहाँ ज्ञात भन्दापनि अज्ञात शहीद धेरै छन्।
पछिल्ला दिनमा शहीद शब्दलाई हलुका र सतही ढंगले लिने गरिएको छ। कुनै मान्छेको मृत्यु भइसकेको हो कि होइन भन्ने डाक्टरले प्रमाणित गर्न पनि नभ्याउँदै शहिद घोषणाको मागसहित राजमार्ग र बजार व्यवसाय ठप्पपारी बन्द र हड्ताल गरिन्छ। देश र जनताको भलाइका लागि प्राण त्याग गरेको हो भने त्यसरी आन्दोलन गरेर एउटालाई शहीद घोषणा गराउन अरु पनि शहीद बन्नुपर्ने अवस्था नआउनुपर्ने हो। हुनत, सरकारले नै शहीदको बलिदानको मूल्य १० लाख रुपियाँ तोक्ने गरेकोले पनि यस्तो अप्टेरो स्थिति सिर्जना भएको हो। विश्वमै सबैभन्दा बढी बन्द र हड्ताल हुने यस देशमा कोही त कालगति र परिस्थितिले मरेका हुन्छन्। तिनलाई क्षतिपूर्ती दिनु नराम्रो होइन तर मापदण्डबिनै शहीद घोषणा गर्ने काम भने सच्चा शहीदको अपमान हो।



हाम्रो देशमा करिब १५ हजार जतिलाई शहीद घोषणा गरिएको देखिन्छ । शहीद घोषणा गर्दैमा देश उभो लाग्ने त हैन रहेछ। वास्तविक शहीदको कदर र पहिचान गर्न अब गम्भीर हुनुपर्छ। मर्नु र शहादत प्राप्त गर्नु फरक हो। कसैले व्यक्तिगत रिसइबीका कारण भएको हत्यामा पनि लिएर शहिद घोषणा गराउने माग अब नगर्ने अवस्था सिर्जना गर्नुपर्छ। शहीद परिवारलाई १० लाख दिएर उनीहरुको सम्मान हुने होइन। शहिदको सपना पैसाले पूरा हुनसक्दैन। उनीहरुले जुन उद्देश्यका लागि प्राण अर्पण गरेका थिए, त्यही सपना पूरा गर्नु नै शहिदको वास्तविक सम्मान हुनेछ। 

शहीद देशको इतिहास रच्ने महान कर्मयोद्धा हो। वि.स. २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलिय व्यवस्था र २०६५ सालको संघीय लोकतान्त्रिक गणतन्त्र शहीदकै प्राणोत्सर्गबाट प्राप्त उपलब्धि हो। अझै पनि नयाँ संविधान सभाले देशको संक्रमण अन्त्य गरी तोकिएको समयमा नयाँ संविधान दिन नसके महान् शहीदको सपना पूरा हुने कुनै आधार भेटिनेछैन। शहीदहरुले क्षतिपूर्तिबापत राज्यबाट पैसा पक्कै खोजेका थिएनन्। उनीहरुले त देश र जनताको आर्थिक, सामाजिक, राजनीतिक हित र समृद्धिका लागि प्राण दिएका हुन्। तिनको बलिदानको सम्मान गर्न हुलको दबाब र सत्ताधारीको करकापमा जोसुुकैलाई पनि शहीदको संज्ञा दिनु उचित हुँदैन। को शहीद हो भन्ने निर्क्योल गर्ने स्पष्ट मापदण्ड बनोस्। वास्तविक शहीदले शहादतको सम्मान पाऊन्।



२०७० माघ १४ को नागरिक दैनिकमा प्रकाशित

No comments:

Post a Comment