Sunday, March 27, 2016

सुदुरपश्चिम विश्वविद्यालय : आन्दोलन व्यक्ति विरुद्ध होइन पद्दति विरुद्द गरौ /

सीतिमिति राज्यको नजर कमै पुग्ने सुदुरपश्चिममा २०६७ सालमा सुदुरपश्चिम विश्वविद्यालय स्थापना भएको खुसीयालीमा सारा सुुदुरपश्चिमबाासीहरुले घरघरमा दीपावली गरेपनि स्थापना सँगसँगै सुरु भएको राजनैतिक खिचातानी, हस्तक्षेपका कारण कतै जनताको खुसी निरासामा परिणत त हुने होइन भन्ने आशंका बढेको छ । सबैको विश्वविद्यालयको विकास, समृद्धि र उन्नतिका लागी भन्दा पनि विश्वविद्यालयमा हुने नियुक्तिमा के कसरी आफ्नो मान्छे पार्न सकिन्छ भन्ने होडबाजी हो भने सुदुरपश्चिम विश्वविद्यालय धरासयी र जरजर अवस्थामा पुग्ने निश्चित छ । 

अस्तिमात्रै रिक्त रहेको  डीन, परीक्षा नियन्त्रक र रजिष्ट्रारको पदमा नियुक्तिको विषयलाई लिएर गत माघ २२ गते देखि तालाबन्दी गरिएको सुदुरपश्चिम विश्वविद्यालय झण्डै आधा महिनाको तालाबन्दीपछि मात्रै खुलेको छ । यो विश्वविद्यालय स्थापनाको ५ वर्षे अवधीमा कम्तिमा तीन दर्जनपटकको बन्द हो । 

चरम राजनैतिक हस्तक्षेपकै कारण नेपालकै पुरानो र प्रतिष्ठित भनिएको त्रिभुवन विश्वविद्यालय  विश्वविद्यालयहरुको संसारिक दुनियाँबाट गुमनाम छ ।
  
विश्वका सुप्रसिद्ध विश्वविद्यालय  र नेपाल :
उच्च शिक्षाको क्षेत्रमा बहुप्रतिष्ठित लण्डनबाट प्रकाशित हुने टाइम्स हायर एजुकेसन पत्रिकाले गरेको एउटा अनुसन्धान अनुसार सन् २०१५ का विश्वका सवोत्कृष्ट ५ विश्वविद्यालयहरुमा क्रमशः क्यालिफोर्निया इन्स्टििच्युट अफ टेक्नोलोजी (अमेरीका), युनिभर्सिटी अफ अक्सफोर्ड(बेलायत),स्टान्फोर्ड युनिभर्सिटी(अमेरीका), युनिभर्सिटी अफ क्याम्ब्रिज(बेलायत), म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (अमेरीका) रहेका छन् ।

विश्वभरीका विश्वविद्यालयहरुको स्तर निर्धारण गर्ने अर्को चर्चित कम्पनी क्वाक्वाइरेइल साइमण्डस् (क्यु.एस.) का अनुसार एशिया प्रशान्त क्षेत्रमा सन् २०१५ का उत्कृष्ट ५ विश्वविद्यालयहरुमा क्रमशः नेसनल युनिभर्सिटी अफ सिंगापुर(सिंगापुर), युनिभर्सिटी अफ हङकङ(हङकङ), कोरीया अड्भान्सड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी(दक्षिण कोरीया), नयाङ्ग टेक्नोलोजिकल युनिभर्सिटी(सिंगापुर), हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी(हङकङ) रहेका छन् ।  

दक्षिण एशियाका यी उत्कृष्ट विश्वविद्यालयहरुबारे अझ मार्मिक कुरा त के छ भने क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहन सफल कोरीया अड्भान्सड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी(दक्षिण कोरीया), नयाङ्ग टेक्नोलोजिकल युनिभर्सिटी(सिंगापुर), हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी(हङकङ) त वि.स. २०२७ र २०४७ सालमा मात्रै स्थापना भएका छन् । 

त्रिभुवन, काठमाडौं, पोखरा, पुर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि , र सुदुरपश्चिमाञ्चल विश्वविद्यालय गरी ९ वटा विश्वविद्यालयहरुमध्ये कुनै एक मात्र  विश्वविद्यालय माथी उल्लेखित विश्व शैक्षिक जगतका हस्ति टाइम्स हायर एजुकेसन र क्यु.एस. दुवैको अध्ययन अनुसार १००० भित्र पनि नपर्नु नेपालका राजनितिज्ञ, शिक्षाविद्, विद्यार्थी एवं सारा बौद्धिक जगतका लागी साह्रै मार्मिक र घतलाग्दो विषय हो । अझ विश्वविद्यालयमा राजनीति गरिरहने विद्यार्थी नेता, नियुक्तिमा राजनैतिक अंशवण्डा खोज्ने राजनैतिक दल तथा त्यस्तो नियुक्तिमा पर्न मरीहत्ते गर्ने प्राध्यापकहरुले त यो विषयमा गहिरो ढंगले सोच्नुपर्ने बेला आएको छ । राजनैतिक चलखेल र असहयोगकै कारण त्रिभुवन, काठमाडौं र पोखरा विश्वविद्यालय बाहेकका सबैजसो विश्वविद्यालयहरु केबल स्थापनामा मात्रै सीमित छन् । 

सुदुरपश्चिमेली विश्वविद्यालय : स्थापना र आन्दोलन
सारा सुदुरपश्चिमबासीहरुको आन्दोलनपश्चात सरकारले सुदुरपश्चिम विश्वविद्यालयको उद्घोष गरिरहँदा सबैले सोचेका थिए, अब सुदुरपश्चिमबाट उच्चशिक्षा अध्ययनका लागी काठमाडौं जानु पर्दैन भनेर तर अहिले त्यसको ठीक विपरीत भइरहेको छ । स्थापनापश्चात् विश्वविद्यालय एउटा निर्णय गर्छ, विद्यार्थी संगठनहरु आन्दोलन र तालाबन्दी गर्छन् । २०७० फागुनमा एउटा शिक्षक नियुक्तिको विषयलाई लिएर उपकुलपतिसहित विश्वविद्यालयका सम्पुर्ण पदाधिकारीहरुलाई राजिनामा गर्न बाध्य गराइएको थियो । संविधान निर्माणपश्चात् पनि मुलुक आज जसरी संक्रमणकालबाट गुज्रिरहेको छ, सुदुरपश्चिम विश्वविद्यालय पनि यस्तै आन्दोलन, बन्द र तालाबन्दीको शिकार हुने गरेको छ । 

सिद्धनाथ विज्ञान क्याम्पस : विश्वविद्यालयमा समाहित गर्ने वा नगर्ने ?
सुदुरपश्चिम विश्वविद्यालयमा आन्दोलनको मुद्दा बनाईएको अर्को विषय हो, त्रिभुवन विश्वविद्यालयको सुदुरपश्चिमस्थित एकमात्र आंज्ञिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयमा मिलाइनुपर्छ वा पर्दैन भन्ने । यसमा राजनैतिक दल, विद्यार्थी संगठन तथा सुदुरपश्चिम विश्वविद्यालयसमेत दोधार र अन्यौलमा परेको अवस्था छ । एउटा पक्षको भनाई छ, सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयमा मिलाइनुपर्छ र अर्को पक्षको भनाई त्रिभुवन विश्वविद्यालयको एकमात्र आंज्ञिक क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयमा मिलाईनु हुदैन् । यसमा दुवै पक्षका आ–आफ्नै तर्क रहेका छन् । पहिलो पक्षको तर्क छ, सिद्धनाथ विज्ञान क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसलाई नै आधार बनाएर सुदुरपश्चिममा विश्वविद्यालयको स्थापना गरिएको हो, दोस्रो पक्षको तर्क छ, ‘त्रिभुवन विश्वविद्यालयको सिद्धनाथ विज्ञान क्याम्पस र सुदुरपश्चिम विश्वविद्यालयबीच प्रतिस्पर्धा गरी अझ दुवैको गुणस्तरमा ध्यान दिनका लागी भएपनि यी सिद्धनाथ विज्ञान क्याम्पस विश्वविद्यालयमा समाहित गरिनुहुन्न’ । 

सिद्धनाथ विज्ञान क्याम्पसलाई लिएर विश्वविद्यालयमा आन्दोलन गर्नु भनेको विश्वविद्यालयलाई अस्थिर बनाउनु हो । त्रिभुवन विश्वविद्यालयको चल–अचल सम्पति त्यति सहजै सुदुरपश्चिम विश्वविद्यालयमा गाभ्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ ले समेत प्रष्ट व्यवस्था गरेको देखिदैंन । त्रिभुवन विश्वविद्यालयको आंज्ञिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसको भौतिक सम्पति, शिक्षक तथा अन्य कर्मचारी वैधानिक रुपमा सुदुरपश्चिम विश्वविद्यालयमा नआएसम्म सो क्याम्पस सुदुरपश्चिम विश्वविद्यालयमा गाभिएको मान्न सकिदैन ।     

विश्वविद्यालयको कानूनी व्यवस्था :
सुदुरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा ३ को उपदफा (२) अनुसार ‘यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल सरकारबाट अनुदान प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा सञ्चालित सिद्धनाथ विज्ञान क्याम्पस, भीमदत्तनगर र सम्बन्धन प्राप्त सिद्धनाथ बहुमुखी क्याम्पस भीमदत्तनगरलाई सयुँक्त रुपमा समावेश गरी सोही परीसरमा यो विश्वविद्यालयको स्थापना गरीनेछ’ भनिएको छ ।  

अर्को विरोधावास कुरा के छ भने त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा ४ को उपदफा ३ बमोजिम ‘विश्वविद्यालयले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ’ भनिएको छ । अहिले सुदुरपश्चिम विश्वविद्यालयमा देखिएको जस्तो एउटा विश्वविद्यालयको सम्पत्ति अर्को विश्वविद्यालयमा कसरी समाहित गर्ने भन्ने व्यवस्था न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ ले गरेको छ न सुदुरपश्चिम विश्वविद्यालय ऐन २०६७ ले नै । सम्पत्ति कसरी हस्तान्तरण गर्ने भन्ने विषयमा तत्तत् विश्वविद्यालयका सभाको काम कर्तव्य र अधिकारमा समेत केहि उल्लेख गरिएको छैन । यसको लागी अब संसदबाटै त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को संसोधन गरी उक्त विवाद समाधान गरिनु नै उपयुक्त हुनसक्छ । विश्वविद्यालय स्रोतका अनुसार यो विवाद समाधान गर्न हाल एउटा समिति बनाइएको छ, समितिको निर्णयपछि सम्भवतः यो विषयको अन्तिम टुंगो लाग्नेछ । 

विश्वविद्यालयमा राजनैतिक हस्तक्षेपको एउटा दृष्टान्त : 
सरकारले विश्वविद्यालयमा ठाडो हस्तक्षेप गरेको एउटा नमुना म यहाँ प्रस्तुत गर्न चाहन्छु । 
गएको असोज १४ गते नेपाल सरकार मन्त्रीपरिषदले जाँदाजाँदै ‘सुदुरपश्चिम विश्वविद्यालय’को नाम फेरेर ‘द्वारीकादेवी ठकुरानी विश्वविद्यालय’ राख्ने निर्णय ग¥यो । संसदले नै विधेयक पास गरेर ‘सुदुरपश्चिम विश्वविद्यालय’ नामाकरण गरेको यसको नाम सरकारले परिवर्तन गर्नु हाँस्यास्पद र लाजमर्दो विषय हो । विश्वविद्यालय नामले भन्दापनि कामले चिनिने क्षेत्र हो । विश्वविद्यालयमा यो भन्दा ठुलो राजनैतिक हस्तक्षेप अरु के हुनसक्छ ? 

सरकारले नाम परिवर्तन गरेसँगै विद्यार्थी संगठनहरुको सुरु भयो विद्यार्थी आन्दोलन र तालाबन्दी । जसका कारण विश्वविद्यालयमा नियमित पठनपाठन, परीक्षा कार्यक्रम लगायत प्रशासनिक कामहरुसमेत ठप्प भए । विश्वविद्यालयमा महिला कुलपति आउने वितिकै नामसमेत परिवर्तन गरी महिलाकै नाम राख्न खोजियो भनेर उपकुलपति प्राध्यापक भुषण श्रेष्ठमाथी आरोमसमेत लाग्यो । नाम परिवर्तनका सम्बन्धमा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ भन्नुहुन्छ, ‘नाम परिवर्तनका सम्बन्धमा सरकारबाट निर्णय भएको हो, विश्वविद्यालयलाई समेत यसको जानकारी थिएन’ । जबसम्म विश्वविद्यालयबाट यस्तो प्रत्यक्ष राजनीतिको अन्त्य गरीदैन तबसम्म विश्वविद्यालयको उत्थान देख्नु दिवास्वप्नसिवाय अरु केहि हुन सक्दैन ।   

विश्वविद्यालयमा राजनीति : यसो गरे कसो होला ? 
राजनीतिलाई विश्वविद्यालयबाट सधैँका लागी विदाई गर्न नसकिएला तर हाल भइरहेको प्रत्यक्ष राजनीतिलाई केही पर भने गर्न सकिन्छ । यसको लागी सबैभन्दा पहिला देशको प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री वा राज्यमन्त्री सहकुलपति हुने व्यवस्था अन्त्य हुनुपर्दछ । प्रधानमन्त्री वा मन्त्री जननिर्वाचित राजनैतिक व्यक्ति हुन् । उनीहरुले देशको दैनिक प्रशासन सञ्चालन गर्ने हो । जोसुकै मन्त्री तथा प्रधानमन्त्रीको औपचारीक विश्वविद्यालयको डिग्री नहुन पनि सक्दछ । विश्वविद्यालय विशुद्ध प्राज्ञिक र प्राविधिक क्षेत्र हो । प्राज्ञिक क्षेत्रमा दखल नभएको व्यक्ति विश्वविद्यालयको सर्वोच्च पदमा हुनु विश्वविद्यालयको मुहान नै राजनैतिक छत्रछायाको वरीपरी हुनु हो । मानार्थ नै मान्ने हो भनेपनि कुलपति र सहकुलपति पदलाई क्रमशः राष्ट्रपति र उपराष्ट्रपतिलाई बनाउन सकिन्छ । जसले गर्दा सरकार फेरिएसँगै फेरिने कुलपति र सहकुलपतिको प्रभाव सिंगो विश्वविद्यालयमा पर्ने परिपाटी अन्त्य हुनेछ । निश्चित मापदण्ड पुरा गरेका प्राध्यापकहरुमध्ये खुला प्रतिस्पर्धा नै उपकुलपति नियुक्तिको आधार हुनुपर्दछ । रजिष्ट्रार, परीक्षा नियन्त्रक, डीन तथा अन्य सबैे पदमा नियुक्ति गर्दा खुला प्रतिस्पर्धालाई नै नियुक्तिको मुख्य आधार बनाउन सके कसैको निगाहमा नियुक्ति पाउने परिपाटीको अन्त्य हुनेछ ।  
  
सुदुरपश्चिम विश्वविद्यालय : हाम्रो दायित्व 
सुदुरपश्चिम विश्वविद्यालय राज्यद्धारा सुदुरपश्चिमलाई माया गरेर उपहारस्वरुप प्रदान गरिएको होइन्, सारा सुदुरपश्चिमेलीहरुको त्याग, तपस्या, आन्दोलन र अनसन्पश्चात प्राप्त उपलब्धी हो । झापा, इलामतिर बाट कोही आएर सुदुरपश्चिमेलीहरुको लागी विश्वविद्यालय सुधार गरिदिने होइन । कम शुल्कमा गुणस्तरीय शिक्षा पाउने सबै नेपाली जनताको हक सुदुरपश्चिम विश्वविद्यालयले सुनिश्चित गर्नुपर्दछ, यसबाट विमुख भई सर्वसाधारणको पहुँचभन्दा कोसौ टाढा हुने, कार्यक्षमता, दक्षता र उत्कृष्टलाई वेवास्ता गर्ने  अधिकार सुदुरपश्चिम विश्वविद्यालयलाई कदापी छैन् । आन्दोलन र अनसन्मार्फत सुदुरपश्चिम विश्वविद्यालय ल्याएका हौँ भन्दैमा सामान्य कुरालाई पनि राजनैतिक रंग दिई विश्वविद्यालय गुड्ने फलामे डण्डीमा धराप थाप्ने अधिकार कसैलाई पनि छैन् । विश्वविद्यालयलाई अधोगतितर्फ धकेल्न उद्दत जोसुकै भएपनि काह्रबाहीको भागिदार बन्नैपर्दछ । 

सिंहदरबारमा गद्दिमा आसिन सरकारले दशकौँ पछि सदियौँदखि अपहेलित सुदुरपश्चिमलाई एउटा विश्वविद्यालय खोल्ने अनुमति दिएकै दिनदेखि कहिले विद्यार्थी संगठन, कहिले स्वयम् सरकार त स्थानीय बौद्धिक वर्गकै कमजोरी र असहयोगका कारण पाँच वर्ष अगाडी देखिको कैलाली बहुमुखी क्याम्पस धनगढी र जयपृथ्वी बहुमखी क्याम्पस बझांग लाई आंगिक क्याम्पस बनाउने र प्रत्येक वर्ष दुईवटाका दरले यस क्षेत्रका अन्य क्याम्पसहरुलाई पनि आंगिक क्याम्पसको मान्यतादिने सुदुरपश्चिम विश्वविद्यालयको योजना मरुभुमीमा पानीसरह गुमनाम भएको छ । एउटा क्याम्पस गाभ्ने वा नगाभ्ने, डीन वा नियन्त्रक कसलाई राख्ने भन्ने सामान्य विषयमा नै महिनौ विश्वविद्यालय बन्द गर्ने हो भने सुदुरपश्चिम विश्वविद्यालयले मेडिकल साइन्स, सुचना प्रविधि, जनप्रशासन तथा पत्रकारीता विषयमा  कहिले आफ्नो अध्यापन र अनुसन्धान सुरु गर्छ ? माथी उल्लेखित संसारका सुप्रसिद्ध विश्वविद्यालयबाट केहि सिक्ने कि नसिक्ने ?  

अन्तमा सुदुरपश्चिम विश्वविद्यालय अमेरीकाको हारवर्ड विश्वविद्यालय बन्नुपर्दछ जसले विश्वमा प्रत्येक वर्ष अत्याधुनिक दक्ष मानवस्रोत उत्पादन गर्दछ । सुदुरपश्चिम विश्वविद्यालय विश्वविद्यालयका नाममा एउटा गुमनाम पानीभित्रको भ्यागुतो होइन सलल बग्ने कञ्चन शिक्षाको छहरा बन्नुपर्दछ । यसको लागी तपाई हामी सबैको उतिकै सहयोग र सद्भाव चाहिन्छ, त्यसैले आउ मिलेर बनाउ सुदुरपश्चिम विश्वविद्यालय । 

लेखक कानूनका विद्यार्थी हुन्  । 
फागुन २१, २०७२ को दैनिकनेपाल.कममा प्रकाशित 
See more at :




1 comment: