Wednesday, August 26, 2015

कैलाली कन्चनपुरको राजनीतिक समाधान जनमतसंग्रह

टीकापुर घटनाको दुःखद् उठान :
जनताले संविधानसभाबाटै संविधान निर्माण गर्ने सदियौदेखिको सपना साकार हुनै लाग्दा कैलालीको टीकापुरमा भएको अनपेक्षित घटनाले स्तब्ध पारेको छ । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक, दुई जना प्रहरी निरीक्षक र एकजना नाबालक सहित आठ जनाको बर्बरतापुर्ण तरीकाले ज्यान लिएको उक्त घटनाले सारा नेपालीलाई मर्माहत बनाएको छ । 

सयौं जना प्रहरीको टोलीलाई नेतृत्व गरीरहेका सेती अञ्चल प्रहरी प्रमुखले आन्दोलनकारीलाई सम्झाउने क्रममा कब्जामा लिई घरेलु हातहतियारले निर्ममतापुर्वक हत्या गरीदा समेत नेपाल÷शसस्त्र  प्रहरीले अपनाएको संयमता र धैर्यता प्रशंसनीय छ, आफ्नो कमाण्डरमाथी आफ्नै अगाडी भाला रोपिदा  यस्तो संयमता सायदै अपनाइन्छ, मृतकप्रति श्रदासुमन ।

सुदुरपश्चिमको वास्तविकता :

नेपालको सरदर गरीबी २१ प्रतिशत भईरहँदा सुदुरपश्चिममा भने ४६ प्रतिशत जनता गरिबीको चपेटामा छन । मानव विकास सुचकाङ्कको हिसाबले सुदुरपश्चिम नेपालकै पुछारमा रहेको छ । अस्पत्तालमा जाँदा सुदुरपश्चिमका जनताले न सिटामोल पाउँछन न पखाला लाग्दा जीवनजल । अत्याधुनिक इमर्जेन्सी सेवासहितको अस्पतालमा उपचार गर्न पाउनु त सुदुरपश्चिमबासीको कल्पनाबाहिरको कुरा हो । सरकारी कार्यालयमा कर्मचारी वर्षको एकचोटी हाजिर गरी तलबमात्रै बुझ्न आउँछन अरुबेला त्यहाँबाट हराउछन । 

राजनैतिक दलहरु त पाँच वा छ वर्षमा एकचोटी चुनावको बेलामात्रै हुन हाम्रो सुदुरपश्चिम पुग्ने, अरुबेला काठमाडौं वरीपरी घुम्नमै व्यस्त हुन्छन । कहाँ सुदुरपश्चिमको रोग, भोक कहाँ राजधानीको आलिसान जीवन । राजनैतिक स्वार्थ र हित जोडिएको बेलामा मात्रै सुदुरपश्चिमलाई प्रयोग गरिदैछ ।

कैलाली कञ्चनपुरले नभुलेको पीडा :

हिजो कैलाली र कञ्चनपुर लगायत सारा सुदुरपश्चिममा बाढी आउँदा पीडित जनतालाई राहत दिनुको सट्टा राहत दिने पुर्व राजा ज्ञानेन्द्रलाई समेत रोक लगाउदा कहाँ थिए कैलाली कञ्चनपुरमा हिंसा भड्काउने नेताहरु ? साधारण नागरीकसरह पुर्वराजाले बाढीको चपेटामा परेका कैलाली कञ्चनपुरका रानाथारुहरुलाई एकमुठी चामल र एक पोको नुन दिँदा निर्वाचन आचारसंहिता उलंघनका नाममा बन्देज लगाउने र अहिले आएर कैलाली÷कञ्चनपुरका थारु समुदायलाई अन्याय भयो भन्ने अधिकार कम्तिमा बाबुरामलाई छैन । त्यतिबेला निर्वाचन आचारसंहिता उलंघन गरी राज्यकोषबाट करोडौ खर्चेर हेलिकप्टर चढ्न मिल्ने तर विपद्मा परेका जनतालाई एक साधारण नागरीकले सहयोग गर्दा रोक्ने दुष्टहरुको कुटील चाल जनताले विर्सेका छैनन ।

आफु सरकारमा हुँदा थारु समुदायको पीडा सम्बोधन किन गरिएन ?

जब जेठको टन्टलापुर धुपमा खेतमा काम गर्दा एउटा किसानलाई सर्पले टोक्छ तब एन्टी स्नेक भ्याक्सिनसहित कुनचाँही नेता पुगेको छ कैलाली कञ्चनपुरका अस्पतालमा ? थारुहरुका गर्भवती÷सुत्केरी आमाहरुले साउनको भेलमा रातभरी ट्वारट्वार कराउने भ्यागुताहरुसंगै आफ्ना नवजात शिशुहरु सुताएको यथार्थ जगजाहेर छ, भाग्यले बाँच्ने बाँचे नत्र मर्नुसिवाय ती नवोदित शिशुसंग अर्को विकल्प हुँदैन । कैलाली कञ्चनपुरमा थारु समुदाय शिक्षामा एकदमै पछाडि परेको छ, विगत तीनचार बर्षको लगातार बाढीले कैलाली कञ्चनपुरका कयौ विद्यालयहरु बाढीको निसानामा परे ।
अब भन्नुहोस, ती थारु समुदायको शिशु मृत्युदर घटाउन, वाढीले नामेट पारेका विद्यालयहरु पुननिर्माण गर्न कुन चाँही नेता वा सरकारले पहल गरेको छ ? आफ्ना काठमाण्डौंको सुविधासम्पन्न शहरमा राख्ने, आफ्ना छोराछोरी विदेशका महंगा विद्यालयमा पढाउने अनि सदियौँदेखी मिलेर बसेका गरीब थारु÷पहाडी  समुदायमा हिंसा भड्काउने ? अचम्म र उदेगलाग्दो कुरा त के छ भने जबजब गौरीफन्टामा कुनै थारु युवा लुटिन्छ, गड्डाचौकीमा कुनै चौधरीलाई आफ्नै भुमीमा मृतकको लाश सद्गद गर्न नदिई लखेटिन्छ, त्यतिबेला न कोही बाबुराम बोल्छन न अमरेश, राजेन्द्र र उपेन्द्रहरु । सरकारमा छँदा थारु समुदायका लागी माखो नमार्नेहरुलाई लाज लाग्नुपथ्र्यो । 

कैलाली कञ्चनपुर सुदुरपश्चिमकै विकास केन्द्र :

विगत देखि अहिलेसम्मको अवस्था हेर्दा सुदुरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीको दिपायलमा रहेपनि मुख्यमुख्य कार्यालयहरु धनगढी र महेन्द्रनगरमा नै अवस्थित छन । वर्षौदेखि विश्वविद्यालय, मेडिकल तथा प्राविधिक शिक्षालय, पहाडी जिल्लामा सञ्चालित बैतडीको पञ्चेश्वर जलविद्युत परियोजना र दार्चुलाको चमेलिया जलविद्युत आयोजना तथा महाकाली नदि नियन्त्रण आयोजनाजस्ता थुप्रै  विकाससंग सम्बन्धित सबै कामहरु नियमन गर्ने निकाय तराईका कैलाली र कञ्चनपुरमा नै अवस्थित भएकोले कैलाली कञ्चनपुर माथी अन्याय भएको छैन बरु हिमाली जिल्ला दार्चुला, बझांग र बाजुरामाथी अन्याय भएको छ ।

पुर्वको एउटै धनुषा जिल्लामा ४० वटा पुल बन्न लाग्दा कैलाली कञ्चनपुरमा कतिवटा बाँध बाँधिन लागेका छन ? छ यसको उत्तर कसैसंग ? आर्थीक वर्ष २०७२÷७३ मा पुर्वी तराईमा करोडौ बजेट खन्याइ पश्चिम तराईमा बजेट वक्त्यव्यमा कुनै गतिलो कार्यक्रम र बजेट नछुट्याइदा किन कसैले यहाँका समुदायमा अन्याय भएको देखेनन ? सुदुरपश्चिममा कैलाली कञ्चनपुरको भन्दा बढी दयनीय अवस्था र वर्षेनी भोकमरीमा छट्पटिनुपर्ने ठाँउहरु छन ।

सुदुरपश्चिममा एक केजी ढिके नुन किन्न तीन दिन र तीन हजार खर्च गर्नुपर्ने अत्यन्तै मार्मीक अन्य कयौं क्षेत्रमा कसैको ध्यान जान सकेको छैन । हवाई तथा सडक यातायातको सजिलो बाटोबाट कैलाली र कञ्चनपुरमा आई सामाजिक सद्भाव एवं जातिय÷क्षेत्रीय हिंसा भड्काउनेहरुले एकचोटी बाजुराको विच्छ्या, बझांगको काँडा र दार्चुलाको गुल्जर गाविसमा गएर हेर्दा हुन्छ कि यहाँका जनताले कति उत्पिडनमा  छन । यहाँका जनताको उत्पिडनको उपचार कहाँ पाइन्छ, कि यहाँका जनताको पीडा उत्पिडनको परिभाषाभित्र पर्दैन ?

यसरी ढाल बनाइदैँछ थारु समुदायलाई :

कैलालीका थारु समुदाय पक्कैपति पछाडि परेको वर्ग हो तर त्यसका लागी हिमाल र पहाडबाट आएका जनताभन्दा राज्य बढी जिम्मेवार छ । अहिले सुदुरपश्चिममा आर्थीक, शैक्षिक हिसाबले पछाडि परेको थारु समुदायका नाममा जसरी अहिले सम्पुर्ण सुदुरपश्चिमेलीहरुमा एकता, सद्भाव एवं भाईचाराको भावनामा टकराव ल्याइदैछ त्यो सबै नेपालीका लागी अत्यन्तै प्रतित्पादक हुने निश्चित छ । 

अहिले कसैलाई पनि पहिचान वा राज्य होइन विकास, समृद्धी दिइनुपथ्र्यो तर यो वा त्यो वाहनामा नेपाललाई असफल राष्ट्र बनाउने खेल रचिदैछ । त्यसैले पंक्तिकार सम्पुर्ण सुदुरपश्चिमबासी आम दाजुभाई, दिदीबहिनी, प्रबुद्ध नागरीक समाज तथा सचेत युवा वर्गलाई संयमित भई धर्यधारण गर्न यसै आलेख मार्फत अपिल गर्न चाहन्छु ।

आज हामी भाइभाइलाई भिडाएर आफ्नो निहित स्वार्थ पुर्ती गर्नेहरु सडक र सदनमा छन । दोस्रो संविधानसभाबाट जमानत जफत हुनेगरी नेपाली जनताबाट बहिष्कृतहरुले जनताले विश्वास गर्न छाडेपछि ५० लाखको उधारो भ्रम छरेका छन । यो हर्कत भाइ मारेर रगतको होली खेल्ने सुनियोजित चालबाट सबैले संयमता अपनाउनु जरुरी छ । थारु समुदायलाई ढाल बनाएर धमिलो पानीमा माछा मार्न बल्छी समातेर चोकचोकमा छन दुष्ट माझीहरु । 

सबैभन्दा घिनलाग्दो कुरा त के छ भने तराईलाई एउटा छुट्टै प्रदेश दिइँदा भनियो, जानकी मन्दीरको भेटीले यो प्रदेश चल्दैन, चीनसंग जोड, अब चीनसंगै जोडेर प्रदेश बनाइदा भनियो, यो थारु समुदायको भुमी हो किन पहाडसंग जोडेको ? कथित नेताहरुको यहि नालायक हर्कतबाट यीनीहरुले के चाहेका हुन भन्ने कुरा जगजाहेर छ । यो तथ्य नै काफी छ की कसरी थारु समुदायलाई ढाल बनाई देशलाई सोमालिया र रुवाण्डाको बाटोतर्फ धकेलिँदै छ भन्ने कुरा ।    

शेरबहादुर, भीम रावल र लेखराजले कसरी अखण्डको नारा ?

अहिले अखण्डको नारा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टहरुको ल्याइएको हो भनिदैछ । मानिलिउ अखण्डको नारा यी तीन नेताले ल्याए तर नेपाल खण्डखण्ड पार्ने संघियताको नारा कसले र कुन नेपालीलाई सोधेर ल्याइएको हो ? यो भ्रमबारे सबैले प्रष्ट हुन जरुरी छ । अखण्डको नारा कुनै शेरबहादुर,भीम रावल, लेखराज भट्ट वा रमेश लेखकले जन्माएको नभई जनतालाई दुई बर्षमा संबिधान दिन्छौ भन्दै गरिब, किसान, मजदुर, भरियाको भर्याङ बनाई चारचार बर्षसम्म सत्ता र भत्ताको आलीशान महलमा निदाउनेहरुले जन्माएको हो । पहिलो संबिधानसभाको चुनाव २०६४ चैत्र २८ गते सम्पन्न भई पहिलो बैठक बसेको मिति २०६५ जेष्ठ १५ बसेको थियो । नेपालको अन्तरिम संबिधानको धारा ६४ बमोजिम नया संबिधान जारी गरिसक्नुपर्ने म्याद २ बर्ष ।

संविधानसभाको वैठक बसेको मितिले २०६७ जेष्ठ १५ नेपाली जनताले नेपालको संविधान पाइसक्नुपथ्र्यो । सत्तास्वादको उन्मादमा रमाएपछि संविधान बनाउने वाचा सबैले विर्सिए । सबैलाई जातअनुसार राज्य दिन खोजियो जसको कारण आज संघियता नै धरापमा परामा परेको छ । अखण्ड सुदुरपश्चिको आन्दोलन नेताहरुले संविधान जारी गरीसक्नुपर्ने मितिको २ वर्ष पछि अर्थात २०६९ बैसाख १३ बाट हो । २०६७ जेष्ठ १५ मै संबिधान जारी गरिदिएको भए जनताले विशुद्ध जातीय राज्य बाहेक जस्तोसुकै सिमांकनपनि स्वीकार्न तयार थिए । अनि कहाँ बाट जन्मिन्थ्यो अखण्ड र खण्डको नारा ?

निर्वाचन नै लोकतन्त्रको जननी हो । लोकतान्त्रिक मुलुकमा जुनसुकै निर्णयपनि जनताको मतद्धारा नै निक्र्यौल गरीन्छ । हिजो सुदुरपश्चिमको मौजुदा संरचना कायम राखिनुपर्छ भन्ने दलहरुलाई जनताले दुईतिहाई बहुमत दिएपछि मौजुदा संरचना खण्डित पारीनुपर्छ भन्नेहरु त्यतिबेलै अत्तालिएका थिए । निर्वाचनमा वहिष्कृत भएकै कारण उनीहरु उत्तेजक भाषण तथा पैसाको सहारा लिन बाध्य भएका हुन ।
सुदुरपश्चिमको अन्तिम राजनैतिक निकास :

त्यसैले   प्रदेश नं. ७ को पहिलो मुख्यमन्त्री थारु समुदायबाट बनाइनुपर्छ र यो समुदायलाई यस प्रदेशमा  राजनैतिक तथा अन्य क्षेत्रमा विषेश आरक्षणको व्यवस्था गरीनुपर्छ । यसमा  चित्त नबुझे जनमतसंग्रहको विकल्पपनि खुला राखिनुपर्दछ । काठमाण्डौको वातानुकुलित भव्य कोठामा बसेर सिंगो सुदुरपश्चिम तथा कैलाली कञ्चनपुरको निर्णय गर्ने अधिकार अब कसैलाई छैन । दोस्रो संविधानसभाको जनादेश (मौजुदा संरचना कायम राखिनुपर्छ भन्ने पक्षधर ८५ प्रतिशत), सदियौ देखिको दोहोरो बसाई, गरीबी, विकास विहिनता तथा झण्डै आधा जनसंख्याको दैनिक आम्दानी १.२५प्रतिशतपनि नभएको सुदुरपश्चिमलाई एउटा छुट्टै प्रदेश बनाउदा उपयुक्त हुन्छ भन्ने सुदुरपश्चिममा ठुलो जनमत छ ।

दोस्रो संविधानसभाको निर्वाचन मत परिणामलाई आधार मान्दा थारु समुदायको चित्त दुख्छ भने कैलाली र कञ्चनपुरमा मौजुदा ९ जिल्लाकै संरचना कायम राख्ने वा तराईका दुई जिल्ला बाहेकको प्रदेश बनाउने भन्ने विषयमा जनमतसंग्रह गरेर टुंगो लगाइनुपर्छ । फेरी चार दलका चार नेताले कैलाली कञ्चनपुरबारे कुनै निर्णय गरेभने त्यो अर्को पक्षलाई मान्य नहुने संकेत सोमबारको घटनाले देखाईसकेको छ किनकी कैलाली कञ्चनपुरको फैसला गर्ने व्यक्ति न चार दल हुन न सद्भाव विथोल्ने बहिष्कृतहरु नै ।

अन्तमा,

सभासद अमरेश कुमार सिंह, संघिय सद्भावनाका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले वर्षौदेखि मिलेर बसेका थारु पहाडी समुदायको सामाजिक सद्भाव भड्काउन टीकापुरमै भाला, तरवार लिएर भिड्न निर्देशन गरको १० औ दिनमा एसएसपी लक्ष्मण न्यौपानेको छातीमाथी त्यहि ठाउ भाला प्रहार गरीएको छ, स्मरणीय रहोस् सो भाषणपश्चात कैलालीका जनताले यी तीन नेतालाई लखेट्ने भएपछि उनै लक्ष्मण न्यौपानेले सुरक्षित रुपमा टीकापुरबाट पास गराएका थिए ।  


भाद्र ९, २०७२ को अनलाइनखबर.कममा प्रकाशित 
See more at :

No comments:

Post a Comment