Thursday, October 26, 2017

गौतम हत्या प्रकरणः भारतसँग क्षतिपुर्ती भराईपाऊ !

भारतीय एसएसबीको गोलीबाट मृत्य भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमलाई नेपाल सरकारले शहिद घोषणा गर्दै गौतम परिवार र नाबालिक सन्तानको शिक्षा दिक्षा एवं राहत स्वरुप १० लााख रुपैया क्षतिपुर्ती दिने निर्णय गरेको छ । शहिद घोषणा र नाबालिक सन्तानको शिक्षा दिक्षाको जिम्मा सरकारले लिनु स्वागतयोग्य कदम हो । क्षतिपुर्तीका सन्दर्भमा भने सरकारले भारत सरकारसँग भराउनु पर्दछ यसको अर्थ नेपाल सरकारले आर्थिक सहयोग गर्न हुन्नथ्यो भन्ने चाँहि खोजिएको होइन । 

-कृष्ण महरा 
नेपाली भूमीमा प्रवेश गरी नेपाली नागरिकको नै हत्या गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जगन्य अपराधको भारत सरकारले माफी माग्नु पर्छ। भारत सरकारसँग क्षतिपुर्ती वापत कम्तिमा १ करोड भारतीय रूपैँया भराई गौतम परिवारलाई उपलब्ध नगराएसम्म गौतम हत्याको उचित सम्मान भएको ठहरिने छैन ।  

नेपाल सरकारले बुझ्नु पर्दछ, गौतम नेपाल विरुद्ध कथित जनयुद्व लडेका होइनन् न सीमापारीबाट नेपाल प्रहरीलाई ढुंगा नै हानेका हुन्। गौतम त्यस्ता व्यक्ति पनि थिएनन् जो नेपाली जनताको जीउधनको रक्षार्थ खटिएका सुरक्षाकर्मीको हत्या गरी  हजारौँ नारीहरुको सिउँदो रित्याउँदै हिडे।  

गौतम ती व्यक्ति हुन् जो भारतीय सीमा सुरक्षा बल, एसएसबीसँग आफ्नो मातृभूमीको रक्षार्थ बिना कुनै हतियार मुकाविला गर्न तयार भए र त्यसै शिलशिलामा ज्यान गुमाउन पुगे। उनको तुलना आजसम्मका कुनै पनि शहिदसँग हुन सक्दैन। आफ्नो देशको अस्तित्व रक्षाका लागि विदेशीसँग भिड्ने उनी एक मात्र शहिद हुन्। सरकारले यो कुरा भुल्नु हुँदैन नेपाल आमालाई लक्षित गरी अर्को देशबाट प्रहार गरिएको मिसाइल सरी गोली छेक्ने उनीमात्रै पहिलो नेपाली हुन् ।

उनी र अन्य शहिदलाई एउटै साँचोमा राखेर दाँज्न कदापी मिल्दैन। अहिलेसम्म जति जना शहिद बने, सबै नेपाल विरूद्ध वा नेपालमा प्रचलित शासन व्यवस्था विरुद्ध नै लडेका थिए चाहे राणा शासनमा होस् वा पञ्चायत वा शाही शासनमा नै किन नहोस् । भारतले देखाएको हेपाहा प्रवृति आजमात्रै होइन, इतिहाँसको कालखण्डमा कयौँपटक देखाएको छ । देशका सत्तरी भन्दा बढी ठाउँमा सीमा मिचिएका छन् । सीमानामा वाँध निर्माण गरी कयौँ विगाहा जमिन र बस्ती नै डुबाएको छ घिनलाग्दो हर्कत स्वाधिन र स्वाभिमान नेपालीले विर्सन सकेको छैन । बर्दियामा बर्दीसहित नेपालीको घरमा प्रवेश गरी खानतलासी लिएको धेरै भएको छैन। पुनर्वास आनन्दबजारको घटना एके ४७ सहित मध्य नेपाल पुगिसकेका भारतीय एसएसबीलाई ससम्मान भारत पुर्‍याइनुको परिणाम हो ।

सीमा क्षेत्रमा आफ्नो नागरिक मारिएपछि भारत सरकारसँग उचित क्षतिपुर्ती माग गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुको बदलामा उल्टै सीमा क्षेत्रमा कर्फ्यू लगाइरहेको छ । भारत सरकारसँग क्षतिपुर्ती भराई अब उप्रान्त यस्तो गम्भीर गल्ती नदोहोरिने प्रतिवद्दता आए सीमा क्षेत्रमा कसैले पनि विरोध प्रदर्शन गर्ने थिएन ।

जनप्रतिनिधिको नाममा राज्यकोषबाट करोडौ बुझ्नेहरू भारतीय एसएसबीले गोली नै नचलाएको तर्क गर्दै दूतावासका प्रवत्ता बनिरहेका छन्। भारतीय एसएसबीबाट गल्ती भएको लगभग स्वीकार गरिसक्दा पनि भारतले क्षतिपूर्ती दिनुपर्छ भनेर कसैले पनि भन्न सकिरहेको छैन। अझ कतिपयले गौतमको हत्यालाई एकजना व्यक्तिको हत्या समेत भन्न भ्याएका छन्। गोविन्द गौतम माथीको प्रहारलाई व्यक्तिको हत्या देख्ने दृष्टिदोषी र सुस्तमनस्थितिहरुलाई एकचोटी तिलगंगा र न्युरो अस्पतालमा आफ्ना आँखा र मानसिक स्वास्थ्य परिक्षण गराउन अनुरोध गर्न चाहन्छु।

भारतीय एसएसबीले नेपाली भूमीमा प्रवेश गरी नेपालीकै हत्या गरेको छ । यो देशमाथिको आक्रमण हो, नेपाली सार्वभौमसत्तामाथि भारतको सांघातिक हमला हो । भारतीय गोली गोविन्द गौतमको छातिमा होइन, नेपाल आमाको छातिमा प्रहार गरिएको हो । यसको सबै मिलेर मुकाविला गरिएन भने एकदिन नेपालको नाम इतिहासमा सीमित हुने प्रायनिश्चित छ। यस्तो जघन्य अपराधमा भारत सरकारसँग क्षतिपुर्ती भराई दोषीमाथि उचित कारबाही नगर्ने हो भने यस्ता अनगिन्ती घटनाहरु कालान्तरमा दोहोरिने निश्चित छ । 

सीमा क्षेत्रमा उत्पन्न समस्याको तत्कालिन समाधानका लागि सीमा सुरक्षा चौकी र सुरक्षाकर्मीको संख्या बढाइनु पर्दछ। दीर्घकालिन सीमा व्यवस्थापनका लागी देशमा राजनैतिक स्थीरता र आर्थिक विकाससँगै काँडेतार वा पर्खाल नै पनि नलगाउन सकिने भन्ने होइन तर यसको लागि सरकार, सम्पूर्ण राजनैतिक दल र जनस्तरबाट व्यापक सहयोग र समर्थन सँगै कुशल कुटनीतिको समेत उत्तीकै भुमिका रहनेछ।

नेपालको सीमानामा काँडेतार वा पर्खाल लगाउने भन्ने कुरा फेसबुक वा ट्वीटरमा लेखे जसरी सहज भने पक्कै छैन तर असम्भव पनि छैन । यसको लागि सबैभन्दा पहिला सरकारको सीमा व्यवस्थापन सम्बन्धी आधिकारिक नीति बन्नु जरूरी छ। देशको सीमाना संविधानको अनुसूचीमा राख्न नचाहने राजनैतिक दल भएको देशमा अझै आफ्नै आँगनमा कति गौतमहरुले गोली खानुपर्ने हो, यो विचारणीय प्रश्न आज हामी सबै माझ तेर्सिएको छ । 

पुनर्वास आनन्दबजारको समाधान कर्फ्यू हुँदै होइन, देश र मातृभूमीका रक्षक बर्दी विनाका सिपाहीहरुमाथी निषेधाज्ञाको डण्डा युद्व जितेर आएको सिपाहीलाई लात हान्नु हो। त्यसैले, विन्ती छ सरकारगोविन्द गौतमको परिवारलाई भारत सरकारद्धारा क्षतिपुर्ती भराई न्याय दिलाइ पाऊ  

फागुन २९, २०७३ को सेतोपाटी.कममा प्रकाशित 
See more at :


No comments:

Post a Comment