Friday, October 27, 2017

पाखा पारिएको कर्णाली र सुदूरपश्चिम

निर्वाचन आयोगले असोज २० गते प्रदेश सभा समानुपातिक निर्वाचन निर्देशिका २०७४स्वीकृत गर्दै विभिन्न २१ जिल्लाका ५७ वटा स्थानीय तहलाई प्रदेशअन्तर्गतका पिछडिएको क्षेत्रकायम गरेको छ । उक्त सूची बदरको माग राख्दै सर्वोच्च अदालतमा असोज २९ गते रिट दर्ता भई कारण देखाउ आदेशसमेत जारी भएको छ । 
-कृष्ण महरा 


पिछडिएको क्षेत्र निर्धारण गर्दा भौगोलिक विकटता, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत मानव विकास सूचकांकको स्थिति, विकासका पूर्वाधारहरूको उपलब्धतालाई आधार मानिनुपर्ने हो, तर पछिल्लो सूचीकरण यस्ता आधारअनुसार छैन ।

विभिन्न ६ जिल्लाका नौ नगरपालिकासमेत पिछडिएको सूचीमा सूचीकृत छन् भने अत्यन्त विकट कयौं गाउँपालिका उक्त सूचीमा छैनन् । पूर्वसचिव बालानन्द पौडेल नेतृत्वको स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले २४१ नगरपालिका र ४६२ गाउँपालिका प्रस्ताव गर्दै प्रतिवेदन २०७३ पुस २२ मा सरकारलाई बुझाएको थियो । उक्त आयोगले घोषणा गरेका नगरपालिका पिछडिएको क्षेत्रको सूचीमा पर्नु तर त्यही आयोगले संरक्षित क्षेत्र भनेर घोषणा गरेका गरिएका गाउँपालिकासमेत नपर्नुले शंका गर्ने ठाउँ दिएको छ ।

संवैधानिक आधार :
नेपालको अन्तरिम संविधान २०६३ ले समावेशीकरणको सिद्धान्तलाई मौलिक हकको रूपमै आत्मसात गरेपश्चात् २०६४ सालपछि कर्णाली अञ्चलका पाँच जिल्ला, सेतीका तीन र भेरीको एक गरी नौ जिल्लालाई पिछडिएको क्षेत्र कायम गरिएको थियो । त्यतिबेलै महाकाली अञ्चलको दार्चुला पिछडिएको क्षेत्रमा पर्नलायक भए पनि पारिएन । 
नेपालको संविधानको धारा १८(३) ले सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले पिछडिएको क्षेत्रको नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाइएको मानिने छैनभनी व्यवस्था गरेको छ । तर यस्ता कानुनहरू बन्न बाँकी नै छ । त्यस्तै धारा ४२(१) ले सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका वास्तविक पिछडिएको क्षेत्रका नागरिकको समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने हकहुने व्यवस्था गरेको छ । यी दुई धारामा गरेको व्यवस्था पिछडिएका क्षेत्रका जनताका विशेष हक हुन् । पिछडिएका क्षेत्रका नागरिकको यो हकसँग बाझिने गरी संसद्ले समेत कानुन बनाउन नसक्ने परिस्थितिमा एउटा संवैधानिक निकायले निर्देशिका बनाउँदै संविधानले दिएको हक कटौती गर्ने अधिकार छैन ।

महत्वपूर्ण कुरा संविधानको धारा ४६ ले मौलिक हकहरूको कार्यान्वयनका लागि संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ भनिएको छ । त्यसैले अब आउने संसद्लाई ३ असोज २०७५ सम्म पिछडिएका क्षेत्रसम्बन्धी कानुन नल्याई धरै छैन । संविधानको मौलिक हकको बेवास्ता गरेर ल्याइएको निर्देशिका त के ऐन नै भए पनि बदर हुन्छ ।

अल्पकालीन र दीर्घकालीन असर :
निर्देशिकाको नियम १३ अनुसार उम्मेदवारहरूको बन्दसूची पेस गर्दा सबै प्रदेशबाट निश्चित प्रतिशतका आधारमा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिनुपर्छ । त्यसमध्ये सबैभन्दा धेरै प्रदेश ६ बाट ३२.४ र प्रदेश ७ बाट १२.७८ प्रतिशत प्रतिनिधित्व गराउनुपर्छ । यो निर्देशिकाअनुसार हुने हो भने वास्तविक पिछडिएका क्षेत्रका जनताको प्रतिनिधित्व निश्चित रूपमा घट्नेछ, यो तत्कालीन असर हो ।
दीर्घकालीन रूपमा यी क्षेत्रहरू पाँच वर्षसम्म आफ्नो प्रतिनिधित्व गराउनबाट वञ्चित हुनेछन् । कर्णाली र सुदूरपश्चिमले अहिल्यै यसको प्रतिवाद गरेनन् भने पछि पिछडिएको क्षेत्रसम्बन्धी कानुन बन्दा यसै सूचीलाई आधार मान्नसक्ने र वास्तममै पिछडिएको क्षेत्रलाई सधैंका लागि छुटाउने ठूलो खतरा छ ।

अहिले कतिपयले बुझेजस्तो २०६४ पश्चात् कर्णालीलगायत सुदूरपश्चिमका पिछडिएका क्षेत्रमा समेटिएका नौ जिल्लालाई हटाइएको होइन । ती जिल्ला सम्बन्धित कानुन संशोधन नहुन्जेल वा पिछडिएको क्षेत्रसँग सम्बन्धित कानुन नबनेसम्म पिछडिएकै क्षेत्रमा छन् र हुनेछन् । प्रतिनिधित्वको सवालमा प्रदेश सभा निर्वाचनको लागि अहिले ती वास्तविक पछाडि परेका क्षेत्रहरूलाई नसमेट्ने हो भने पछि कानुन बनाउँदा पनि नसमेट्ने डर हुन्छ ।

संविधानले कर्णाली, सुदूरपश्चिमलगायतका क्षेत्रलाई अधिकारसम्पन्न बनाउने तर नियमावली र निर्देशिकाले वास्तविक पिछडिएको क्षेत्रभन्दा बेग्लै क्षेत्रलाई पिछडिएको घोषणा गरिदिँदा कर्णाली र सुदूरपश्चिम अझ पाखा पर्न सक्छन् । त्यसैले पिछडिएका क्षेत्रको प्रतिनिधित्व कैलाली, सुर्खेत र बाँकेले गर्ने नेपालको संविधानको धारा १८(३) र ४२(१) को उद्देश्य किमार्थ होइन ।

कस्तो पिछडिएको क्षेत्र ?
तर्कहरू अनेक गर्न सकिएलान् तर जुम्लाभन्दा सुर्खेत पिछडिएको भन्न मिल्दैन । निर्देशिकामा सुर्खेतका दुई स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत छन् भने जुम्लाका एउटा पनि छैन । राज्यले अध्ययन गरेर सबैभन्दा पछाडि परेको क्षेत्रलाई धरातलीय यथार्थको आधारमा पिछडिएको क्षेत्र कायम गर्नुपर्छ, अनुमान र पहुँचको भरमा होइन । अध्ययन र अनुसन्धानपश्चात् विधायिकाले कानुन बनाई नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक धरातलको गहन मूल्यांकनपछि मात्रै छुट्टयाइनुपर्छ।

यस क्षेत्रका जनतालाई राज्यको मूल प्रवाहमा समाहित हुन समावेशीकरण र सकारात्मक विभेदलगायतको माध्यमद्वारा विशेष संरक्षण प्रदान गरिन्छ । सरकारी सेवा प्रवेश होस् वा अन्य कुनै उच्च शिक्षा अध्ययनकै विषय किन नहोस्, पिछडिएका क्षेत्रका नागरिकका लागि राज्यले आरक्षणको व्यवस्था गरेको हुन्छ । अन्य क्षेत्रको भन्दा पिछडिएका क्षेत्रमा राज्यको लगानी बढी हुन्छ । अझै पनि ध्यान नपुर्‍याउने हो भने यसले नेपालको संविधानले परिकल्पना गरेको समावेशीकरण र समानुपातिक विकासको परिकल्पना निरर्थक हुन्छ ।

कुनै क्षेत्र सधैं पिछडिएको क्षेत्रमा राखियोस् र त्यसको नाममा राज्यबाट आरक्षणलगायतका सुविधा निरन्तर प्राप्त भइरहोस् भन्ने पंक्तिकारको आशय हुँदै होइन । संविधानले पिछडिएको क्षेत्रका नागरिकलाई राज्यको निकायमा सहभागी हुन पाउने गरेर दिएको अधिकार वास्तविक पिछडिएको क्षेत्रका जनताले उपभोग गर्न पाऊन् भन्ने मात्रै हो । त्यो पनि निश्चित समयसम्म । उदाहरणको लागि सुदूरपश्चिम भौगोलिक, आर्थिक रूपमा मात्रै होइन, सामाजिक र सांस्कृतिक रूपमै पनि पिछडिएको छ भन्ने तर पिछडिएको क्षेत्र कायम गर्दा सुदूरपश्चिम पर्नुनपर्ने ?

दार्चुलामाथि फेरि अन्याय :
नगरपालिकासमेत पिछडिएको क्षेत्रमा सूचीकृत हुँदा पनि विकट दार्चुला जिल्लाका नौवटा स्थानीय तहमध्ये कुनै पनि नपारिनु उक्त जिल्लामाथि २०६४ साल र अहिले पनि नियोजित रूपमै अन्याय परेको देखिन्छ । आफ्नै जिल्ला सदरमुकाम जान पनि भारतको बाटो भएर जानुपर्ने र गरिबी व्याप्त रहेको जिल्लाको एउटा पनि स्थानीय तह पिछडिएको क्षेत्रको सूचीमा नपर्नु दार्चुलामाथिको अन्याय नै हो ।

सुदूरपश्चिमको अवस्था :
सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ मा गरेको एक सर्वेक्षणअनुसार सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा छ । बाजुरा नेपालभरिको सबैभन्दा धेरै गरिब घरपरिवार भएको पहिलो जिल्ला हो भने बझाङ तेस्रो । बाजुरामा ६४.१ र बझाङमा ५६.८ प्रतिशत जनता चरम गरिबीको रेखामुनि छन् । सन् २०१४ को मानव विकास सूचकांकअनुसार नेपाल दक्षिण एसियामा छैटौं र विश्वमा १४५ औं स्थानमा छ । नेपालभित्रको कुरा गर्दा सुदूरपश्चिम मानव विकास सूचकांक (०.४३५) को सबैभन्दा पुछारमा रहेको छ । विश्व बैंकको सहयोगमा नेपाल सरकारले सन् २०१३ मा गरेको एक अर्को अनुसन्धानअनुसार नेपालका सबैभन्दा बढी गरिबीको चपेटामा परेका पाँचमध्ये तीन जिल्ला (बाजुरा, बझाङ र दार्चुला) सुदूरपश्चिमकै रहेका छन् ।

अन्त्यमा, यति धेरै भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछाडि परेका कर्णाली र सुदूरपश्चिमलाई पिछडिएको क्षेत्रबाट हटाइनु वा नसमेटिनु खेदजनक छ । अझ यस विषयमा त्यस क्षेत्रका जनताले व्यापक विरोध गरी सच्याउन माग गर्दा पनि सरकार तथा सरोकारवालाबाट कुनै पहलकदमी नगरिनु विडम्बनापूर्ण छ 


१०, कार्तिक, २०७४ को अन्नपुर्ण पोष्टमा प्रकाशित 
See more at:
  

Thursday, October 26, 2017

पिछडिएको क्षेत्र सूचीकरण विरुद्द परेको रिटमा कारण देखाउ आदेश !

असोज २९ गते दायर गरिएको 'पिछडिएको क्षेत्र सूचीकरण' विरुद्द परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ  माननीय न्यायधीस ओम प्रकाश मिश्रको एकल इजलासले विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 
यसमा के कस्तो भएको हो ? निवेदकको मागबमोजिम रिट जारी गर्नु किन नपर्ने हो ? नपर्ने भए १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालय एवम् निर्वाचन आयोगलाई आदेश दिईएको छ । 

निवेदकको तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल र टिका प्रसाद कंडेलले वहस गर्नुभएको थियो सरकारले २१ जिल्लाका ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्रमा सुचिकरण गरेपछि कयौं पिछडिएका स्थानीय तहहरुलाई नसमेटिएको भन्दै अधिवक्ता कृष्ण महराले आईतवार सर्वोच्चमा रिट दर्ता गराएका थिए 

३० असोज २०७४  को दैनिकनेपाल.कममा प्रकाशित 

'पिछडिएको क्षेत्र सूचीकरण' विरुद्द सर्वोच्चमा रिट !

सरकारले हालै जारी गरेको पिछडिएको क्षेत्र सुचिकरणको बिरुद्धमा सर्वोच्चमा रिट परेको छ । आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका कर्णाली, सुदूरपश्चिमलगायत वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित गरेकाे भन्दै उक्त रिट परेकाे हाे । 

निर्वाचन आयोगद्वारा प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४को अनुसूची २ मा सुचिकृत पिछडिएको क्षेत्रको सूची वदर गरिपाउँ भनि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कृष्ण महराले आज उक्त रिट निवेदन दर्ता गराएका हुन् । 
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाईएको छ । मिति २०७४ असोज २ गते प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४ को अनुसूची २ मा विभिन्न प्रदेश अन्तर्गतका पिछडिएको क्षेत्रभनि विभिन्न २१ जिल्लाका ५७ स्थानीय तहलाई सुचिकृत गरिएको थियो । 
उक्त सुचिमा बाँकेको तरैनापुर, सिन्धुलीको हरिहरपुरगढी, मारिण गाउँपालिका, सुर्खेतको बराहताल, चौकुने गाउँपालिका, डोटीको आदर्श, पूर्वीचौकी गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका र बैतडीको शिवनाथ गाउँपालिकासमेत पिछडिएको क्षेत्रमा सुचिकृत भएपनि ती क्षेत्रहरुभन्दा अति नै विकट अझ भोकमरीले ग्रसित हुने र सधै राज्यबाट पछाडी पारिएको दार्चुला जिल्लाका कुनैपनि स्थानीय तहहरु पिछडिएका क्षेत्रमा पारिएका छैनन् ।
मागदावी :
प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४ को उक्त सूचीले सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले पिछडीएको क्षेत्रको नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न सकिनेनेपालको संविधानको धारा १८(३) ले व्यवस्था गरेको सकारात्मक विभेद र समावेशी राज्य व्यवस्था,धारा ४२(१) ले प्रदान गरेको आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित भई वास्तविक पिछडिएको क्षेत्रका नागरिकको मौलिक हनन् भएको निवेदकको दावी छ ।
निर्देशिकाको उक्त अनुसूची नेपालको संविधानको धारा ५१ को च,(२) अनुसार विकाशका दृष्टिले पछी परेका क्षेत्रलाई प्राथमिकता दिदै सन्तुलित, वातावरण अनुकुल, गुणस्तरीय दिगो रुपमा भौतिक पर्वाधारको विकाश गर्ने नीति राज्यको नीतिविरुद्द समेत् भएकोले कुनै अध्ययन, अनुसन्धान र तात्विक निष्कर्षबिनानै केन्द्रमा पहुँचको भरमा गरिएको प्रदेश अन्तर्गतका स्थानीय तहको सुची नेपालको संविधानको धारा १३३,(२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा आजैका मितिदेखि वदरको माग गरिएको छ । उक्त रिट निवेदनको भोली मिति २०७४ असोज ३ गते पेशी रहेको छ । निवेदकको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल, टिपी शर्मा कडेल लगायतले वहस गर्नेछन् 

     
२९ असोज २०७४ को नयाँपत्रिका दैनिकमा प्रकाशित
See more at :
ww.enayapatrika.com/2017/10/15/191834/

गौतम हत्या प्रकरणः भारतसँग क्षतिपुर्ती भराईपाऊ !

भारतीय एसएसबीको गोलीबाट मृत्य भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमलाई नेपाल सरकारले शहिद घोषणा गर्दै गौतम परिवार र नाबालिक सन्तानको शिक्षा दिक्षा एवं राहत स्वरुप १० लााख रुपैया क्षतिपुर्ती दिने निर्णय गरेको छ । शहिद घोषणा र नाबालिक सन्तानको शिक्षा दिक्षाको जिम्मा सरकारले लिनु स्वागतयोग्य कदम हो । क्षतिपुर्तीका सन्दर्भमा भने सरकारले भारत सरकारसँग भराउनु पर्दछ यसको अर्थ नेपाल सरकारले आर्थिक सहयोग गर्न हुन्नथ्यो भन्ने चाँहि खोजिएको होइन । 

-कृष्ण महरा 
नेपाली भूमीमा प्रवेश गरी नेपाली नागरिकको नै हत्या गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जगन्य अपराधको भारत सरकारले माफी माग्नु पर्छ। भारत सरकारसँग क्षतिपुर्ती वापत कम्तिमा १ करोड भारतीय रूपैँया भराई गौतम परिवारलाई उपलब्ध नगराएसम्म गौतम हत्याको उचित सम्मान भएको ठहरिने छैन ।  

नेपाल सरकारले बुझ्नु पर्दछ, गौतम नेपाल विरुद्ध कथित जनयुद्व लडेका होइनन् न सीमापारीबाट नेपाल प्रहरीलाई ढुंगा नै हानेका हुन्। गौतम त्यस्ता व्यक्ति पनि थिएनन् जो नेपाली जनताको जीउधनको रक्षार्थ खटिएका सुरक्षाकर्मीको हत्या गरी  हजारौँ नारीहरुको सिउँदो रित्याउँदै हिडे।  

गौतम ती व्यक्ति हुन् जो भारतीय सीमा सुरक्षा बल, एसएसबीसँग आफ्नो मातृभूमीको रक्षार्थ बिना कुनै हतियार मुकाविला गर्न तयार भए र त्यसै शिलशिलामा ज्यान गुमाउन पुगे। उनको तुलना आजसम्मका कुनै पनि शहिदसँग हुन सक्दैन। आफ्नो देशको अस्तित्व रक्षाका लागि विदेशीसँग भिड्ने उनी एक मात्र शहिद हुन्। सरकारले यो कुरा भुल्नु हुँदैन नेपाल आमालाई लक्षित गरी अर्को देशबाट प्रहार गरिएको मिसाइल सरी गोली छेक्ने उनीमात्रै पहिलो नेपाली हुन् ।

उनी र अन्य शहिदलाई एउटै साँचोमा राखेर दाँज्न कदापी मिल्दैन। अहिलेसम्म जति जना शहिद बने, सबै नेपाल विरूद्ध वा नेपालमा प्रचलित शासन व्यवस्था विरुद्ध नै लडेका थिए चाहे राणा शासनमा होस् वा पञ्चायत वा शाही शासनमा नै किन नहोस् । भारतले देखाएको हेपाहा प्रवृति आजमात्रै होइन, इतिहाँसको कालखण्डमा कयौँपटक देखाएको छ । देशका सत्तरी भन्दा बढी ठाउँमा सीमा मिचिएका छन् । सीमानामा वाँध निर्माण गरी कयौँ विगाहा जमिन र बस्ती नै डुबाएको छ घिनलाग्दो हर्कत स्वाधिन र स्वाभिमान नेपालीले विर्सन सकेको छैन । बर्दियामा बर्दीसहित नेपालीको घरमा प्रवेश गरी खानतलासी लिएको धेरै भएको छैन। पुनर्वास आनन्दबजारको घटना एके ४७ सहित मध्य नेपाल पुगिसकेका भारतीय एसएसबीलाई ससम्मान भारत पुर्‍याइनुको परिणाम हो ।

सीमा क्षेत्रमा आफ्नो नागरिक मारिएपछि भारत सरकारसँग उचित क्षतिपुर्ती माग गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुको बदलामा उल्टै सीमा क्षेत्रमा कर्फ्यू लगाइरहेको छ । भारत सरकारसँग क्षतिपुर्ती भराई अब उप्रान्त यस्तो गम्भीर गल्ती नदोहोरिने प्रतिवद्दता आए सीमा क्षेत्रमा कसैले पनि विरोध प्रदर्शन गर्ने थिएन ।

जनप्रतिनिधिको नाममा राज्यकोषबाट करोडौ बुझ्नेहरू भारतीय एसएसबीले गोली नै नचलाएको तर्क गर्दै दूतावासका प्रवत्ता बनिरहेका छन्। भारतीय एसएसबीबाट गल्ती भएको लगभग स्वीकार गरिसक्दा पनि भारतले क्षतिपूर्ती दिनुपर्छ भनेर कसैले पनि भन्न सकिरहेको छैन। अझ कतिपयले गौतमको हत्यालाई एकजना व्यक्तिको हत्या समेत भन्न भ्याएका छन्। गोविन्द गौतम माथीको प्रहारलाई व्यक्तिको हत्या देख्ने दृष्टिदोषी र सुस्तमनस्थितिहरुलाई एकचोटी तिलगंगा र न्युरो अस्पतालमा आफ्ना आँखा र मानसिक स्वास्थ्य परिक्षण गराउन अनुरोध गर्न चाहन्छु।

भारतीय एसएसबीले नेपाली भूमीमा प्रवेश गरी नेपालीकै हत्या गरेको छ । यो देशमाथिको आक्रमण हो, नेपाली सार्वभौमसत्तामाथि भारतको सांघातिक हमला हो । भारतीय गोली गोविन्द गौतमको छातिमा होइन, नेपाल आमाको छातिमा प्रहार गरिएको हो । यसको सबै मिलेर मुकाविला गरिएन भने एकदिन नेपालको नाम इतिहासमा सीमित हुने प्रायनिश्चित छ। यस्तो जघन्य अपराधमा भारत सरकारसँग क्षतिपुर्ती भराई दोषीमाथि उचित कारबाही नगर्ने हो भने यस्ता अनगिन्ती घटनाहरु कालान्तरमा दोहोरिने निश्चित छ । 

सीमा क्षेत्रमा उत्पन्न समस्याको तत्कालिन समाधानका लागि सीमा सुरक्षा चौकी र सुरक्षाकर्मीको संख्या बढाइनु पर्दछ। दीर्घकालिन सीमा व्यवस्थापनका लागी देशमा राजनैतिक स्थीरता र आर्थिक विकाससँगै काँडेतार वा पर्खाल नै पनि नलगाउन सकिने भन्ने होइन तर यसको लागि सरकार, सम्पूर्ण राजनैतिक दल र जनस्तरबाट व्यापक सहयोग र समर्थन सँगै कुशल कुटनीतिको समेत उत्तीकै भुमिका रहनेछ।

नेपालको सीमानामा काँडेतार वा पर्खाल लगाउने भन्ने कुरा फेसबुक वा ट्वीटरमा लेखे जसरी सहज भने पक्कै छैन तर असम्भव पनि छैन । यसको लागि सबैभन्दा पहिला सरकारको सीमा व्यवस्थापन सम्बन्धी आधिकारिक नीति बन्नु जरूरी छ। देशको सीमाना संविधानको अनुसूचीमा राख्न नचाहने राजनैतिक दल भएको देशमा अझै आफ्नै आँगनमा कति गौतमहरुले गोली खानुपर्ने हो, यो विचारणीय प्रश्न आज हामी सबै माझ तेर्सिएको छ । 

पुनर्वास आनन्दबजारको समाधान कर्फ्यू हुँदै होइन, देश र मातृभूमीका रक्षक बर्दी विनाका सिपाहीहरुमाथी निषेधाज्ञाको डण्डा युद्व जितेर आएको सिपाहीलाई लात हान्नु हो। त्यसैले, विन्ती छ सरकारगोविन्द गौतमको परिवारलाई भारत सरकारद्धारा क्षतिपुर्ती भराई न्याय दिलाइ पाऊ  

फागुन २९, २०७३ को सेतोपाटी.कममा प्रकाशित 
See more at :


अलविदा ! महान् शहीद गोविन्द गौतम


महान सहिद गोविन्द गौतम, सर्वप्रथम नेपाल आमालाई लक्षित गरी सीमानामा हानिएको विस्तारवादको गोली आफ्नो छातीले रोक्ने तिम्रो महान कार्यको शीर झुकाएर सम्मान गर्न चाहन्छु । बर्दीविनाको सिपाही भएर जन्मभूमिका लागि लड्ने तिम्रो साहसिक कार्य इतिहासको महान पराकर्म हो जुन सामान्य व्यक्तिले कल्पना आँटसम्म पनि गर्न सक्दैन । माटो, सीमा र देश जुन ठाउँमा हुक्यौर्ं, आज त्यसकै रक्षार्थ प्राण त्याग्यौ । 
-कृष्ण महरा 

भारतले देखाएको हेपाहा प्रवृति आजमात्रै होइन, इतिहासको कालखण्डमा कयौँपटक देखाएको छ । देशका ७० भन्दा बढी ठाउँमा सीमा मिचिएका छन् । सीमानामा वाँध निर्माण गरी कयौँ विगाहा जमिन र बस्ती नै डुबाएको छ । घीनलाग्दो हर्कत स्वाधीन र स्वाभिमान नेपालीले विर्सन सकेकेा छैन । बर्दियामा बर्दीसहित नेपालीको घरमा प्रवेश गरी खानतलासी लिएको धेरै भएको छैन ।
चित्त त्यतिबेला दुख्छ, जतिबेला नेपालको गाउँगाउँमा गैरकानूनी ढंगले प्रवेश गरेको भारतीय सेना विना कुनै कारबाही सकुशल भारत पुर्‍याइन्छ । ०७३ बैसाख १२ गते एके ४७ सहित नेपाल प्रवेश गरेका भारतीय एसएसबी डोटी जिल्लामा पक्राउ परे ।
ती दुवै घटनामा नेपाल सरकारले विनाकुनै कारबाही ससम्मान भारत फिर्ता गर्‍यो । यदि त्यतिबेलै नेपाल सरकारसंग अनधिकृत रुपमा नेपाल प्रवेश गरेको भारतीय एसएसबीलाई कानूनी कारबाही भएको भए आज कञ्चनपुरको पुनर्वासमा यो घटना हुने थिएन ।
गोविन्द, तिमीले मातृभूमिमै भारतीय गोली लागि यो संसारबाट विदा हुनुपर्ने थिएन । तर, विडम्वना, देशको सीमा र सीमामा बस्ने नागरिकका लागि न त सरकार छ न सरकारी निकाय । सिंहदरबारको चौघेराभित्र वातानुकुलित महलमा आसीन सरकार कुर्सी कसरी टिकाउने भन्ने खेलमा मात्रै सीमित छ ।
गौतमले मातृभूमिकै लागि प्राण त्याग गरेको दिन फागुन २६ गते सिंहदरबारमा मन्त्रीपरिषद विस्तारको रमिता चलिरहेको थियो । सरकारलाई विस्तारवादीको गोली तिम्रो छातीमा लागेको पीडा थिएन, बरु राति त्यहि मन्त्रिपरिषद विस्तारको खुसीयालीमा डिनर पार्टी चलिरहेको थियो ।
मैले देशको सीमानाका लागि प्राण त्यागेको एकदिन वितिसक्दा पनि सत्यतथ्य छानविनका लागि समिति गठन, नेपालस्थित भारतीय राजदुतबाट स्पष्टीकरण र शहिद घोषणा गरेनभनेर स्वर्गमा तिम्रो आत्मा हजारपटक जल्नेछ । यता सरकार भने सत्ता स्वादमा रुमल्लिएको छ ।
म राज्यस्तरबाट तिम्रो शहादतको उचित सम्मान र हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । सायद तिमीले कुनै राजनैतिक दलको तर्फबाट हिंसात्मक आन्दोलनमा भाग लिई नेपाली सुरक्षाकर्मीमाथि बम प्रहार गरेको भए रातारात तिमी सरकारको शहिद लिष्टमा समेटिन्थ्यौ र मागेजति क्षतिपूर्ति पनि पाउथ्यौ । तर, तिमीले आज भारतीय सीमा सुरक्षा बलको राइफलसँग धावा बोल्यौ, त्यही भएर हुनुपर्छ सरकार तिम्रोबारे आधिकारिक धारणा बाहिर ल्याउन आनाकानी गरिरहेको छ ।
भारतले आˆनो नागरिकलाई नेपाली भूमिमै आएर हत्या गरिरहँदा सरकार चुप रहने देशमा झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश नभए हामी संविधान स्वीकार्दैनौं भन्ने राजनैतिक झुण्डले मुख खोल्ला भन्ने कुरा मैले कल्पनासम्म पनि गरेको छैन ।
नागरिक स्तरबाट दवाबपश्चात सरकार तिमीलाई शहिद घोषणा र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन केही रकम दिएर थामथुम गर्न सक्छ । तर, स्वदेशमै नेपाली सुरक्षाकर्मीसँग भिड्ने पार्टी कार्यकर्ता र तिम्रो एउटै मुल्यांकन भयो भने त्यो तिम्रो बलिदानीको अपमान सिवाय अरु केही हुने छैन ।
हिजो घाइते सशस्त्र प्रहरीलाई एम्बुलेन्सबाट निकालेर मार्न सघाउने र भारतीय नागरिक समेतलाई शहिद घोषणा गरी दश लाख दिन तम्तयार सरकार आज तिम्रा लागि सत्यतथ्यको छानविन गर्ने गरी आफ्नो आधिकारिक धारणा बाहिर ल्याउन समेत हच्किएको छ । आखिर किन ? तिमीले के अपराध गरेका थियौ, गौतम ?
देश र जनताका लागि यतिसम्म उदासीन र लाचार सरकार, अब जवाफ पाउँ, नेपाली जनताले अब कहाँ जाने सार्वभौम राष्ट्रको शक्ति कति हुन्छ भन्ने सानो दृष्टान्त अवगत गराउन चाहन्छु ।
उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियामा भएको हत्या प्रकरणमा शव परीक्षणको विषयमा सामान्य विवाद हुँदा मलेसियन सरकारले उत्तर कोरियाली राजदुत मलेसियामा राख्न सम्भव नभएको भन्दै देश निकाला गर्‍यो ।
गोविन्दको शहादतमा हामीले कुनै राजदुतको देश निकाला होइन, कम्तिमा स्पष्टीकरण चाहेका छौँ । भारत सरकारबाट माफीसहित कम्तिमा १ करोड क्षतिपूर्ति चाहेका छौँ । नेपाल सरकारले शहिद घोषणा गरी उक्त क्षतिपूर्ति रकम भारत सरकारबाट भराइदिनुपर्छ र अब उप्रान्त यस्ता घृणित हर्कत नदोहोर्‍याउने प्रतिवद्धता गराउनुपर्छ ।
हिजो बाँधकै विषयमा सप्तरीमा देवनारायाण यादवले भारतीयहरुसंग आˆनो ज्यानको बाजी थापेका थिए । पूर्वझापादेखि पश्चिमको कञ्चनपुरसम्म हरेक दिन सीमा क्षेत्रका कयौँ देवनारायण र गोविन्दहरु कहिले भारतीय नागरिक त एसएसबीसँग भिड्न वाध्य छन् ।
एक नेपालीलाई पक्रिन भन्दै हिजो एके ४७ सहित डोटी र अछामको सीमाना चौखुट्टे पुगेको भारतीय एसएसबी आज सिमानामै नेपालीमाथि गोली बर्साइरहेको छ । सरकारलेे हत्याका दोषीलाई भारत सरकारसँग कारवाहीको माग गरी कडा कारबाही नगरिएसम्म सीमा क्षेत्रमा सधैँ सन्त्रासमात्रै भइरहनेछ ।
दिन दहाडै नेपाली नागरिकको हत्यापछि मेरो सरकार र सम्पूर्णराजनैतिक दलसँग प्रश्न छ, सीमाक्षेत्रमा एसएसबी र सिंहदरबारमा लैनचौरको दबदबा कहिलेसम्म ? कहिले आउँछ तपाईहरुसँग देशको सीमाना रक्षा गर्ने प्रतिवद्धता ?
अन्तमा,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दछु । शहिद गोविन्द गौतम, अलविदा ।
२०७३ फागुन २७ गतेको onlinekhabar.com मा प्रकाशित 
See more at