Friday, October 27, 2017

पाखा पारिएको कर्णाली र सुदूरपश्चिम

निर्वाचन आयोगले असोज २० गते प्रदेश सभा समानुपातिक निर्वाचन निर्देशिका २०७४स्वीकृत गर्दै विभिन्न २१ जिल्लाका ५७ वटा स्थानीय तहलाई प्रदेशअन्तर्गतका पिछडिएको क्षेत्रकायम गरेको छ । उक्त सूची बदरको माग राख्दै सर्वोच्च अदालतमा असोज २९ गते रिट दर्ता भई कारण देखाउ आदेशसमेत जारी भएको छ । 
-कृष्ण महरा 


पिछडिएको क्षेत्र निर्धारण गर्दा भौगोलिक विकटता, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत मानव विकास सूचकांकको स्थिति, विकासका पूर्वाधारहरूको उपलब्धतालाई आधार मानिनुपर्ने हो, तर पछिल्लो सूचीकरण यस्ता आधारअनुसार छैन ।

विभिन्न ६ जिल्लाका नौ नगरपालिकासमेत पिछडिएको सूचीमा सूचीकृत छन् भने अत्यन्त विकट कयौं गाउँपालिका उक्त सूचीमा छैनन् । पूर्वसचिव बालानन्द पौडेल नेतृत्वको स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले २४१ नगरपालिका र ४६२ गाउँपालिका प्रस्ताव गर्दै प्रतिवेदन २०७३ पुस २२ मा सरकारलाई बुझाएको थियो । उक्त आयोगले घोषणा गरेका नगरपालिका पिछडिएको क्षेत्रको सूचीमा पर्नु तर त्यही आयोगले संरक्षित क्षेत्र भनेर घोषणा गरेका गरिएका गाउँपालिकासमेत नपर्नुले शंका गर्ने ठाउँ दिएको छ ।

संवैधानिक आधार :
नेपालको अन्तरिम संविधान २०६३ ले समावेशीकरणको सिद्धान्तलाई मौलिक हकको रूपमै आत्मसात गरेपश्चात् २०६४ सालपछि कर्णाली अञ्चलका पाँच जिल्ला, सेतीका तीन र भेरीको एक गरी नौ जिल्लालाई पिछडिएको क्षेत्र कायम गरिएको थियो । त्यतिबेलै महाकाली अञ्चलको दार्चुला पिछडिएको क्षेत्रमा पर्नलायक भए पनि पारिएन । 
नेपालको संविधानको धारा १८(३) ले सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले पिछडिएको क्षेत्रको नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाइएको मानिने छैनभनी व्यवस्था गरेको छ । तर यस्ता कानुनहरू बन्न बाँकी नै छ । त्यस्तै धारा ४२(१) ले सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका वास्तविक पिछडिएको क्षेत्रका नागरिकको समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने हकहुने व्यवस्था गरेको छ । यी दुई धारामा गरेको व्यवस्था पिछडिएका क्षेत्रका जनताका विशेष हक हुन् । पिछडिएका क्षेत्रका नागरिकको यो हकसँग बाझिने गरी संसद्ले समेत कानुन बनाउन नसक्ने परिस्थितिमा एउटा संवैधानिक निकायले निर्देशिका बनाउँदै संविधानले दिएको हक कटौती गर्ने अधिकार छैन ।

महत्वपूर्ण कुरा संविधानको धारा ४६ ले मौलिक हकहरूको कार्यान्वयनका लागि संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ भनिएको छ । त्यसैले अब आउने संसद्लाई ३ असोज २०७५ सम्म पिछडिएका क्षेत्रसम्बन्धी कानुन नल्याई धरै छैन । संविधानको मौलिक हकको बेवास्ता गरेर ल्याइएको निर्देशिका त के ऐन नै भए पनि बदर हुन्छ ।

अल्पकालीन र दीर्घकालीन असर :
निर्देशिकाको नियम १३ अनुसार उम्मेदवारहरूको बन्दसूची पेस गर्दा सबै प्रदेशबाट निश्चित प्रतिशतका आधारमा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिनुपर्छ । त्यसमध्ये सबैभन्दा धेरै प्रदेश ६ बाट ३२.४ र प्रदेश ७ बाट १२.७८ प्रतिशत प्रतिनिधित्व गराउनुपर्छ । यो निर्देशिकाअनुसार हुने हो भने वास्तविक पिछडिएका क्षेत्रका जनताको प्रतिनिधित्व निश्चित रूपमा घट्नेछ, यो तत्कालीन असर हो ।
दीर्घकालीन रूपमा यी क्षेत्रहरू पाँच वर्षसम्म आफ्नो प्रतिनिधित्व गराउनबाट वञ्चित हुनेछन् । कर्णाली र सुदूरपश्चिमले अहिल्यै यसको प्रतिवाद गरेनन् भने पछि पिछडिएको क्षेत्रसम्बन्धी कानुन बन्दा यसै सूचीलाई आधार मान्नसक्ने र वास्तममै पिछडिएको क्षेत्रलाई सधैंका लागि छुटाउने ठूलो खतरा छ ।

अहिले कतिपयले बुझेजस्तो २०६४ पश्चात् कर्णालीलगायत सुदूरपश्चिमका पिछडिएका क्षेत्रमा समेटिएका नौ जिल्लालाई हटाइएको होइन । ती जिल्ला सम्बन्धित कानुन संशोधन नहुन्जेल वा पिछडिएको क्षेत्रसँग सम्बन्धित कानुन नबनेसम्म पिछडिएकै क्षेत्रमा छन् र हुनेछन् । प्रतिनिधित्वको सवालमा प्रदेश सभा निर्वाचनको लागि अहिले ती वास्तविक पछाडि परेका क्षेत्रहरूलाई नसमेट्ने हो भने पछि कानुन बनाउँदा पनि नसमेट्ने डर हुन्छ ।

संविधानले कर्णाली, सुदूरपश्चिमलगायतका क्षेत्रलाई अधिकारसम्पन्न बनाउने तर नियमावली र निर्देशिकाले वास्तविक पिछडिएको क्षेत्रभन्दा बेग्लै क्षेत्रलाई पिछडिएको घोषणा गरिदिँदा कर्णाली र सुदूरपश्चिम अझ पाखा पर्न सक्छन् । त्यसैले पिछडिएका क्षेत्रको प्रतिनिधित्व कैलाली, सुर्खेत र बाँकेले गर्ने नेपालको संविधानको धारा १८(३) र ४२(१) को उद्देश्य किमार्थ होइन ।

कस्तो पिछडिएको क्षेत्र ?
तर्कहरू अनेक गर्न सकिएलान् तर जुम्लाभन्दा सुर्खेत पिछडिएको भन्न मिल्दैन । निर्देशिकामा सुर्खेतका दुई स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत छन् भने जुम्लाका एउटा पनि छैन । राज्यले अध्ययन गरेर सबैभन्दा पछाडि परेको क्षेत्रलाई धरातलीय यथार्थको आधारमा पिछडिएको क्षेत्र कायम गर्नुपर्छ, अनुमान र पहुँचको भरमा होइन । अध्ययन र अनुसन्धानपश्चात् विधायिकाले कानुन बनाई नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक धरातलको गहन मूल्यांकनपछि मात्रै छुट्टयाइनुपर्छ।

यस क्षेत्रका जनतालाई राज्यको मूल प्रवाहमा समाहित हुन समावेशीकरण र सकारात्मक विभेदलगायतको माध्यमद्वारा विशेष संरक्षण प्रदान गरिन्छ । सरकारी सेवा प्रवेश होस् वा अन्य कुनै उच्च शिक्षा अध्ययनकै विषय किन नहोस्, पिछडिएका क्षेत्रका नागरिकका लागि राज्यले आरक्षणको व्यवस्था गरेको हुन्छ । अन्य क्षेत्रको भन्दा पिछडिएका क्षेत्रमा राज्यको लगानी बढी हुन्छ । अझै पनि ध्यान नपुर्‍याउने हो भने यसले नेपालको संविधानले परिकल्पना गरेको समावेशीकरण र समानुपातिक विकासको परिकल्पना निरर्थक हुन्छ ।

कुनै क्षेत्र सधैं पिछडिएको क्षेत्रमा राखियोस् र त्यसको नाममा राज्यबाट आरक्षणलगायतका सुविधा निरन्तर प्राप्त भइरहोस् भन्ने पंक्तिकारको आशय हुँदै होइन । संविधानले पिछडिएको क्षेत्रका नागरिकलाई राज्यको निकायमा सहभागी हुन पाउने गरेर दिएको अधिकार वास्तविक पिछडिएको क्षेत्रका जनताले उपभोग गर्न पाऊन् भन्ने मात्रै हो । त्यो पनि निश्चित समयसम्म । उदाहरणको लागि सुदूरपश्चिम भौगोलिक, आर्थिक रूपमा मात्रै होइन, सामाजिक र सांस्कृतिक रूपमै पनि पिछडिएको छ भन्ने तर पिछडिएको क्षेत्र कायम गर्दा सुदूरपश्चिम पर्नुनपर्ने ?

दार्चुलामाथि फेरि अन्याय :
नगरपालिकासमेत पिछडिएको क्षेत्रमा सूचीकृत हुँदा पनि विकट दार्चुला जिल्लाका नौवटा स्थानीय तहमध्ये कुनै पनि नपारिनु उक्त जिल्लामाथि २०६४ साल र अहिले पनि नियोजित रूपमै अन्याय परेको देखिन्छ । आफ्नै जिल्ला सदरमुकाम जान पनि भारतको बाटो भएर जानुपर्ने र गरिबी व्याप्त रहेको जिल्लाको एउटा पनि स्थानीय तह पिछडिएको क्षेत्रको सूचीमा नपर्नु दार्चुलामाथिको अन्याय नै हो ।

सुदूरपश्चिमको अवस्था :
सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ मा गरेको एक सर्वेक्षणअनुसार सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा छ । बाजुरा नेपालभरिको सबैभन्दा धेरै गरिब घरपरिवार भएको पहिलो जिल्ला हो भने बझाङ तेस्रो । बाजुरामा ६४.१ र बझाङमा ५६.८ प्रतिशत जनता चरम गरिबीको रेखामुनि छन् । सन् २०१४ को मानव विकास सूचकांकअनुसार नेपाल दक्षिण एसियामा छैटौं र विश्वमा १४५ औं स्थानमा छ । नेपालभित्रको कुरा गर्दा सुदूरपश्चिम मानव विकास सूचकांक (०.४३५) को सबैभन्दा पुछारमा रहेको छ । विश्व बैंकको सहयोगमा नेपाल सरकारले सन् २०१३ मा गरेको एक अर्को अनुसन्धानअनुसार नेपालका सबैभन्दा बढी गरिबीको चपेटामा परेका पाँचमध्ये तीन जिल्ला (बाजुरा, बझाङ र दार्चुला) सुदूरपश्चिमकै रहेका छन् ।

अन्त्यमा, यति धेरै भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछाडि परेका कर्णाली र सुदूरपश्चिमलाई पिछडिएको क्षेत्रबाट हटाइनु वा नसमेटिनु खेदजनक छ । अझ यस विषयमा त्यस क्षेत्रका जनताले व्यापक विरोध गरी सच्याउन माग गर्दा पनि सरकार तथा सरोकारवालाबाट कुनै पहलकदमी नगरिनु विडम्बनापूर्ण छ 


१०, कार्तिक, २०७४ को अन्नपुर्ण पोष्टमा प्रकाशित 
See more at:
  

No comments:

Post a Comment