Showing posts with label गृहजिल्ला. Show all posts
Showing posts with label गृहजिल्ला. Show all posts

Tuesday, November 21, 2017

दार्चुलाबासीहरुलाई पत्र

आदरणीय दार्चुलाबासी दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार साथै सेवाढोग,  
गृहजिल्ला दार्चुलास्थित #अपी हिमाल गाउँपालिकाका स्थानीयबासीहरुले उक्त गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राख्न माग गर्दै केही हप्ता अगाडी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको खबरले मेरो ध्यानाकर्षण भएको छ । स्थानीय आमाबुवा, दाजुभाई एवं दिदीबहिनीहरुले सरकारले उक्त निर्णय नसच्याए आगामी मङ्सिरमा हुने प्रतिनिधी सभा एवं प्रदेश सभाको निर्वाचन वहिष्कार गर्ने भन्ने कुराले अझ गम्भीर बनाएको छ ।  आफ्नो अधिकार प्रति सजग हुनुभएकोमा थोरै धन्यवाद दिंदै केही कुरा राख्न चाहन्छु, आशा छ धैर्यतासाथ पढ्नुहुनेछ र मनन गर्नुहुनेछ

-अधिवक्ता कृष्ण महरा 

पहिलो कुरा :
अपिहिमाल गाउँपालिका मात्रै होइन समग्र दार्चुला नै पिछडिएको क्षेत्रमा कायम गरिनुपर्छ भन्ने मेरो माग छ । अझ दार्चुलामात्रै नभई वास्तविक रुपमा पिछडिएका जुम्ला लगायत कर्णाली र सुदूरपश्चिमका केही जिल्लाहरु पिछडिएका छन् र पिछडिएको क्षेत्रमा कायम गरिनुपर्छ भन्ने आवाज निरन्तर रुपमा उठाउदै आएको छु

दोश्रो कुरा :
गास, बास, कपासको अभावमा भोकभोकै दिन गुजार्नुपर्ने कयौ स्थानीय तहहरुलाई पिछडिएको क्षेत्रमा कायम नगरिएको विरोधमा मैले नै यो बिषयलाई सम्मानित सर्बोच्च अदालतमासमेत पुर्याईसकेको कुरा यहाँहरुलाई सर्वविदितै छ । यस्ता विषयमा जनप्रतिनिधि लगायत स्थानीय जनताले लिनुभएको चाँसोलाई मैले नजिकबाट नियालीरहेको व्यहोरा पुनः अवगत गराउन चाहन्छु । सर्बोच्च अदालतले एकपक्षीय सुनवाई गर्दै विपक्षी निर्वाचन आयोग समेतलाई दार्चुला लगायतका कयौ स्थानीय तहहरुलाई पिछडिएको क्षेत्रमा कायम नगर्नुको कारणसहित उपस्थित हुन आदेश दिईसकेको छ ।

आदरणीय दार्चुलाबासी दाजुभाई तथा दिदीबहिनीहरु,
अहिले कतिपयले बुझेजस्तो २०६४ पश्चात् कर्णालीलगायत सुदूरपश्चिमका पिछडिएका क्षेत्रमा समेटिएका नौ जिल्लालाई हटाइएको होइन । ती जिल्ला सम्बन्धित कानुन संशोधन नहुन्जेल वा पिछडिएको क्षेत्रसँग सम्बन्धित कानुन नबनेसम्म पिछडिएकै क्षेत्रमा छन् र हुनेछन् । सरकारले गरेको पछिल्लो घोषणा प्रदेशसभा समानुपातिक निर्वाचन प्रयोजनको लागि मात्रै हो । यहाँहरुले उठाउनु भएको 'अपिहिमाल गाउँपालिकालाई अहिले नै पिछडिएको क्षेत्र घोषणा गर्नुपर्छ' भन्ने मागको सम्बोधन कथम्कदाचित हुने परिस्थिति आयोभने पनि अहिलेको सन्दर्भमा प्रदेशसभा समानुपातिक निर्वाचन प्रयोजनको लागि मात्रै हो, अन्य पिछडिएका नौ वटा जिल्लाहरुको जसरी पिछडिएको क्षेत्र अहिले कायम हुने होइन । त्यसका लागि अब बन्ने कानून र पिछडिएको क्षेत्र संसोधन हुँदा तपाइँ/हाम्रो माग सम्बोधन हुनुपर्दछ ।

प्रतिनिधित्वको सवालमा प्रदेश सभा निर्वाचनको लागि अहिले ती वास्तविक पछाडि परेका क्षेत्रहरूलाई नसमेटिएको कारण भोली पिछडिएको क्षेत्रसम्बन्धी कानून बन्दा पनि समेट्दैन कि भन्ने डर हो । जहाँसम्म आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने भन्ने छ, निर्वाचन बहिष्कार गरेर होइन निर्वाचनमा भाग लिएर जसले पिछडिएको क्षेत्रमा दार्चुला जिल्लालाई कायम गराउन आफ्नो पुरै शक्ति लगाउने प्रतिवद्दता गर्दछ, त्यस्तो दल वा नेतालाई आफ्नो अमुल्य मतद्वारा भोट दिई पठाउनु उपयुक्त हुन्छ । निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर र बलियो पक्ष हो, निर्वाचन विना न त हाम्रो अनुकुल कानून नै निर्माण हुन्छ न प्रतिनिधित्व नै ।  निर्वाचन वहिष्कारको सोचसम्म बनाउनु हुनेछैन भन्ने मैले आशा लिएको छु । निर्वाचनलाई वहिष्कार गरेर आफ्नो प्रतिनिधि नपठाई अरुको प्रतिनिधिले हाम्रालागि हामी अनुकुल कानून बनाईदेला भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । साथसाथै अस्तिमात्रै प्रधानमन्त्री शेर बहादुर देउवाले दार्चुला जिल्लाका केही स्थानीय तहहरुलाई पिछडिएका क्षेत्रमा कायम गराउने प्रतिवद्धतासमेत जनाउनु भएको छ


आदरणीय दार्चुलाबासी दाजुभाई तथा दिदीबहिनीहरु,  
दार्चुला जिल्लाका केही स्थानीय तहलाई मात्र पिछडिएको क्षेत्रमा कायम गराउने भन्ने प्रधानमन्त्री ज्यूको कुरामा म व्यक्तिगत रुपमा सहमत छैन किनकि दार्चुला जिल्लाको सम्पूर्ण क्षेत्र पिछडिएको क्षेत्रमा कायम गरिनुपर्छ तथापि यसले पनि कहिँ न कहीं सरकार संचालन गर्नेहरु सजग छन् भन्ने कुरामा थोरै भएपनि आश गर्ने ठाउ छ । निर्वाचन पश्चात बन्ने सरकार यो बिषयमा निश्चय नै सजग र सचेत हुनेछ भन्ने आशा लिएको छु । त्यसको लागि यहाँहरुको साथ, सहयोग र समर्थन रहनेछ भन्ने कुरामा विश्वस्त छु ।  
मार्मिक कुरा :
२७ असोज, २०७४ को दिउसो मात्रै काठमाडौँ आइपुगेको मैले 'सरकारले दार्चुला, जुम्ला  लगायत कयौ अति दूरदराजका बिकट क्षेत्रहरुलाई पाखा लगाउदै तुलनात्मक रुपमा सुगम जिल्लाका स्थानीय तहहरुलाई पिछडिएको क्षेत्रमा सूचीकरण गरेको कुरा थाहा पाएको थिए ।  कुनै बिषयको सामान्य जानकारी लिएर मात्रै त्यो बिषयलाई सर्बोच्च अदालतसम्म पुर्याउनु प्राय: असम्भव नै हुने गर्दछ तैपनि २८ गते मैले आफ्नो क्षमताले भ्याएसम्म तयारीसहित २९ गते सम्मानित सर्बोच्च अदालतसमक्ष रिट निवेदन दर्ता गराउन सके । रिट निवेदन दर्तापश्चात अझै चांडो दर्ता गराउन सकेको भए भन्ने आभाष म आफैलाई नभएको पनि होइन तर एक्लैको प्रयासले जतिसुकै गर्नखोजे पनि कम नै हुँदो रहेछ । एक कप चियासम्म नखाई सुदुर दार्चुला-जुम्ला लगायत पिछडिएको क्षेत्रको लागि सुदुर झापालीहरुले आफ्नो अति व्यस्त समयलाई थाति राख्दै सम्मानित इजलाशसमक्ष बोलिदिएको नेपालको इतिहासमै पहिलोपटक हो, दार्चुलाबासी सारा पाठकहरुलाई यो मार्मिक कुरा यसै लेखमार्फत जानकारी गराउन चाहन्छु  । अति व्यस्त अधिवक्ताद्वय स्वागत नेपाल र टिपी शर्मा कंडेल ज्यूले नचाहेको भए सर्बोच्च अदालतमा वहस गर्ने वकिलहरुको अति व्यस्त समय किन्न सक्ने हैसियत म सामान्य दार्चुलाबासीलाई थिएन । यो व्यस्त समय र आफ्नो विज्ञता र साथ/सहयोग/समर्थनको लागि म वहाँहरु दुवैजनाप्रति सदा ऋणी र नतमस्तक छु र रहनेछु ।

  
आदरणीय दार्चुलाबासी दाजुभाई तथा दिदीबहिनीहरु,  
यस बिषयमा सम्मानित सर्बोच्च अदालतको आदेश आउन बाकीं नै छ मैले सुरुमै सम्बन्धित सरोकारवालाहरुको साथ, समर्थन र सहयोग पाएको भए सायद आज परिस्थिति अर्कै हुनसक्थ्यो तैपनि म एक्लैको प्रयास र क्षमताले के कति सफल हुन्छु, यहाँहरुले यसैमा चित्त बुझाउनुहुनेछ भन्ने विनम्र आग्रह/अनुरोध गर्न चाहन्छु । आगामी दिनमा यहाँहरु सबैको दरिलो साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु  ।

अन्तमा, काठमाडौँको धुलाम्य शहरको व्यस्त जीन्दगी, दिनभरिको थकानलाई चटक्क छोडेर हरेक साँझ जन्मभुमी, प्यारो गाउँको याद नआएको कहाँ हो र, तर मातृभुमीसंगको भेट भनेजस्तो सहज र कहाँ छ र । भौतिक भेट असम्भव भएपनि भावानात्मक भेट सधै भइ नै रहनेछ । म पिछडिएको क्षेत्रसम्बन्धी न्यायिक लडाईकै कारण आफ्नो मत व्यक्त गर्न गृहजिल्ला दार्चुला आउन नसक्ने जानकारी दिदै बडो उत्साहित ढंगले शान्तिपूर्ण ढंगले आगामी निर्वाचनमा आफ्नो अमुल्य मत व्यक्त गरी आफ्नो सक्षम जनप्रतिनिधि छान्नुहुन म सबैमा अपिल गर्दछु । धन्यवाद  ।



                                                               अधिवक्ता कृष्ण महरा
                                                     दुहूँ गाउँपालिका वडा नं. ५ गरमोरा
                                                        हाल: पुतलीसडक, काठमाडौँ    

   






Thursday, October 26, 2017

पिछडिएको क्षेत्र सूचीकरण विरुद्द परेको रिटमा कारण देखाउ आदेश !

असोज २९ गते दायर गरिएको 'पिछडिएको क्षेत्र सूचीकरण' विरुद्द परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ  माननीय न्यायधीस ओम प्रकाश मिश्रको एकल इजलासले विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 
यसमा के कस्तो भएको हो ? निवेदकको मागबमोजिम रिट जारी गर्नु किन नपर्ने हो ? नपर्ने भए १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालय एवम् निर्वाचन आयोगलाई आदेश दिईएको छ । 

निवेदकको तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल र टिका प्रसाद कंडेलले वहस गर्नुभएको थियो सरकारले २१ जिल्लाका ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्रमा सुचिकरण गरेपछि कयौं पिछडिएका स्थानीय तहहरुलाई नसमेटिएको भन्दै अधिवक्ता कृष्ण महराले आईतवार सर्वोच्चमा रिट दर्ता गराएका थिए 

३० असोज २०७४  को दैनिकनेपाल.कममा प्रकाशित 

'पिछडिएको क्षेत्र सूचीकरण' विरुद्द सर्वोच्चमा रिट !

सरकारले हालै जारी गरेको पिछडिएको क्षेत्र सुचिकरणको बिरुद्धमा सर्वोच्चमा रिट परेको छ । आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका कर्णाली, सुदूरपश्चिमलगायत वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित गरेकाे भन्दै उक्त रिट परेकाे हाे । 

निर्वाचन आयोगद्वारा प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४को अनुसूची २ मा सुचिकृत पिछडिएको क्षेत्रको सूची वदर गरिपाउँ भनि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कृष्ण महराले आज उक्त रिट निवेदन दर्ता गराएका हुन् । 
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाईएको छ । मिति २०७४ असोज २ गते प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४ को अनुसूची २ मा विभिन्न प्रदेश अन्तर्गतका पिछडिएको क्षेत्रभनि विभिन्न २१ जिल्लाका ५७ स्थानीय तहलाई सुचिकृत गरिएको थियो । 
उक्त सुचिमा बाँकेको तरैनापुर, सिन्धुलीको हरिहरपुरगढी, मारिण गाउँपालिका, सुर्खेतको बराहताल, चौकुने गाउँपालिका, डोटीको आदर्श, पूर्वीचौकी गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका र बैतडीको शिवनाथ गाउँपालिकासमेत पिछडिएको क्षेत्रमा सुचिकृत भएपनि ती क्षेत्रहरुभन्दा अति नै विकट अझ भोकमरीले ग्रसित हुने र सधै राज्यबाट पछाडी पारिएको दार्चुला जिल्लाका कुनैपनि स्थानीय तहहरु पिछडिएका क्षेत्रमा पारिएका छैनन् ।
मागदावी :
प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४ को उक्त सूचीले सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले पिछडीएको क्षेत्रको नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न सकिनेनेपालको संविधानको धारा १८(३) ले व्यवस्था गरेको सकारात्मक विभेद र समावेशी राज्य व्यवस्था,धारा ४२(१) ले प्रदान गरेको आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित भई वास्तविक पिछडिएको क्षेत्रका नागरिकको मौलिक हनन् भएको निवेदकको दावी छ ।
निर्देशिकाको उक्त अनुसूची नेपालको संविधानको धारा ५१ को च,(२) अनुसार विकाशका दृष्टिले पछी परेका क्षेत्रलाई प्राथमिकता दिदै सन्तुलित, वातावरण अनुकुल, गुणस्तरीय दिगो रुपमा भौतिक पर्वाधारको विकाश गर्ने नीति राज्यको नीतिविरुद्द समेत् भएकोले कुनै अध्ययन, अनुसन्धान र तात्विक निष्कर्षबिनानै केन्द्रमा पहुँचको भरमा गरिएको प्रदेश अन्तर्गतका स्थानीय तहको सुची नेपालको संविधानको धारा १३३,(२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा आजैका मितिदेखि वदरको माग गरिएको छ । उक्त रिट निवेदनको भोली मिति २०७४ असोज ३ गते पेशी रहेको छ । निवेदकको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल, टिपी शर्मा कडेल लगायतले वहस गर्नेछन् 

     
२९ असोज २०७४ को नयाँपत्रिका दैनिकमा प्रकाशित
See more at :
ww.enayapatrika.com/2017/10/15/191834/

Sunday, February 2, 2014

अनुरोध र अपिल

 मिति२०७०-०३-०४
                              अनुरोध
श्री नेपाल सरकार, परराष्ट मन्त्रालय, 
काठमाण्डौ
                
                  बिषय- भारत सरकार लाई अनुरोधपत्र पठाईदिने बारे

उपरोक्त बिषय सम्बन्धमा भारतीय पक्ष ले धौलिगङ्गा जलबिधुत परियोजनाको बाध खोलेर दार्चुला जिल्ला सदरमुकाम बगाई सकेको कुरा जगजाहेरै होला । उक्त महाबिपत्ति आईलाग्नुमा भारतीय पक्ष ले धौलिगङ्गा जलबिधुत परियोजनाको बाध खोल्नु नै प्रमुख कारण भएको हुदा भारत सरकारसङ्ग नेपाल सरकारको माथिल्लो नि काय बाट नै पहल गर्नु आवश्यक देखिन्छ । 

अहिले सम्म दार्चुला सदरमुकाममा अरबौको छेति भैसकेको र अझैपनि जिल्ला प्रहरी कार्यालय, नेपाल टेलिकम, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायत लगायत दर्जनौ सरकारी कार्यालय तथा सदरमुकाम नै उच्च जोखिममा रहेको छ । यदि भारतीय पक्षले धौलिगङ्गा जलबिधुत परियोजनाको बाध बन्ध नगरिदिने हो भने सिङ्गो सुदुर पश्चिमको अस्तित्व नै सखाप नहोला भन्न सकिन्न 

दैवीय बिपतिको यस घडिमा पिडीतलाई सहयोग गर्नु नेपाल सरकारको दायित्वभित्र पर्द्छ । त्यसैले भारत सरकारलाई नेपाल सरकारको तर्फबाट अनुरोध गरिदिन हुन सादर अनुरोध गर्द्छौ । 
दैवीय बिपतिको यस घडिमा पिडीतलाई सहयोग गर्नु नेपाल सरकारको दायित्वभित्र पर्द्छ । त्यसैले भारत सरकारलाई नेपाल सरकारको तर्फबाट अनुरोध गरिदिन हुन सादर अनुरोध गर्द्छौ । 



निवेदकहरु 
सम्पुर्ण दार्चुलाबासीहरु तथा सुदूरपश्चिमेलीहरु
                                                                                                                                                                                                                                                                                                          मिति२०७०-०३-०४   
                               हार्दिक अपिल

       सुदुरपश्चिम विध्यार्थी मञ्च (तदर्थ समिति), त्रि.वि.काठमाण्डौ

सुदुरपश्चिम नेपालको दार्चुला जिल्लामा गत दुई दिनदेखिको अत्यधिक बाढिका कारण भ'एको भौतिक तथा मानवीय क्षतिप्रति सुदुरपश्चिम विध्यार्थी मञ्च (तदर्थ समिति), त्रि.वि.काठमाण्डौ अत्यन्त दुखि र मर्माहित भ'एको छ । 


सिमावर्ती भारततिर पक्कि बाध हुनु तथा नेपालतिर भने कच्चीबाध सम्म नहुनु र भारतीय पक्षले धौलिगङ्गा परियोजनाको बाध खोल्न नै उक्त छेतिको कारण हुनसक्ने दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले जनाएका छन ।

दैविय प्रकोपको यस दुखद घडीमा उद्दारमा खटिएका सम्पुर्ण सम्बद्ध निकायहरुलाई हार्दिक सम्मान तथा हौसला प्रदान गर्द्छु । महाकाली नदिको बहाव अझै अनियन्त्रित रुपमा आईरहेको र यसले अझैपनि ठुलो छेति गर्नसक्ने हुदा मानवीय छेति हुन नदिन म सम्पुर्ण दार्चुलाबासी आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुलाई सजग र सचेत रहन अनुरोध गर्द्छु ।

साथै पिडित तथा विस्तापित आदरणीय दार्चुलाबासीहरुलाई उचित तथा सुरक्शित स्थानतर्फ़ व्यवस्थापन गर्न जिल्लस्थित सुरक्षा निकाय, रेड्क्रस,दैबिप्रकोप उद्दार जिल्ला समिति, राजनैतिक दल तथा सङ्घ सस्था तथा सम्पुर्ण सरोकारवालाहरुलाई मेरो व्यक्तिगत तथा सुदुरपश्चिम विद्यार्थी मञ्च (तदर्थ समिति) त्रि.वि क़ाठमाण्डौको तर्फ़बाट हार्दिक अपिल गर्द्छु ।।।।।।


कृष्ण महरा
सह-सचिव
सुदुरपश्चिम विद्यार्थी मञ्च (तदर्थ समिति)
त्रि.वि क़ाठमाण्डौ, नेपाल

बाढीपीडितहरुको लागि जारी  विज्ञप्ति

वी.पी. र नेपाली कांगे्स दार्चुला


                           
                                                                                                            –कृष्ण महरा              
साहित्यमा वीश्वेश्वर प्रसाद र राजनितीमा वी.पी. का हैसियतले वहुचर्चीत शुभनाम सुन्दा जोकोही नेपालीले पनि शिर झुकाएर सम्मान गर्दछन चाहे ती कट्टर कम्युनिष्ट, राष्ट्रवादी वा नेपाली कांग्रेसका घोर विरोधी नै किन नहुन । त्योे अपार सम्मान उनको साहित्यिक सफलता वा पुर्वप्रधानमन्त्रीका हैसियतले हो भन्ने  तपाईमध्ये कसैको पनि त्यस्तो बुझाई छ भने त्यो भुलसिवाय अरु केहि हुनसक्दैन यद्दपि साहित्यमा उनको नाम सगरमाथाझै उचो नभएको भने होईन । यसरी वि.पी. भन्नेवितिकैै उनको सम्मानार्थ शिर झुक्नुमा उनमा पदलोलुपता र सत्तामोह पटक्कै नहुनु हो ।

 वि.पी. को व्यक्तित्वका सन्दर्भमा इतिहाँसका पानाहरु पल्टाएर हेर्ने हो भने  वि.स. २००३ मा जेलमा आजीवन कारावासको सजाय भोगिरहेका टंकप्रसाद आचार्यलाई पार्टी अध्यक्ष (प्रसिडेन्ट)बनाई  आफु कार्यवाहक अध्यक्ष मै बस्नु, सात  सालको क्रान्ती सफल भएपछिपनि प्रधानमन्त्री पदका लागी राजासमक्ष ज्यू हजुरी गर्न नतम्सिनु, वि.स. २०३३ सालमा राजा र प्रजाविच राष्ट्रिय मेलमिलापको नितीसहित देश र जनताकै लागी स्वदेश फर्कनु र वि.स.२०३७ सालको जनमतसङ्ग्रहमा बहुदलपक्षको अप्रत्यासित हारमापनि नतिजा सहर्स स्वीकारेर जनमतको सम्मान गर्नु उनलाई सम्मान गर्नुपर्ने कयौ कारणमध्ये केहि कारणमात्रै हुन ।

हुन त नेपाली कांग्रेसभित्रै राजाद्धारा प्रधानमन्त्री बन्न अनुरोध गर्दापनि प्रधानमन्त्रीको कुर्सीलाई अस्वीकार्दै  बहुदल पुनस्र्थापनामा आफ्नो ज्यानको आहुति दिने प्रजातन्त्रका पिता गणेशमान सिंह, पटक–पटक देशको प्रधानमन्त्री भईसक्दासमेत सम्पतिको नाममा बस्ने एउटा राम्रो घरसमेत नबनाएका सन्तनेता  कृष्णप्रसाद भट्टराई, दशवर्षसम्मको सशस्त्र दन्द्धले देश भस्म भईरहदा युद्धरत नेकपा माओवादीलाई शान्ती र लोकतन्त्रको बाटोमा ल्याउन सफल, देशमा सम्पुर्ण राजनैतिक दलहरुसंगको सहमति र सहकार्यबाट २४०वर्षे राजतन्त्रलाई फाली गणतन्त्र स्थापनार्थ दास्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता तथा देशकै अभिभावक गिरीजाप्रसाद काईराला र बारम्बार मन्त्री बन्ने सुवर्ण अवसरहरु आउदापनि पदप्राप्ति नै सर्वस्व नठान्ने त्यागी नेता  शुसिल कोईराला जस्ता इतिहाँस र वर्तमानमा समेत उतिकैै सम्मानित व्यक्तित्वहरु नजन्मेका होइनन तर वि.पी. कोईरालाका सामु वहाँहरुको उचाई त्यति छैन जति वि. पी. कोईरालाको छ ।

सारदा पत्रिकार्मा चन्द्रवदन’ लघुकथाबाट आफ्नो लेखन यात्रा सुरु गरेका विश्वेश्वर प्रसाद कोईरालाले एउटा राजनैतिक बन्दीको समयमा पनि हिटलर र यहुदी, तीन घुम्ती, नरेन्द्र दाई, बावु आमा र म, सुम्निमा, मोदी आईन र स्वेत भैरवीजस्ता बहुचर्चित कृतीहरुलाई साहित्याकार दिएर नेपाली साहित्यको क्षेत्रमा दरिलो ईट्टा थप्न सफल भए । नेपाली साहित्यमा पहिलोपटक फ्राईडको मनोविश्लेषणलाई भित््य्राई आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल कोईरालाका तिनै कृतिहरुले आज  नेपाली साहित्यअनुरागीहरुका मन मस्तिष्कमा रहन सफल भएका छन । यी सबै सुमार्गी देनहरु वि.स. २०१७ सालको शाही कु मार्फत सुन्दरीजलको काडेतारको चंगुलभित्र आठ वर्षसम्म फसार्ईदापनि नेपालमा प्रजातान्त्रीक समाजवादका प्रणेता जनप्रिय  वि.पी. जनता र राजनितीमा कत्तिपनि विचलित थिएनन भन्नेकुराका शाश्वत प्रमाणहरु हुन ।
कोईरालाको पहिलो साहित्यिक सहयात्री सारदा पत्रिका भएपनि राजनितीक यात्राभने वनारस हिन्दु विश्वविद्यालयको रमणिय राजनैतिक वातावरण नै भएको देखिन्छ । भारतमा व्रिटिस साम्राज्य विरुद्ध चलिरहेको राष्ट्रवादी आन्दोलन र भारत छोड आन्दोलनका बेला जेलसमेत परेका कोरालाको अन्तराष्ट्रिय राजनितीमा समेत राम्रो दखल थियो भन्ने कुरा आन्दोलनका सहकर्मी एवं भारतीय स्वतन्त्रता संग्रामका अग्रणी धरोहर महान्मा गान्धी, जवाहरलाल नेहरु, सुभाषचन्द्र बोस, राजेन्द्र प्रसाद र ईन्दिरा गान्धीसंगको  सहकार्यले समेत प्रष्टपार्दछ ।

भारतमा इष्टइन्डिया कम्पनी(व्रिटिस साम्राज्य) का विरुद्ध आन्दोलनले सफलता पाईरहेकै बेला नेपालमा पनि जहाँनिय राणाशासनविरुद्ध संघर्ष सुरु भईसकेको थियो । १०४ वर्षे राणा राज्यसत्ताको खिलापमा एकजुट भई जहाँनिय शासनविरुद्ध धावा बोलेकैले चारजना नेपाली आमाका वीर सपुतहरु प्रजातन्त्रप्राप्त नहुदै त्यतिबेलाका शासकको तारो बनिसक्दापनि प्रजातन्त्र ल्याईछाड्ने श्रदेय वी. पी. कोईराला निश्चयपनि त्यागी र सर्मपित राजनेता हुन भन्दा जोकोही नेपालीको छाति गर्वले फुलेर आउछ ।
जसरी भारतमा विश्वभरी नै कब्जा जमाएको इष्टइन्डिया कम्पनी(व्रिटिस साम्राज्य) लाई भारत छोड्न वाध्य बनाई आफुहरुको राज्य स्थापना भईसक्दापनि राष्ट्रपति वा प्रधानमन् त्रीको पदको सीमित कुर्सीमा नबसि राष्ट्रकै राजनेताको सिंहासनमा बसे सायद वी. पी. कोईरालाले पनि त्यही गान्धीवादी पाठबाट सिकेर हुनुपर्छ प्रजातन्त्र प्राप्त भएको झण्डै आठ वर्षसम्मपनि प्रधानमन्त्री पदका लागी राजालाई खुसामत नगर्नु वा कुनै त्यस्तो लविङ नगर्नु । पदलोलुपताको बारेमा नेपाली कांग्रेसको धरातल कस्तो थियो भन्नेकुरा राजा विरेन्दले वि.स. २०४६ सालमा नेता गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दापनि उहाँले आफुभन्दापनि सन्तनेता कृष्णप्रसाद भट्टराईलाई अगाडि सार्नुले प्रष्ट्याउछ । पदकै लागी मरिहत्ते नगर्ने त्यति राम्रो  इतिहाँस बोकेको नेपाली कांग्रेसको आज पदमाथीको हानथाप र रस्साकस्सिले कांगेसले कतै  वी. पी. को बाटो र गणेशमानको गोरटो त भुलेन भन्ने प्रश्न जताततै उठ्नु स्वभाविक हो । यो अवस्थामा त कांगेसले पद, कुर्सी, लाभ, स्वार्थ, घमण्ड, उन्माद, सबै त्यागेर गिरीजाबाबुले देखाएको सहमति, सहकार्य र एकताको मुल धर्मलाई शिरोपर गरी दोस्रो संविधानसभा २०७० मा जनताले कांगेसलाई चाहेर जिताएको नभई   माओवादीको संविधान निर्माण र दिगो शान्ती स्थापनाप्रति देखाएको आक्रोस देख्नेहरुलाई देखाउनुपर्ने हैन र ?

जहाँसम्म नेपाली कांग्रेस दार्चुलाको प्रसंग छ, मलाई कांगेसको पराजय हो जस्तो रत्तिपनि लाग्दैन । हुन त मैले यसो भनिरहदा नेपाली कांगे्रसप्रति आस्था र विश्वास गर्नुहुने सबैलाई चित्त दुख्नसक्छ तर मेरो मनसाय त्यो कदापि होईन अर्थ त्यसरी नलगाईयोस । कसैमाथी आक्षेप र कसैको मलिन हृदय देखेर झ्याली पिट्ने जस्तो घृणित काम म सोच्नसमेत सक्दिन । एक भोटमात्रै पनि बढि ल्याउनेले निर्वाचित हुने हाम्रादेशको संकुचित निर्वाचन प्रणालीले गर्दा निर्वाचनमा सहभागी भईसकेपछि लोकतन्त्रमा हारजीत हुनु कुनै अत्यासलाग्दो विषय होईन । अहिलेको निर्वाचनलाई सुक्ष्म अंकगणितीय हिसाबले ब्याख्या र विश्लेषण गर्ने हो भने ५२ र ४८ को अनुपातमा मात्रै मतविभाजन भएको देखिन्छ । निर्वाचनमा झिनो मतले नेकपा एमाले अगाडि देखिएपनि जनमतको हिसाबले त्यति ठुलो अन्तर देखिदैन । यसको मतलब के हो भने जनमत दुईटैको झण्डै बराबर जत्तिकै छ र जिम्मेवारी पनि बराबर नै छ ।

एनेकपा माओवादी र अन्य दलको कुनै जिम्मेवारी नै छैन भन्न खोजिएको होईन, उनिहरुपनि आ–आफ्नो क्षेत्रमा उतिकै जिम्मेवार छन । जिल्लामा जितेर जानेले मात्रै विकाश निमार्ण र प्रतिवद्धताहरु पुरा गर्नुपर्दछ भन्ने पुरातनवादी संकिर्ण सोच हो । यदि त्यसो हो भने आफुलाई विश्वास गरी मतदिने ४८% जनताको कदर र सम्मान गर्ने कि नगर्ने ?चाहे जितर खुसीयालीमा रमेका दल हुन वा हारेर हरेश खाएका दल नै किन नहुन, निर्वाचनमा भोट माग्दा जनाईएका प्रतिवद्धता र आश्वासनहरु पुरा गर्नैपर्छ, पुरा गर्न नसकिने आश्वासन दिनपनि हुदैन । बाडिपिडितहरुलाई बाडिएका चिल्ला सपना हुन वा दलित, विपन्न, वेरोजगार, युवा, पिछडिएकालाई देखाईएका आशाका त्यान्द्रा हुन, भोटमाग्दा कसम खानेहरुले पुरा नगरे कसले गर्छ ?त्यसको लागी टाढा जानैपर्दैन, नेकपा एमाले डडेलधुराका तारादत्त जोशी र एनेकपा माओवादीका खगराज भट्टलाई सम्झे पुग्छ जो अहिले नै जनताको माग पुरा गर्दै आगामी निर्र्वाचनमा सहयोगको आश खोजीरहेका छन ।   देशभर निर्वाचनको परिणामलाई धादली र षड्यन्त्रको नजरले हेरिदापनि दार्चुलामा निर्वाचनको हारजीतलाई त्यती सहज र सरल ढंगले स्वीकारिनु आफैमा पार्टी, भातृ संघ–संगठन, कार्यकर्ता र मतदाताहरुको आत्मसम्मानको विषय हो ।

ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांगेसका पार्टी प्रवत्ताको मात्रै अनपेच्छित निर्वाचन परिणाम भएको होईन, नेकपा एमालेका पनि महासचिव, सचिव र प्रचार विभाग प्रमुखहरुले अनपेच्छित मत परिणाम भोग्नुप¥यो । एकिकृत नेकपा माओवादीको त झन के कुरा गर्नु । हारलाई हिनताको रुपमा होईन हारभित्रै जीतको सुनौलो सपना  देख्नेपनि हुदारैछन भन्नेकुराको पेरणादायी उदाहरण  नेपाली कांगेसका केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला क्षेत्र नं. २ का  वर्तमान सभासद चन्द्र भण्डारी बनेका छन जसले पहिलो संविधानसभाको चुनावमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीसंग नराम्ररी निर्वाचन हारेका थिए र आज उनै नेकपा एमालेका विज्ञ एवं संविधान निर्माणका प्रमुख हिस्सेदार ज्ञवालीलाई उछिन्दै गुल्मीवासीको आशा र विश्वास जित्न सफल भएका छन । गुल्मीबाट आफ्ना प्रतिद्धन्द्धीलाई हराउनु मात्रै उनले आफ्नो कर्तव्य ठानेनन, संविधानसभाको पहिलो वैठक नबस्दै आफुले सभासदको हैसियतले पाउने सम्पुर्ण तलब र भत्तासमेत गुल्मीका अति गरिब र विपन्न बालबालिकाको शिक्षामा खर्चगर्ने गरी समिती समेत बनाईसक्नुले उनको उचाई छ सय एक माननीयहरुमध्ये सबैभन्दा माथी पुगिसकेको छ ।

सुन्दै सुनौलो लाग्ने यतिराम्रो कार्यले अति गरिब तथा विपन्न बालबालिकाहरुको भविष्य उज्यालो हुने त छदैछ, माननीयकोसमेत ठुलो छाति र भविष्य फराकिलो बनाईदिएको छ । यसले माननीयको आउदो राजनैतिक भविष्यमात्रै दुरदर्शी बनाएन, संविधानसभाको पहिलो वैठकका लागी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरभित्र पस्नुभन्दा अगाडि सम्पुर्ण छ सय माननीयहरुले एकपटक गुल्मीका सभासद चन्द्र भण्डारीलाई सम्झिन बाध्य तुल्यायो । सायद उहाँले पहिलो संविधानसभाको निर्वाचनको हारलाई हिनतामा परिणत गरेको भए निश्चय नै आज यो सफलता पाउनुहुनेथिएन । सभासदहरुका कुरा चल्दा आज चोक चोकमा चन्द्र भण्डारीको चमत्कारको चर्चापरिचर्चा चल्छ ।  यसले चुनाव हारलेपनि चन्द्र भण्डारीजस्ता निष्कलंक समाजसेवी जन्मिदारहेछन , हार मात्रै सर्वस्व स्वाहाहुनु होईन रहेछ भन्ने कुरा प्रमाणीत गरिदिएको छ । हामिले सोच मात्रै सकारात्मक गर्न सकेपनि धेरै हो, अवसरलाई चिन्न सक्नुपर्दछ ।  के थाहा अहिले थारै मत अन्तरले पराजयको नमिठो अनुभव भोलीको चन्द्र भण्डारी बन्ने सुनौलो अवसर पो हो कि ?

अन्तमा, नेपालको राष्ट्रिय राजनितीमा कांगेसले वी. पी र गणेशको दार्शनिक लाईन छोडेको आभास कसैले पनि गर्न नपरोस, दार्चुलाको सन्दर्भमा हारजीत ज–जसको भएपनि विकाश निर्माणका कार्यहरुमा सबैको हातेमालो होस भन्ने सबैको चाहना हो । जीतेर संविधानसभाबाट कुुर्सीमात्रै फाल्ने काम गरेका  विश्वेन्द्र पासवान, व्यापारका नाममा पासपोर्ट बेच्ने विश्वनाथ  र नयाँ गाडि नदिएको झोकमा सिडिओे कुट्ने करिमा बेगम जस्ता कलंकित सभासद बन्नुभन्दा  हारेर गोकर्ण विष्ट बन्दापनि वाह वाह त कमाउन सकिदो रैछ नि त हैन र ?

                                 


२०७० माघ ५ को दार्चुला सन्देश दैनिकमा प्रकाशित








Saturday, February 1, 2014

संस्थागत, सरकारी विद्यालय र परिक्षा


                                                   
                                                                                    –कृष्ण महरा

हाल नेपालमा संस्थागत र सरकारी विद्यालयहरुको गुणस्तर र नतिजामा यति ठुलो अन्तर आउनुमा संस्थागत विद्यालयमा झण्डै चार वर्ष अध्यापनको मेरो अनुभवको निष्कर्ष के छ भने संस्थागत विद्यालय पढ्ने विद्यार्थीको आर्थिक, सामाजिक एवं शैक्षिक धरातल राम्रो, शिक्षित अभिभावक, उचित शैक्षिक वातावरण, त्यस्तै धरातल भएका साथी सहपाठी र  आवश्यक शैक्षिक सामग्रीको राम्रो उपलब्धता छ । विद्यालयको पनि अविछिन्न पढाई, शिक्षकहरुको निगरानी, अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको पढाईप्रति चासो र चिन्ता, नियमित अभिभावकहरुकोे भेला र वैठकसंगै गतिलो अत्याधुनिक भौतिक व्यवस्थापन छ । अभिभावकहरुलाई आफ्नो बालबालिकाको  पढाई सम्बन्धमा व्यक्तिगत, सामुहिक वा गोप्य र लिखीत वा मौखिक प्रश्न उठाउने हक विद्यालयले प्रदान गरेको हुन्छ ।

परिक्षाको सवालमा सामान्य संस्थागत विद्यालयले युनिट टेष्ट, सप्ताह टेष्ट, मन्थली टेष्ट,त्रैमासिक, अद्र्धवाषिक, प्रि–वोर्ड(९ महिनामा) र बार्षिक परिक्षा गरी कम्तिमा ६ पटक विद्यार्थीको उपलब्धी परिक्षण गर्ने गर्दछ । यद्दपि यति धेरै परिक्षाको बोझले विद्यार्थीमा पर्ने मानसिक असर छदैछ ।  यसको ठिक विपरित सरकारी विद्यालय पढ्ने विद्यार्थी आर्थीक, सामाजिक एवं शैक्षिक रुपले खस्किएको धरातलबाट गुज्रीएको छ । निश्चय नै उसको घुलमिल र सहकार्य निम्न घराना र हैसियत भएका सहपाठीहरुसंग छ । कतिपय अभिभावकलाई विद्यार्थीलाई नभई नहुने अत्यावश्यक सामग्री पेन्सील र इरेजर को  अभावले घरिघरी पिरोल्छ । अभिभावकहरुलाई  बालबालिकाको पढाईप्रति चासो र चिन्ता त के विद्यालयसमक्ष जिज्ञासा राख्नुसमेत आफ्नो कर्तव्य हो जस्तो ठान्दैनन । अर्कोकुरा धेरैजसो ग्रामिण विद्यालयहरुमा अभिभावक भेला विद्यालय व्यवस्थापन समितीको अध्यक्ष कसको पोल्टामा पार्ने भन्ने चुनावको दिनबाहेक विद्यालयको शैक्षिक प्रगति र बालबालिकाहरुको पढाईको बारेमा छलफल गर्न अभिभावक भेला गराएको मैले अहिलेसम्म देखेको छैन ।

 यदि उक्त विषयवस्तुमा छलफल गर्न कुनै विद्यालयले अभिभावक भेला डाकिहालेपनि सीतिमिति अभिभावकहरु वैठकस्थल सम्म पुग्न चाहदैनन । उनिहरुलाई आफ्नो बालबालिकाको बारेमा विद्यालय र शिक्षकहरुसामु प्रश्न र जिज्ञासा राख्ने स्वतन्त्रता नभएको होइन, यसमा अभिभावकहरुकै दिलचस्पीको अभाव हो । परिक्षाको नाममा त झन  सरकारले नै उदार कक्षोन्नती निती अंगालेर विद्यालय शिक्षाका तिनओटै पक्ष(शिक्षक,विद्यार्थी, अभिभावक) लाई हाईसञ्चो गराईदिएको छ ।
उदार कक्षोन्नती निती भनेको यि तिनओटै पक्षहरुलाई कम मेहनत र परिश्रम गर्न होईन , जति परिक्षा मार्फत कक्षोन्नती  प्रणालीमा मेहनत गर्नुपर्दछ, यसमा पनि उतिकै लगावको आवश्यकता पर्दछ । तर हाम्रो देशमा शिक्षक, विद्यार्थी र अभिभावकले परिक्षाको फेजआउटलाई अर्कै तरिकाले बुझिदिनाले यसको प्रतिफल सोचेजति फलदायी हुन सकिरहेको छैन ।

एउटा रोचक कुरा त के देखियो भने सरकारी विद्यालयमा आफ्नो बच्चा पढिरहदा रत्तिभर उसको पढाईप्रति चासो नदिने अभिभावक संस्थागत विद्यालयमा आफ्नो बच्चा छिराउनासाथ  अत्यन्तै चासोका साथ नियमित विद्यालयमा खबरदारी गर्दै घरमा पनि बालबालिकाको पढाईप्रति खुब चाँसो दिन थालेको दृश्य । किन र कसरी सरकारी विद्यालयको अभिभावक छदा मौन बसेको व्यक्ति एकाएक संस्थागत विद्यालयको अभिभावक बन्दैमा सचेत र चिन्तित हुन पुग्यो ? यो प्रश्न आम अभिभावक, विद्यार्थी, शिक्षक, शैक्षिक क्षेत्रका उच्च प्रशासक, बुद्धिजिवी एवं सम्पुर्ण नागरिक समाजले गहिरिएर व्याख्या र विश्लेषण गर्नु जरुरी छ ।

सरकारले सित्तैमा दिएको बहुमुल्य औषधिभन्दा निजी क्लिनिकमा पैसा हालेर किनेको औषधी विरामीलाई प्यारो लागेजस्तै सरकारी विद्यालयप्रति यसरी सचेत अभिभावक नै मौन रहनुले सरकारी विद्यालयमाथी विश्वास कम  भएको बुझिन्छ । सरकारी विद्यालयमा पनि अब्बल विद्यालय, उत्कृष्ट व्यवस्थापक र शिक्षक नभएका होईनन, तिनीहरुलाई संस्थागत विद्यालयमा जस्तै सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक, प्रशासक, बुद्धिजिवी  तथा सम्पुर्ण सचेत नागरिकहरुको साथ र विश्वास चाहिन्छ ।

परिक्षाको मामलामा सरकारले नेपालजस्तो गरिब र अति कम विकसित देशको एस.एल.सी. परिक्षापुर्ण लिईने प्रारम्भिक टेष्ट परिक्षा लिन नपाईने निर्णय गरेर देशको शिक्षा क्षेत्र  अविकसित नभई विकसित भईसकेको सन्देश दिन खोजेको छ । नेपाल सरकारको टेष्ट परिक्षाले विद्यार्थीहरुमा डर, भय र फेल हुने सन्त्राससंगै  उनिहरुको मनोविज्ञानमा असर पार्ने, उनीहरुको मनोबल खस्ने र एस.एल.सी. परिक्षाको राष्ट्रव्यापी नतिजामा प्रभाव पार्ने हुनाले आफुहरु यो निर्णय लिन वाध्य भएको तर्क छ । यो एकदमै सकारात्मक मात्र नभई विद्यार्थीहरुलाई भयमुक्त मनस्थिति र वातावरणमा शिक्षण सिकाई र उपलब्धीको मापन गर्नुपर्दछ भन्ने आधुनिक सिकाई सिद्धान्तमा  आधारित अन्तराष्ट्रिय मापन हो ।

 अरु क्षेत्रमा त्यति धेरै प्रगति गर्न नसकेपनि शिक्षा क्षेत्रमा भने अन्तराष्ट्रिय मान्यता नेपालमा भित्रिनु पक्कैपनि बालअधिकार र बालकेन्द्रित वातावरणमा सिक्न पाउने उनिहरुको अधिकार सुनिश्चित गर्न खाजेको देखिन्छ । विकसित देशहरुमा यसरी पेपर पेन्सिल टेष्ट लिएर पास र फेल छुट्याइनु अपराधसरह मानिन्छ । नेपालले पनि त्यही सिको गर्दै परिक्षालाई बालमस्तिष्क र अधिकारसंग जोड्दै भविष्यमा नेपाल हाक्ने आजका बालबालिकाहरुमा  कस्तो शिक्षा र व्यवहार स्थापित गर्ने भन्ने वहस चलाउनु स्वभाविक हो । तर नेपालकोे शैक्षिक, आर्थीक, सामाजिक, साँस्कृतिक, धार्मिक एवं भौगोलिक परिवेशमा उक्त प्रावधान कतिको उपयुक्त र अनुपयुक्त छ भन्ने वहस पनि संगसंगै चलाइनु पर्दथ्यो ।

राष्ट्रिय जनगणना वि.स. २०६८ को तथ्यांकले के देखाउछ  भने नेपालको ८२.९३ प्रतिशत जनसंख्या ग्रामिण क्षेत्रमा बसोबास गर्दछ र कुल जनसंख्याको ३४.१ प्रतिशत जनसंख्या पुरै निरक्षर छ । अझ साक्षरभित्र पनि शिक्षितहरुको संख्या त ज्यादै थोरै छ ।  यस्तो अवस्थामा टेष्ट परिक्षा नै नदिई वोर्ड परिक्षा दिन पाउने प्रावधानले परिक्षाको बेला मात्रै पढ्नुपर्छ र बालबालिकाहरुलाई पढ्न दिईनुपर्दछ अरु समय त घरको काम गराउनुपर्दछ भन्ने मनोसामाजिक परिवेश भएको हाम्रो देशमा त्यती सान्दर्भिक र फलदायी नहुन सक्दछ ।   विकसित देश वा  नेपालकै पनि  शहरी क्षेत्रमा जस्तो घरको काममा नसघाई पुरै समय पढाईमै न बालबालिका दिन सक्छन न अभिभावक नै । परिक्षा हुने र सो परिक्षा पास नगरे वोर्ड परिक्षामा सहभागी हुन नपाउने हुदा परिक्षाकै समयमा भएपनि पढ्न पाउने÷दिने कतिपय विद्यार्थी र अभिभावकले परिक्षाबिनै वार्ड दिन पाउने भनेपछि त बोझ हटेको महशुस गरेका छन ।

अर्को कुरा विद्यार्थीहरुलाई पनि परिक्षा आएपछि मात्रै पढ्नुपर्छ भन्ने बालमानसिकताले जरा गाडेको देखिन्छ । मैले टेष्ट परिक्षा लिईनुहुदैन भन्ने सरकारी निर्णय कतिको सान्र्दभिक र उपयुक्त छ भन्ने बारेमा केही कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको बारेमा बुज्दा परिक्षा नै हुदैन, के पढ्नु र भन्ने भावना विम्बित भएको भेट्टाए ।  यो निर्णयले विद्यार्थी र शिक्षकहरुले बोझ घटेको मात्रै महशुस गरेनन, कतिपय शिक्षकहरु समेत यो निणर्यप्रति हर्षित देखिए ।
उदार कक्षोन्नतीलाई विद्यार्थीको उपलब्धि नै परिक्षण नगरी कक्षा चढाउनुपर्छ भन्ने बुझेका सम्मानित शिक्षकहरुले परिक्षा नै नहुने भनेपछि त्यति कडा मेहनत र परिश्रम गरी पढाउनैपर्ने वाध्यता नदेख्नु स्वभाविक हो । कतिपय हिमाली र पहाडि जिल्लाहरुमा शैक्षिक शत्र सुरु भएको छ महिना सम्मपनि अतिरित्त सामग्री त के पुग्थ्यो, पाठ्यपुस्तक समेत पुगेको हुदैन, त्यस्ता विद्यालयमा निर्धारित समयमा कोर्ष पुरा हुने कुरा  कल्पना गर्नु आकासे दरबार बनाउने दिवास्वप्न सरह हुन्छ । परिक्षाको दिन आईसक्दापनि कोर्स पुरा नभएको विद्यार्थीले सोझै वार्डमा पुगेपछि कस्तो नतिजा ल्याउला सबैले बुझेकै कुरा हो । हो, परिक्षाको भयबाट विद्यार्थीलाई टाढै राखि टेष्टपरिक्षाको फेजआउट र उदार कक्षोन्नतिको निर्णय पक्केपनि आफैमा उत्कृष्ट प्रयास मात्रै होईन, अधिकारमा आधारित शिक्षण सिकाई प्रणाली पनि हो । तर नेपालजस्तो समस्यै समस्याको थुप्रो भएको देशमा यसको प्रभावकारिता कतिको उपलब्धिपुर्ण होला भनेर एकपटक गहिरो ढंगले नसोचिएको भान सबैलाई भएकै हुनुपर्छ ।

 नेपाली समाजले पढाईलाई परिक्षासंग जोडेर हेर्दछ भन्ने कुरा सबैले बुुझ्न सक्नुपर्दथ्यो । सरकार एकातर्पm विश्वस्तरको प्रतिस्पर्धामा सरकारी विद्यालय पढेको विद्यार्थी सफल हुन सकेन अब सबै विद्यालयले अंग्रेजी माध्यममा पढाई हुनुपर्दछ पनि भनिरहेको छ भने अर्को तर्फ प्राथमिक तहमा विद्यार्थीहरुले बुज्न सकेनन मातृभाषामा पढाइनु पर्दछ, परिक्षा प्रणाली हटाई उदार कक्षोन्नती पनि लागुहुनुपर्दछ समेत भनिरहेको छ , यो अवस्थामा नेपालको समग्र स्थितिको सुक्ष्म ढंगले व्याख्या गर्ने हो भने कुनैपनि कदमले सोचेअनुरुप प्रतिफल हाशिल नगर्ने लगभग निश्चित छ ।

अन्तमा, सरकारी विद्यालय खत्तम पनि होईनन , निजी विद्यालय भनेका जादुका छडि पनि होईनन   भन्ने कुरा  सबैले बुज्नु जरुरी छ । शैक्षिक विकाशमा सरकारी र संस्थागत विद्यालयको योगदान बराबर छ । यो कुरालाई सरकारले समेत बुझेर संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मार्फत विगत ५ वर्षमा प्रवेशिका परिक्षामा ८०% भन्दा बढि उत्तिर्ण गराउने संस्थागत विद्यालयहरुले कम्तिमा दुईवटा समान तहको सामुदायिक विद्यालयहरुसंग सहवरण गरि शैक्षिक एवं व्यवस्थापकिय सुधार गर्नुपर्ने व्यवस्था गरिसकेको छ । सरकारले अंगाल्न खोजेको परिक्षाको डर र त्रास अन्त्यको अभियान निश्चय नै अन्तराष्ट्रिय शैक्षिक प्रयोग  हो यसमा कुनै शंका छैन तर नेपालको विद्यमान आर्थीक, सामाजीक र शैक्षिक परिप्रेक्ष्यमा यसले के कति प्रतिफल दिने भन्नेकुरा मुख्य हो ।


२०७० माघ १२ को दार्चुला सन्देशमा प्रकाशित







माननीयको अबको बाटो


                                                       
                                                                                                                                –कृष्ण महरा

सधैको मंशिर झै २०७० को मंशिरपनि सिरेटो र चिसोसंगै आरम्भ भयो । प्रकृतिको समयसारणीभित्र तापक्रमको सुचक त्यतिमाथिसम्म नल्याउने मंशिर यसपालि भने आम जनमानसमा भित्रैदखि हर्ष र उल्लासको न्यानोपना छरिरहेको देखिन्थ्यो । पहिलो संविधानसभा संविधान विना नै अवशान  भएको पिडा दोस्रो संविधानसभाको निर्वाचन घोषणा संगसंगै कम भई निर्वाचनको तिथि मुखैमा पुग्नु देशव्यापी जनमानसको हर्षोल्लासको कारक थियो । जहाँसम्म दार्चुलामा दोस्रो संविधानसभा निर्वाचन पुर्वसंध्याको विषय छ, दार्चुलावाशी जनसमुदाय कांगे्रस केन्द्रिय सदस्य एवं पार्टीप्रवक्ता तथा पुर्वमन्त्री दिलेन्द्र प्रसाद वडूलाई भोट दिने वा नेकपा एमाले युवा नेता क. गणेशसिंह ठगुन्नालाई भोटदिने वा विगतको संविधानसभामा सबैभन्दा ठुलो दल बनेको एनेकपा माओवादीका नेता क. ललितसिंह ठगुन्नालाई भोटदिने भन्ने विषयमा द्धिविधामा नपरेका होइनन । निर्वाचनपश्चात मतगणना नसकिदा सम्मपनि कसले वाजी मार्ला त्यसै भन्नसक्ने अवस्था थिएन । आफ्नो राष्ट्रिय तथा पाटिभित्र स्थान जे–जस्तो बनाउन सकेपनि दार्चुलामा निर्विकल्प उमेद्धारको स्थान र पहिचान यीमध्ये कसैले पनि बनाउन सकेका थिएनन । निर्वाचन परिणामपछिको झिनो मतअन्तरले समेत यहिकुराको संकेत गर्दछ ।


त्यसै कौतुहलता र जिज्ञासाबिच नेकपा एमाले युवानेता क.गणेशसिंह ठगुन्नालाई दार्चुलावाशी जनताले विश्वास र भरोसाको मत दिए । वि.स. २०५४ सालको स्थानिय निकायको निर्वाचनमा जिविस सभापतिको हैसियतले कमरेडले लगाएको गुनले हो वा अहिलेसम्म व्यवस्थापिका संसदको निर्वाचनमा नेकपा एमालेले  पालो नपाएकोले हो वा अरुको परिक्षालिईसकेका जनताले कमरेडको पनि परिक्षा लिन हो, त्यो भने आउदो समयले नै बताउला तर जेहोस नेकपा एमाले दार्चुला र माननीय कमरेडलाई सुनौलो अवसर र जटिल चुनौतिको कठघरामा भने उभ्याएकै हो । यो कुरा सम्पुर्ण पार्टीपंति र विजयी माननीयले राम्ररी बुज्नुपर्दछ । मंशिर ४ पुर्व उहाँ पार्टीको एक जिम्मेवार नेता तथा पुर्व जिविस सभापति मात्रै हुनुहुन्थ्यो । अब उहाँ त्यतिमात्रै हुनुहुन्न, पुरै दार्चुलावाशीको सफल नेतृत्वकर्ता तथा अभिभावक हुनुहुन्छ । आज उहाँ नेता, नेतृत्वकर्ता हुदै अभिभावक तथा माननीय भईसक्नुभएको छ । फरिदो परिचय संगसंगै उहाँको कर्तव्य र जिम्मेवारीसमेत फरिएको छ । आश गरौ कि सम्पुर्ण दार्चुलावाशीहरुको आशा, भरोशा र विश्वासलाई कमरेडले गुम्नदिनुहुने छैन ।

पार्टिप्रति कार्यकर्ताको लगाव, वलियो संगठन र आम मतदाताको कमरेडमाथीको विश्वास नै उक्त जीतको आधार हो । गुट र उपगुटको महामारीले  सताएको नेपाली राजनितीमा नेकपा एमालेपनि उक्त रोगबाट अक्षुण रहन सकेको छैन । त्यहि केन्द्रिय स्तरमा लागेको रोगको लक्षण दार्चुलामापनि नदेखिएको होईन । दार्चुलाबाट नेकपा एमालेको कुनैपनि उमेद्धवार समानुपातिकको वन्दसुचिमा नपर्नुले एउटा पक्ष निराश र रुष्ट देखिएकै हो जुन स्वभावतहः देखिने गर्दछ । दार्चुलाबाट यहि गुटको अन्त्य गर्न सक्नु वा दुवै पक्षको विश्वास जित्नसक्नु माननीयको एउटा कर्तव्य हुनेछ । पार्टीभित्र र राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन हरेक ठाँउमा आफुुलाई बलियो रुपमा प्रस्तुत गर्नसक्नु उहाँको अर्को महत्वपुर्ण पक्ष हो । गत संविधानसभामा पार्टी तेस्रो स्थानमा खुम्चिनुपरेको अवस्था र विपक्षीहरुले नेपालमा एमाले भन्ने पार्टी नैै छैन भनिरहदा आफ्ना लेख,रचना, विचार र विज्ञतामार्फत आज पार्टीलाई देशकै दोस्रो ठुलो दल बनाउन सफल प्रदिप नेपाल, भीम आचार्य तथा अग्नि खरेलजस्ता विज्ञहरुबाट माननीय मात्र नभई जोकोहि एमालेप्रति आस्थावान व्यक्तिले पाठ सिक्नैपर्ने हुन्छ ।  चुनाव हारेर पनि नेकपा एमाले प्रदिप ज्ञवाली र गोकर्ण विष्टहरु जन्माउने पार्टि हो भन्ने कुरा माननीयले कदापि भुल्नुहुदैन । जनताका मागहरु एकैचाटि शतप्रतिशत पुरा गरिनुपर्छ भन्ने हाम्रो आम आशय किमार्थ होईन तर त्यसको सुरवात र स्पष्ट नीति भने अवश्य बसालिनु पर्दछ । के थाहा जनताले यस्तो अवसर सधैँभरी दिईरहन्छन भन्ने के ग्यारेन्टी छ र ? यो माननीयको परिक्षापनि त हुनसक्छ नि ।


माननीयले दार्चुलाको विकाशमा धेरै समस्या, जटिलता र चुनौतिहरु अवश्यपनि देखेको हुनुपर्दछ तर चुनौतिका बाबजुतपछिको सफलताको स्वाद र वाहवाह कति मिठो हुन्छ भन्ने कुरापनि भुल्नुुहुदैन । हरेक सफलता र विजयका पछाडि चुनौतिका संगिन अप्ठ्याराहरु हुनु विश्वप्रसिद्ध राजनेताहरुको आत्मवृतान्तले बताउछ ।  एमाले पार्टी स्थायी समितिले उर्जा मन्त्रालय विशेषगरी विद्युत प्राधिकरणमा रहेका समस्या र चुनौति देखेरै स्थानिय विकाश मन्त्रालय दिने सोच बनाइरहदा स्वयम गोकर्ण विष्टले समस्याको सुनामीभित्रै सफलताको सुत्रपात गरेकोले आज जोसुकैले पनि एमालेभित्र गोकर्ण विष्टको नाम गर्वका साथ लिने गर्दछन । हुन त गोकण विष्ट बन्न जोकोहिलाई सजिलो नहुन सक्दछ तरपनि अहोरात्र प्रयासरत रहे असम्भव भन्नेकुरा पनि त छैन नि, होइन र ? निश्चित क्षेत्रको मात्रै विकास वा कसैको व्यक्तिगत स्वार्थको मात्रै उठान माननीयको लागी नराम्रो नजिर बन्नसक्छ तर त्यसो भन्दैमा आफ्नो ज्यानको आहुतिदिई अहोरात्र खटिने स्वाभिमानहरुको मनोबलपनि गिर्न दिनुहुदैन ।  बाढिपिडितहरुको समस्या समाधान, जिल्लाको आर्थिक,सामाजिक, शैक्षिक, एवं समग्र क्षेत्रको समानुपातिक विकाश, सिमा समस्या समाधान,  गाँउस्तरमा दरिलो उपस्थिति तथा बलियो जनसम्पर्क स्थापना गर्नु नेकपा एमाले दार्चुलाको आगामी योजनाभित्र समेट्नु बुद्धिमता हुनेछ । दार्चुलावाशीको वैचारिक र भावनात्मक मागलाई संविधानसभामा पु¥याउन हरसम्भव प्रयत्नशील रहनु माननीयको प्रशंशाको विषय रहनेछ । कतै आफ्नो मतआधार बलियो भएको क्षेत्र र स–साना कम महत्वका काममा अल्झिई प्रेमसिंहको पुनरागमन देख्नेहरुलाई माननीयद्धारा सकसमा पारिने त होईन भन्ने प्रश्न आज जताततै चर्चा र परिचर्चाको विषय बन्नपुगेको छ ।

पहिलो संविधानसभामा जनताको अभिमत लिएर गएकाहरुमध्ये कतिले नाम कमाए, कतिले दाम कमाए र अझ कतिले त वदनाम समेत कमाए । दाम र वदनाम कमाउनेहरुको हविगत दोस्रो संविधानसभाले देखाइसकेको छ । यो संविधानसभामा पनि जनताको आशा र अभिलासालाई विर्सेर रातारात दाम र सुन्दै अत्यासलाग्दो वदनामको पगरी भिर्नेहरुको हालत नजिकै आइरहेको स्थानीय निकायको निर्वाचनले स्वतः देखाउनेछ । यी र यस्ता कुराहरुप्रति सजग र सचेत माननीय संविधानसभा अवधि र त्यसपछिपनि प्रशंशाका पात्र हुनेछन । यसरी उदाहरणीय रुपमा प्रशंशनीय पात्र बन्न सके आजकोे माननीय भोलीको सम्माननीय हुने कुरामा म कुनै शंका गर्ने ठाउँ देख्दिन । अहिले दार्चुलावाशी जनतामाझ माननीयको हैशियतले सफल सन्देशवाहक कार्यको थिति बसाल्दै भविष्यमा कसैलेपनि विर्सन नसकिने कम्तिमा एउटा अमिट छाप छोड्न सक्नुपर्दछ । जस्तो कि बीस वर्ष अगाडि एमालेले अघिसारेको आफ्नो गाँउ आफै बनाउ कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्था अहिलेसमेत पार्टीको लागी अविस्मरणीय छाप बन्न सकेको छ । अहिलेपनि हरेक वृद्ध, अपांग, असहाय तथा एकल महिलालाई तपाई भोट केमा दिनुहुन्छ भन्दा गर्वका साथ एमालेको नाम लिनु यसैको उपज हो । ठुला कार्यक्रमको अधुरो सुरवात गर्नभन्दा सानै कार्यपनि विवेकपुर्ण तरिकाले अविस्मरणीय बनाउन सके दार्चुलावाशी आम मतदाताहरुलाई  आउदा  निर्वाचनहरुमा भोट के मा ?भनेर सोध्नु पर्दैनथ्यो । यहि सन्दर्भमा विख्यात भारतीय अमेरिकी लेखक शिव खेरार्र्र्को विजेताहरु फरक काम गर्दैनन, उनीहरु सोही काम फरक ढंगले गर्दछन’ भन्ने भनाई जोड्नु सान्दर्भिक ठान्दछु । भारतीय सत्तासिन कांगेस र प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टी(विजेपि) लाई नामै नसुनिएका अरविन्द केजरीवालको आम आदमी पार्टीले डग्मगाउनु यसैको उदाहरण हो ।


अन्तमा, विजयी कमरेडलाई मैले यहाँ बारम्बार माननीय भनि सम्बोधन गरिरहदा समय परिस्थिति र कार्यव्यस्तताका वाबजुत चाहेरपनि यो सन्देश पढ्न वा सुन्न नभ्याउनुहोला तर सम्बन्धित निकाय,सरोकारवाला, पत्रकार वा सम्पुर्ण सम्मानित दार्चुलावाशीहरुले यो सन्देश माननीयको दैलोसम्म पु¥याउन सहयोग गर्नेछन भन्ने पुर्ण विश्वास गर्दछु किनकि यो मेरो मात्रै सन्देश नभई सबैको साँझा शुभ–सन्देश हो ।
                                             
( २०७० पौष २६ गतेको  दार्चुला सन्देशमा प्रकाशित)

गणेशको उदय : प्रेमसिहको पुनरागमन

                                                                            -कृष्ण महरा
चुनावी मतगणनाको तीब्र प्रतिस्प्रधा हेर्द्दा लाग्थ्यो दार्चुलामा पुर्वविजेता कम्युनिष्ट अर्थात २०५१ सालको विजेता नेकपा एमालेको विजय हेर्न अझै  केहि बर्ष कुर्नैपर्छ , तर मतगणना सुरु भएको झण्डै ४५ घण्टापछिको नतिजाले भने उक्त धोको पुरा होला जस्तो संकेत गर्यो निरन्तरता समेत पायो तर एकचोटि झण्डै साढे तीनसय मतले पछाडी समेत थियो भने , घरि  घट्ने घरि बड्ने प्रक्रियाले  ढुकढुकीको नियात्रा छिचोलिरहेको थियो

हुनपनि  नेपाली कङ्ग्रेश पार्टिप्रवक्ता सङ्गको  चुनावी प्रतिस्प्रधा भएकोले कुनै सामान्य व्यक्तिसग चुनाब लडेजस्तो निर्धकता गर्ने आट कसैमा पनि थिएन बेलाबेलामा सरकार तथा नेपाली काँग्रेसको राष्टियराजनितीमा राम्रै स्थान बनाउन व्यक्तिसगको चुनावी स्पर्धामा भयानक  टक्कर भएकैले पनि हुनुपर्छ यसलाई राष्ट्रिय राजनितीले समेत निकै चासो एव व्यग्र प्रतीक्षाका साथ नियालिरहेको थियो यतिबेलासम्मको चुनावी परिणाम हेर्दा नेपाली कांग्रेसको कुनैपनि केन्द्रियस्तरको नेतासग कसैलेपनि त्यतिठुलो चुनौति दिईरहेका थिएनन जति . गणेश सिह ठगुन्नाले दार्चुलाबाट दिईरहेका थिए नेपाली  कांग्रेसका तल्लो स्तरका नेतासमेत सजिलै फ़राकिलो मत अन्तरले विजय भईरहदा यहा माथिल्लो स्तरको नेतासग . गणेशको कडा पर्तिस्पर्धा ध्यान आकर्षणको अर्को मुख्य कारण थियो

दार्चुलाको चुनावी नतिजाको उतार-चढाव थाहा पाउने एकमात्र सजिलो माध्यम फ़ेशबुक भएकोले पनि हुनसक्छ परीक्षाको बाबजुत पनि चौबिसै घण्टा फ़ेशबुक छोड्न मनै  लागेन स्थानिय सञ्चारकर्मी साथीहरुको फ़ेशबुक अपडेटको पर्खाई नै कता-कता जीवनकै लामो मीठो प्रतिक्षाको घडि जस्तै महशुस भएको अनूभव स्वयमले गरिरहेको थिए
दार्चुलामा आज १९ बर्षपछि नेकपा एमालेले आफ़्नो कब्जा जमाएको ।आफ़्ना प्रतिदन्दि पुर्व मन्त्री एव नेपाली काङ्ग्रेश पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडूलाई १२३४ मतले पराजित गर्दै विजयी हुनुभएको यो ऐतिहासिक विजयप्रति सिङ्गो नेकपा एमाले पार्टीपंक्तिले समेत शिर उठाउने बलियो आधार हो, किनकि . प्रेमसिह धामीपछि नेकपा एमाले पार्टीलाई झण्डै १९ बर्ष कुर्नुपर्यो अथवा उहाको अभावमा एक जुझारु कर्मठ कम्युनिष्टको अनुपस्थितिको महसुश लामो समयसम्म महशुस गरिरह्यो यतिवेला जोसुकै दार्चुलाबाशी आदरणीय आमजनसमुदायले पनि बधाई तथा शुभकामनाका सुललित सुभेच्छाहरु व्यक्त गर्नु अस्वाभाविक नहोला

यो ऐतिहासिक  विजयले पार्टी उमेद्दवार दुवैलाई अवसर चुनौति दुवै सङ्ग  सहकार्य सङ्घर्श  को मध्यमार्गको बिचमा उभ्याएको देखिन्छ ।आशा यो अवसरको सदुपयोग चुनौतिको सहज ढगले सामना गर्नसक्ने अब्बल क्षमताको विजयी उमेद्द्वारले विवेकपुर्ण ढंगले प्रयोग गर्नेछन ।अवसरको ढोका खुलिसकेपछि चुनौतिलाई छिचोल्दै कतिसम्म अगाडि बड्नुहुञ्छ त्यो उहाको स्वविवेकको कुरा हो आजको दिनले फ़ेरि  पुरानो कम्युनिष्टको लालकिल्ला को झजल्को को पुनरागमन गराएको हाल निर्वाचित . गणेशसिह ठगुन्नाले पनि जनतालाई नै सर्वोपरि ठान्दै प्रेमसिह कै लाईन समाई अगाडि बड्ने दुरदर्शी योजना सो योजना मुताविक सम्पुर्ण पार्टिलाई अर्जुनद्रिष्टि दिन सके आफ़्नो अमिट छाप अविस्मरणीय रुमपा राख्न सक्ने कुरामा कुनि दुई मत छैन

तेत्तिस दलिय मोर्चाको ठुलो घटक निर्वाचन बाहिर रहनु तथापि निर्वाचनमा भाग लिएर समेत मतगणना मा असहमति जनाएको एकिक्रित नेकपा माओवादी, केहि मदेशबादी तथा अरु साना दरका  पछिल्ला नकारामक स्वरहरुको वाछिटा सम्बिधान निर्माणका क्रममा समेत नआउला भन्न सकिन्न त्यो भयो राष्टिय मुद्दाको कूरो ।बहुपहिचान सहितको संघीयता, आगामी पाच बर्षमा निरक्षरताको पुर्णत: अन्त, प्रतिवर्षको चार लाख श्रमशक्तिको उचित व्यवस्थापन पाच लाख घरवारबिहिन लाई आवासको व्यवस्था तथा प्रतिबर्ष तीन लाख रोजगारी स्रिजना गर्ने नेकपा एमालेका राष्ट्रिय प्रतिवद्दता छदैछनदार्चुलाबाट निर्वाचित जोसुकैलाई पनि गत असार गतेको भिषण बाडी त्यसको छेति नै पनि एक ठुलो चुनौतिको रुपमा खडा हुने मानवबस्ती वगरमा परिणत भएको दृष्यले छर्लंगै पारेको  

त्यसभन्दा बाहेकपनि नेकपा एमाले दार्चुलाले  जनतासामु भोटमाग्दा जनाईएका १० वटा प्रतिवद्दताहरु समेत कम महत्वाकाछि छैनन यद्दपि ति प्रतिवद्दताहरु भोलीनै पुरा गर्न सकिएलान   उक्त प्रतिवद्द्ताहरु एकैचोटि पुरा गर्न नसकेपनि कार्यान्वयनको प्रतिवद्द्तासहित स्पष्ट नीति योजना मात्रै बनाउन सकेपनि नेकपा एमालेको जीत लगभग चीरस्थायी हुनसक्छ भन्ने अड्कल गर्न सकिञ्छ उसो विगतका दिनहरुमा पनि बिजयी हुदै गाउ नफ़र्किदै गरेका थुप्रै अन्य उदाहरणहरु  अहिले जनताको नजरबाट खस्केको आभाश प्रमाणित  भैसकेको

अझै पनि दार्चुलालाई हालको अवस्थाभन्दा कतिपनि माथी उठाउन सकिएन भने नेकपा एमालेको जीत सार्थक भएको मान्न सक्ने आधारहरु नहुन सक्दछन यदि महाकाली बाढिले  बनाएका घाउहरुमा मल्हम, बहुचर्चित दार्चुला तिङ्कर सडकको  तीब्र विकाश, भारतिय सिमा क्षेत्रमा हुने समस्या, व्यापार,भन्सार ,जिल्लाको आर्थिक, शैक्षिक अग्रगति लगायत दार्चुला जिल्लालाई पिछडिएको छेत्रमा राख्न अथक प्रयास राख्न सफ़ल भएमा यो विजयलाई विजय नभई  महाबिजय भएको घोषणा गर्न आमदार्चुलाबाशी जनसमुदाय  आतुर हुनेछ यो विजयलाई अहिलेलाई मात्र नभई आउदा दिनहरुमा समेत निरन्तरताको मार्ग प्रशस्त हुनेछ यद्दपि यो निर्वाचको मुख्य धेय विकाश निर्माणभन्दा आउदो पुस्ताको भविष्य कोर्ने लोकप्रिय सम्बिधान लेख्ने हो तैपनि सम्बिधान निर्माण सँगसँगै बिकाश निर्माणका कामहरुलाई समेत निरन्तरता दिनसक्नु आम दार्चुलाबाशीको लागी खुसि गौरवको कुरा हुनेछ सम्बिधान निर्माणको यस सुखद सु-अवसरमा दार्चुलाबाशीको माग, इच्छा चाहनालाई पहिलो प्राथमिकता दिइनुपर्दछ भने विकाश निर्माणको कार्यलाई दोस्रो प्राथमिकता दिइनुपर्द्छ विकाश निर्माणको नाममा जनताको सम्बिधानसभा बाटै सम्बिधान निर्माण गर्ने चाहना अभिमतलाई गौण प्राथमिकता दिइयो भने त्यस्तो कदम कदापी सबल सपुष्ट हुनेछैन त्यसैले विजयी कमरेडले जनताको सम्मान कदरलाई शिरोधार्य गरोस भन्ने हामी सबैको दृढ ईच्छा चाहना हो

यी यस्तै जनपक्षीय कार्यहरुलाई उच्च प्राथमिकताका साथ निश्चित कार्यढाचा आकार दिनसक्यो भने प्रेमसिहको देहअवसान नहुदा एकछत्र राज रहेको कम्युनिष्ट किल्लामा फ़ेरि अर्को प्रेमसिहको उदय भईसकेको आभाश सम्पुर्ण दार्चुलाबाशीले खुलेरै महशुस गर्ने बलियो आधार हुने कुरामा कुनै दुबिधा सकोच हुनेछैन ।यो सम्बिधानसभाको दोस्रो निर्वाचन  विजयी उमेद्द्वारलाई पुरानो कम्युनिष्टकिल्लामा एकछत्र राज गर्ने अथवा त्यसको निरन्तरतामा अल्पविराम लगाउने भन्ने कुराको अग्निपरिक्षा हुनसक्ने कतिपय जारकारहरुको बिश्लेषण बुझाई ।निर्वाचित कमरेडद्वारा  आउदा दिनहरुमा दार्चुलाका दुहु,मार्मा, व्यास लेकम छेत्रलाई एउटै नजरले हेरिनुपर्छ कि अहिले आफ़्नो मत बढि कम भएको छेत्र सम्झि कुनै नैतिक वा अद्रिश्य झुकाव राख्न खोज्नु भविष्यका लागी नराम्रो नजिर बन्न सक्छ त्यसैले चारवटै छेत्रहरुलाई समान एउटै नजरले हेर्न बुज्न सक्नु भविष्यको लागि उमेद्द्वारको अति बुद्दिमानी हुनेछ जिल्लाको समानुपातिक विकास अग्रगामी पुनर्निर्माण पारस्परिक ढंगबाट गर्नसके उदयमान सुर्यको श्रीगणेश हुनेछ


हुन  बिगतमा कतिपय बिजयी उमेद्व्वारहरुले जिल्लाको चौतर्फ़ी विकाशको सन्दर्भमा आफ़्नो व्यक्तिगत समस्याभन्दा माथि उठेर जिल्लाबाशी आम जनताको लागी निणर्य लिन सकेनन भन्दा अतिउक्ति नहोला आशा अबको निर्वाचित उमेद्वारले जिल्ला जिल्लाबाशी आम जनताको लागी   व्यक्तिगत तथा पार्टीगत  स्वार्थभन्दा धेरै नै इञ्च माथि उठेर आफ़्नो छबिलाई सदा उचाईको शिखरमा पुर्याउनेछ्न, यो उनलाई एक ऐतिहासिक उदयमानको अवसर हो यसलाई चुकाउनु  भनेको जालभित्र परिसकेको माछालाई माझिले गुमाएझै हुनेछ

 अहिले जित्नु ठुलो कुरा हैन, खेलमा सहभागी भैसकेपछि एउटा परिणाम अवश्य नै भोग्नुपर्छ तर  त्यो जीतलाई स्थीर दुरगामी बनाउन सक्नु नै नेकपा एमाले दार्चुला का उदयमान उमेद्द्वारको महानता हुनेछ जित्नु अवसर हो भने चुनौति पनि उतिकै हो ।यो विजय .गणेशको विजय अहिलेको सफ़लता मात्र नभई सदावहार  भैसकेको   त्यसको निरन्तरताको श्रीगणेश यहि मसिर गते भएको कतिपय कम्युनिष्टका स्थानिय जानकारहरु बताउँछन ।अन्तत: यो जीत संगसंगै सम्पुर्ण दार्चुलाबाशीको इच्छा, चाहना, माग, समस्या समाधानको बाटोतिर लागोस, जनताको जनादेश अभिमतको उच्च कदर होस, जिल्लाको विकाश उन्नतिले अग्रगती लियोस ।विजयी कमरेडको आगामी यात्रा सफ़ल सुखमय रहोस, यहि नै हामि सबैको सुभेच्छा शुभकामना  
                                                     


                                                       
          २०७० मंसिर १३ को दार्चुला संदेश मा प्रकाशित