Thursday, April 10, 2014

अघिल्लो संविधानसभाको पाठ


                                                                   
                                                                                                                                      कृष्ण महरा

तत्कालिन नेकपा माओवादीको सशस्त्र दन्द्ध र विद्रोहको युगबाट  बाह्रबुदे सहमतिको बाटो हुदै लोकतान्त्रीक प्रकृयामा सफल अवतरण,दोस्रो जनआन्दोलनमा जनताको विजय र माघ १९ को शाही घोषणामार्पmत अपदस्त गरिएको व्यवस्थापिका संसद पुनस्र्थापना, सहमति र सहकार्यको दस्तावेज नेपालको अन्तरिम संविधान २०६३ निर्माणसंगै सम्पुर्ण नेपाली जनता तथा राजनैतिक दलको ईच्छा, चाहना र प्रतिवद्धताले ऐतिहाँसिक संविधानसभा २०६४ को जन्म दियो । सुरुमा २०६४ जेठमै नेपाली धर्ती टेक्ने  भनिएको संविधानसभा विविध कारणवस मंंंशिरहुदै चैतको न्यानो समयमा जन्मिदा खुसीको बेग्लै रौनक लिएर आएपनि दुर्भाग्य संविधान दिन नपाउदै निको नहुने रोगले थलिएर देहावसान हुदा तिन करोड नेपालीका रंगिन सपनाहरु चिहानमा पछारिन पुगे । नेपालमा सरकारको वैधानिकता गुम्यो । अन्तराष्ट्रिय जगतमा नेपालको छवि त्यति उचो रहेन जति विद्रोहि माओवादीलाई शान्तीप्रकृयामा ल्याउदा थियो ।

 वि.सं २०६९ जेठ १४ गते राति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको अवसान भएको घोषणा गरिरहदा दोस्रो जनआन्दोलनमा ज्यानको बाजी थापेका नेपालीहरु भने वि.सं २०६३ बैसाख ११ गते राति तत्कालिन राजा ज्ञानेन्द्रर्ले जनताको नासो जनतालाई नै फिर्ता दिए’ भन्दै गरेको घोषणा झल्झली सम्झिरहेका थिए । कतिले दोस्रो जनआन्दोलनमा बगाएको रगत बालुवामा पानी खन्याए झै भएको सम्झेभने कतिले देशमा राष्ट्रपति शासन लागुहुने सम्मका कुरा गर्न भ्याए । परिणामस्वरुप नेपालमा संविधानसभा २०७० को उदय भयो । अल्पायुमै अवसान भएपनि पहिलो संविधानसभाले अविस्मरणीय शिक्षा दिएको जोसुकैले भुलेरपनि विर्सन नहुने कुरा हो । दोस्रो संविधानसभाको उदय र प्रादुर्भावको श्रृंखला यस्तो छ ।

दोस्रो संविधानसभाको चुनावी यात्रा ः
सधैंको मंशिर झै २०७० को मंशिरपनि सिरेटो र चिसोसंगै आरम्भ भयो । प्रकृतिको समयसारणीभित्र तापक्रमको सुचक त्यतिमाथिसम्म नल्याउने मंशिर यसपाली  भने आम जनमानसमा भित्रैदखि हर्ष र उल्लासको न्यानोपना छरिरहेको देखिन्थ्यो । पहिलो संविधानसभा संविधान विना नै अवशान  भएको पिडा दोस्रो संविधानसभाको निर्वाचन घोषणा संगसंगै कम भई निर्वाचनको तिथि मुखैमा पुग्नु देशव्यापी जनमानसको हर्षोल्लासको कारक थियो । राष्ट्रव्यापी चुनावको सरगर्मी, जताततै ठुल्ठुला सभा र भाषण, जिन्दावाद मुर्दावादका नारा, नेताबोक्ने हेलिकप्टरको क्यार क्यार, पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको लर्को र निर्वाचन विथोल्न सडक संघर्षमा सकृय झुण्डको असिनपसिन अवस्था देख्दा मंशिरको सुरवात नभई जेठ महिनाको सुरवात भईरहेको झझल्को दिईरहन्थ्यो ।

कोहि जनतासंग दुईतिहाइ मत माग्न देशदौडाहमा थिए भने कोहि गाँउबस्तीका झुपडिहरुमा हात जोड््दै भोट मागिरहेका देखिन्थ्ये । कतिपय सभाहरुमा त आफु र आफ्नो पार्टीको प्रतिवद्धता जनतासमक्ष लैजानु भन्दापनि नेताहरु अर्काकै आलोचना, टिकाटिप्पणी र खेदो खन्दैगर्दा समय घर्किएको मेसो पाउनुहुन्नथ्यो । कोहि प्रत्यक्षको टिकट थमाएर हौसिएका थिए भने कोहि निर्वाचन आयोगको मतदाता नामावलीमा नाम नहुदा पाईसकेको टिकट खोसिएकोमा ढालिसकेको गैडा खाग ताछ्न नपाउदै वनरक्षकले समातेझै  भक्कानिरहेका देखिन्थ्ये । समानुपातिककोे बन्दसुचीमा पर्न लविङ गर्नेहरुले त झन पार्टी कार्यालयहरुको प्राङगणले  थेगिनसक्नेगरी डेरा जमाईसकेका थिए ।  चुनावअघि र पछि कहिल्यै गाँउ नझुल्किने नेताहरुको चुनावको बेलाको शिथिल बोली र मलिन अनुहार  देख्दा अब भने नेताहरु सुध्रिएछन है भन्ने कुराको आभास हुन्थ्यो ।
संविधानसभाको सकसपुर्ण गठन ः 
जतिवर्ष कुकुरको पुच्छर सिधागरेपनि वाङगैहुन्छ भनको साचो रहेछ ।  निर्वाचनपश्चात धेरै नेता तथा राजनैतिक दलहरु राष्ट्रपति र उपराष्ट्रपति फर्ने कि, भनेर पनि झुक्किएछन तर जनादेशको मतलब राष्ट्रपति र उपराष्ट्रपति फर्ने भन्ने होईन, यसको अभिप्राय  त नयाँ संविधान मार्फत नेपालकै मुहार फर्ने भन्ने हो ।  नेताहरुले आफ्नो कमजोरी र जोकोहीलाईपनि ननिको लाग्नेकुरा समानुपातिक सभासदहरुको चयनमा देखाईसकेका छन । कसैलाई पार्टी, देश र जनताको लागी रगत बगाउने रामकुमारीभन्दा पैसाको खोला बगाउने दामकुमारी राज्यलक्ष्मी प्यारी भईन, कसैलाई कर्तव्य ज्यानमुद्धामा नेपालप्रहरीले चौबिसै घण्टा खोजिरहेका अपराधीलाई तिनकरोड नेपालीको सदासदाका लागी भविष्य निर्माण गर्ने संविधानसभामा प्रवेश गराएर देश र जनतासामु अस्लिल गर्व गर्ने रहर लाग्यो ।

 धेरै जिल्ला नसमेट्दै कसैलाई एउटै जिल्लाबाट पुरै फुटबल टिम पठाई जनमतको घोर अपमान गर्ने कुबुद्धिले जरा गाड्यो । त्यसैगरी आफ्ना श्रीमती, साला, भाईको साली, मितवहिनी, राष्ट्राध्यक्ष र सरकारप्रमुखको नाम थाहा नपाएका, पार्टी अध्यक्ष र पार्टी कार्यालय नै नदेखेका तथा सकभर ग्रीनकार्ड होल्डरलाई समासद बनाउनु नै आफ्नो कर्तव्य ठान्ने अर्कोथरी मठाधिसहरुपनि समानुपातिक सभासद चयनको शिलशिलामा नभेटिएका होइनन । यसले प्रत्यक्षमा स्थान नपाएका अल्पसंख्यक, सिमान्तकृत, पछाडि पारिएका, र प्रत्यक्ष चुुनावमा आफ्नो स्थान सुरक्षित गर्न नसक्ने विभिन्न जातजाति, लिंग, अवस्था र क्षेत्रको उचित प्रतिनिधित्व गर्न विश्वमै उत्कृष्ट समानुपातिक निर्वाचन प्रणालीको कतै नेपालमा गलत प्रयोग त भएन भन्ने प्रश्न आज जताततै उठाएको छ । अझ राष्ट्रिय जीवनमा महत्वपुर्र्ण योगदान पु¥याएका विशिष्ट व्यक्तिहरु र प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका व्यक्तिहरुको मनोनयनमा के कस्ताहरु अनुहारहरु पर्ने हुन त्यो भने हेर्न वाकी नै छ ।
पहिलो संविधानसभाको दुखद अवसान र सन्देश ः
नेपालका राजनैतिक दल तथा नेताहरुमा रत्तिभरपनि नैतिकता र शरम भएको भए वि.स. २०६७ जेठ १५ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिईसक्नुपर्दथ्यो ।  अहिलेसम्म मुलुकले नयाँ संविधानको अभ्यास गरेको पनि तीन वर्ष भईसक्थ्यो । राज्य स्थायित्व र सम्वृद्धितर्फ अगाडि वढिसकेको हुन्थ्यो । देशभित्रै विकाश, निर्माण तथा रोजगारीका अवसरहरु सिर्जना भई एक छाक खाना र एक सरो लुगाकै लागी गरीब नेपाली दाजुभाई, दिदीवहिनीहरुले सातसमुद्रपारी कतारको टन्टलापुर घाम र खाडीमुलुकमा तेलको भड्डिहरुमा पोलिनुपर्ने थिएन । आज यस्तो एकै महिनामा विदेशबाट उनान्सय नेपाली आमाका निर्दाेष सन्तानहरुको लास आएको चित्कारपुर्ण खबर सुन्नुपर्ने थिएन । सोच्नुस त उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाटो भएर विदेशिदा कस्ता रङिन चकमन्न सपनाहरु सजाएर परदेश हानिएका होलान । अहिलेपनि लाखौ नेपाली युवाहरु नचाहदा नचाहदै अर्काको देशमा कौडिको भाउमा आफ्नो श्रम र पसिना बेच्न वाध्य छन । त्यहाँ नेपाली कामदारहरुको न कुनै ईज्जत छ न परिश्रमको मुल्य नै ।यसको बारेमा कसले सोचिदिने ? उनिहरुले विदेश जादा निकालेको ऋणको व्याज कति पुगेको होला ? के चार–चार वर्षसम्म संविधान नै नबनाई तलब र भत्ता खानमात्रै पल्केका र देशको संक्रमण लम्ब्याउने नेताहरुले दिनसक्छन यसको जवाफ ?

दशवर्षे सशस्त्र दन्दको शान्तिपुर्ण अवतरण  र दोस्रो जनआन्दोलनको सफलतासंगै जनताको अभिमत लिएर पहिलो संविधानसभामा गएका माननीयहरुमध्ये कतिले नाम कमाए, कतिले दाम कमाए अझ कतिले त वदनामसमेत कमाए । दाम र वदनाम कमाउनेहरुको हविगत दोस्रो संविधानसभाले देखाइसकेको छ । यो संविधानसभामा पनि जनताको आशा र अभिलासालाई विर्सेर रातारात दाम र सुन्दै ननिको लाग्ने वदनामको पगरी भिर्नेहरुको हालत नजिकै आइरहेको स्थानीय निकायको निर्वाचनले स्वतः देखाउनेछ । कोही रातो पासपोर्ट काण्डमा मुछिए भने कोहि विभिन्न देशको नागरिकता लिई नागरिकता ऐन २०६३ को उपहाँस काण्डमा र कति त अस्पतालका कर्मचारी तथा सिडिओ कुट्न  समेत तम्सिए । तेस्रोे मुलुक प्रवेश गर्दा भिसा र पासपोर्ट अनिवार्य आवश्यक पर्ने एक सामान्य नागरिकलेसमेत बुजिरहदा नेपालका मन्त्री एवं सभासद विदेशी विमानस्थलमा भिषा अभावमा घण्टौ थुनिनुले अन्तराष्ट्रिय जगतमा राष्ट्रकै वेईज्जत भएको थियो ।

संविधानसभा भवनभित्र वैठक चलिरहदा आफ्नो हात जगत्नाथ गर्न पाईएन भन्दै सभासदजस्तो गरिमामय पदमा आशिन व्यक्तिले वैठक कक्षबाट झ्यालको सिसा फुटाउदै कुर्सी बाहिर हुत्याएको खबर र दृश्य जोकोही नेपाली र नेपालप्रति माया गर्ने विदेशी समेतले सुन्न र हेर्न नचाहेको दृश्य थियो । देशको आयव्ययको सम्पुर्ण हरहिसाब बोकेको व्रिफकेसमाथी माननीेयहरुले मुक्का हान्नु उक्तपदले नसुहाउने कुरा समेत देख्नुप¥यो । सभासद भईसकेपछि मन्त्री बन्नकै लागी पार्टीको योगदान, जनताको विश्वास र अभिमतलाई लत्याउदै अर्को पार्टीमा पोईल जाने धिनलाग्दा हर्कतसमेत विगतको संविधानसभामा देखिएकै हुन ।   पार्टीभित्र पद र पैसाकै लागी गुट उपगुट सिर्जना गर्ने, पार्टी फुटाउने र सरकार गिराउनेजस्ता नाजायज खेल खेल्ने त कति हुन  कति । पछिल्लो चरणमा विभिन्न सभा तथा चिया पसलहरुमा नेता तथा सभासदहरुलाई दिएको थप्पड, जिल्ला प्रवेशमा लगाएको रोक, पुत्लादहन तथा राजनितीक दल  र  तिनका नेताहरुप्रति जनताको घृणा, तिरस्कार एवं वहिस्कार जनताको आशा र धैर्यताको बाँध फुटुनुको परिणाम हो ।

हो, पहिलो संविधानसभाले कयौ प्रशंसनीय, आशलाग्दा र उदाहरणीय कार्यहरु नगरेको होईन । गणतन्त्र, धर्मनिरपेक्षता,स्वतन्त्र न्यायपालिका, पुर्ण प्रेस स्वतन्त्रता तथा आधारभुत मानवअधिकार जस्ता विषयमा केही दलबाहेक सबैजसो राजनैतिक दलहरु सैदान्तिक सहमत भई संविधान निर्माणको लगभग असी प्रतिशत काम सम्पन्न भईसक्दासमेत संघियता र राज्यपुनर्संरचनाको सवालमा जातियपहिचान वा सामथ्र्यको आधार र एकलपहिचान वा वहुपहिचान भन्ने मुद्धामै तीनकरोड नेपालीको सुनौलो भविश्य बोकेको संविधानसभारुपी जहाँज अवतरणको क्रममा दुर्घटनाग्रस्त हुनु मुलुकको संम्वृद्धिमार्फत विदेशीहरुसंग प्रतिस्पर्धा गर्ने लाखौ नेपालीका सपना संविधानसभाको दुर्घटनासंगै खरानीमा मिसिए । अब उप्रान्त त्यस्तो दुःखद खबर सुनेर जोसुकै नेपालीले मुटू छियाछिया पार्न चाहेका छैनन । यसै सन्दर्भमा संवैधानिक कानुनका ज्ञाता एवं नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेश दत्त भट्टका शब्द सापट लिने हो भर्ने संविधान सहमतिको दस्तावेज हो, हुन त संविधान बहुमतीय प्रक्रियाबाट पनि जारी गर्न सकिएला तर त्यसरी जारी गरिएको संविधान चीरकालप्रर्यन्त दीगो हुन्छ भन्न सकिदैन’

अबको बाटो ः 
ती त भए विगतका कुरा । हामिले जतिसुकै अगाडि बढ्यौ भनेपनि विगतलाई कहिल्यै भुल्नुहुदैन । जब विगत भुलिन्छ तब प्रगति हुदैन । विगत त्यस्तो आधार हो जसले प्रगतिको सुचकका रुपमा कामगरि वर्तमानलाई झकझक्याईरहेको हुन्छ । अब उप्रान्त लम्बिदो संक्रमणकालका कारण नेपाल र नेपाली जनताले भाग्नुपरेका समस्या, बेरोजगारी, निराशा, मानसिक तनाब र वैचारिक विचलनलाई नजिकबाट नियालेका दोस्रो संविधानसभाका नवनिर्वाचित माननीयहरुले पहिलो संविधानसभाको  अवसानबाट पाठसिक्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपालको गुम्न लागेको प्रतिष्ठा र छवि बचाउन दलहरुले वाचा गरेअनुरुप एक वर्षभित्रमा संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान जारी गर्न सक्नुपर्दछ ।

आफुले आफ्नो अमुल्य मत खसालेको दिनदेखी नेपाली जनता त्यहि दिनको प्रतिक्षामा छन जुुनदिन काठमाण्डौको टुडिखेलमा लाखौ जनताहरुको बिचबाट तीन करोड नेपालीको भविष्यको फैसला गर्ने कानुनी दस्तावेज संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७१ घोषणा हुनेछ  र सोही दिन म र मेरी आमासंगै कयौ नेपाली आमाबुवाहरु काठमाण्डौ टुडिखेलर्को  संविधान घोषणासभा’ मा पुग्नेछौ र मेरी आमाको जस्तै कयौ नेपाली आमाबुवाहरुको  संविधान घोषणा भएको हेर्ने अभिष्ट पुरा हुनेछ । सभासदहरु फुलमाला र अविरले सजिएका हुनेछन । संगसंगै नेपालका विभिन्न शहर तथा प्रवासमा रहनुहुने सम्पुर्ण नेपालीहरुले खुसियाली मनाउनेछन, घरघरमा दिपावली गर्नेछन । खाडिमुलुकमा श्रम गर्न गएका नेपालीहरुले सम्मान पाउनेछन र विदेशीहरुले नेपाल र नेपालीहरुलाई ईज्जत गरेको पहिलोपटक सुन्नेछन । नेपाललाई वान की मुन, भ्लादमिर पुटिन,र टोनि अब्बोट जस्ता हस्तिहरुका वधाई एवं शुभकामना सन्देशहरु एकैचोटि वर्सनेछन ।  त्यसैदिन तय हुनेछ अमेरीकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण । त्यो दिन नेपालले इतिहाँस रच्नेछ र इतिहाँसका पानाहरु स्वर्णीम अक्षरले कोरिनेछन ।
निष्कर्ष ः 
अन्तमा, पहिलो संविधानसभामा जस्तो यो संविधानसभामा माननीयहरुले वालापनप्रवृति नदेखाउन, सभासद पदको गरिमा र नेपाली जनताको भरोसा एवं विश्वासलाई हृदयङ्गम गरुन, प्रत्यक्ष चुनावको परिणाम बहिस्कार, समानुपातिक सभासद छनौटको बेलाको अस्वभाविक दृश्य र सरकारको नेतृत्वका लागी  पार्टीभित्रैको हानथाप–गुटउपगुटजस्ता  अनावश्यक अपवित्र  प्रवृतीहरु अब उप्रान्त संविधान निर्माणको शिलशिलामा देख्न र सुन्न नपरोस; सशस्त्र दन्द्ध, ऐतिहासिक जनआन्दोलन, सदियौदेखिको राजतन्त्रको विधिवत अन्त्य संगसंगै पहिलो संविधानसभाको संविधान विना नै दुखद् अवशानपछि पनि राष्ट्रले नयाँ संविधानसभामार्फत संविधान दिन सक्दोरहेछ भन्ने विश्वमै उदाहरणीय काम गरोस । यहि नै नेपाल र नेपालीको अन्तर्मनको ईच्छा हो ।    


      चैत्र २७ को नागरिक दैनिकमा प्रकाशित
See more at :

1 comment: