Friday, June 19, 2015

रेमिट्यान्सको गर्भमा अदृश्य पीडा

                                                                                                                                                                                                                                                                               –कृष्ण महरा      
 
 “अरु त सब ठिकै थ्यो  तर एउटा कुरा तिम्लाई नभनौ भन्दापनि मनमा राख्न सकिन, हुन त तिम्लेपनि सुनिसक्यौहोला । हेर छोरा, तिमी विदेश जानुभन्दा पहिले बुहारी घरभन्दा अन्त कतै जादैनंथी, तँ विदेश गएको एकवर्ष सम्मपनि बुहारीले घर छोडेको थिएन । गाँउमा कसैसंग नहाँस्ने, नबोल्ने लाटिजस्तै बुहारी आज सबैसंग हाँस्न, बोल्न थालेकि छिन, आफ्नो लवाईखवाई र चालचलनमा यिनको जोड अचाक्ली बडेको छ । अब त हाम्रो गाँउभन्दा उपल्लो गाँउको मेलामहोत्सवमा पनि बुहारी एक्लै जान थालेकि छिन ।

हिजोआज  त शहर बजार जाँदा एक्लै जान्छिन र मोबाइल समेत  बोक्ने भएकि छिन । गत दुई महिनादेखि  हामै्र पारिपट्टि खुलेकोे सडकको काममा जादैछिन । हाम्रो गाँउका कुनैपनि महिला जादैनन, तिमीपनि नजाउ भन्दा फिटिक्कै मान्दिनन । सरकारी सडक निर्माण चलिरहदा कतिपय पुुरुषहरुसंग हाँसो मजाक गरिरहन्छिन भन्नेकुरा गैरीगाँउकि मितिनीले सुनाईरहदा म नाजवाफ भए । अस्तिमात्रै हाँटबजार जाँदा अपरिचित पुरुषसंग मुख मिठ्याई मिठ्याई बोलेको तिम्रै बाउले सुनेका रहेछन र पो मेलै आज तिम्लाई भन्ने आँट गरे ।  अझ तल्लाघरे साँईलाको व्रतबन्धमा त उसैले त्यो पारिपट्टि रोडमा काम गर्ने ठेकेदारलाई आफ्नै हातले खाना समेत खुवाईन भन्ने गाँउभरी हल्ला छ ।

यो वेलिविस्तारको संवाद केहि महिना अगाडि गाँउ जाँदा सुनेको थिए । ती महिला छोराको हालखबर भन्दापनि बुहारीको खेदो खन्ने ध्याउन्नमा व्यस्त थिईन । मेरो उपस्थितिको चाल पाएर होला हतार हतार फोन राखिन र आफ्नो कामधन्दामा फर्किइन  । म भने रेमिट्यान्सले छाक टारिरहेको मुलुकमा यति घतलाग्दो व्यथा भित्रीएको देखेर हृदयमा अविरल अश्रुधारा बगाउदै मन सम्हालिरहेको थिएजसले मलाई यति धेरै घोत्लिएर सोच्न बाध्य बनायो ।

आँखिर कस्तो भयो होला सातसमुद्रपारीको विरानो मुलुकमा परदेशीको मन  त्यस्तो समाचारले ? म  स्तब्ध भए अनि झल्झली सम्झे देशमा महिला अधिकार र नारी समानताको आवाज उठिरहदा एउटा नारीमाथि अर्को नारीको यस्तो प्रहार  हाम्रो जस्तो देशको चौतर्फी विकाश गर्न महिला अधिकार र नारी समानता खोजिरहेको मलुकका लागी पक्कैपनि उक्त शंकैशंकाको जालो राम्रो र सुहाउदो संकेत  कदापी हुन सक्दैन । विश्वमा महिलाले राष्टाध्यक्ष तथा सरकारप्रमुख र नीतिनिर्माण तहको सफल नेतृत्व गरीसक्दासमेत नेपाली समाजमा श्रीमान परदेशीएकी एउटा  महिलाको घरबाहिर गरिने काम, समाजका सबै वर्गसंग गरीने व्यवहार र  वहस, गाँउछिमेकमा भईरहने विकाश निमाणमा हुने सक्रिय सहभागिता तथा महिलाको प्रविधीको उपयोगमाथी शंकालु नजरले हेरिनु नेपाली समाज लैंगिक समविकासमा विकसित मुलकको दाँजोमा धेरैपछाडि भएको गतिलो प्रमाण हो ।

उसो त पुरुषप्रधान नेपाली समाजमा महिलाको हकहित संरक्षण र सम्वर्धन गरी विकाशको मुलप्रवाहमा महिलालाई प्रभावकारी रुपमा समाहित गर्न र महिलाको समग्र विकाश गरि लैंगिक न्याय कायम गर्नकै लागि राष्ट्रिय महिला आयोगको स्थापना भएको समेत  बर्षौ भईसकेको छ ।  अझ नोबेम्बर २५ देखि डिसेम्वर १० सम्मको लैंगिक हिंसाविरुद्दको सोह्र दिने अभियान त झन महिलाविरुद्द हुुने सबै प्रकारका हिंसा अन्त्यका लागि अर्को उदाहरणीय कोशेढुंगा हो ।

उक्त अन्तराष्ट्रिय अभियानमा महिलामात्र नभई सबै लिंग, जातजाति, क्षेत्र, पेशा, धर्म तथा संकृतिका व्यक्तिहरुको साथ र ऐक्यवद्दता अति आवश्यक छ । सरकारी सेवा तथा संस्थानहरुमा कर्मचारी भर्ना गर्दा महिलाका लागी कोटा छुट्टिनु र महिलाका नाममा जग्गा वा सम्पति नामसारी गर्दा राजस्वमा छुट दिईनु महिला अधिकार सुनिश्चितका क्षेत्रमा नेपाल सरकारको प्रशंसनीय कार्य हो । जनगणनाको नतिजाले महिला तथा पुरुषका् संख्था झण्डै बराबर देखाइरहदा चाहे  संविधान सभामा समानुपातिक सभासदहरुको छनौट गर्दा होस अथवा राज्यका महत्वपुर्ण निकायमा गरिने नियुक्ति नै किन नहोस, महिला र पुरुषको  समान प्रतिनिधित्वको आवाज उठ्नु स्वभाविक हो र त्यो हुनुपनि पर्दछ ।

काठमाण्डौमा महिला हिंसा रोक्न बालुवाटार सत्याग्रह चलिरहदा नेपालकै ग्रामिण क्षेत्रमा एउटा महिलामाथि गरिएको आशंका र अति संकुचित उक्त व्यवहारले  महिला अधिकार र महिला हिंसाका क्षेत्रमा माथी उल्लेखित सुमार्गी प्रयासहरु नेपाली ग्रामीण समाजसम्म पुग्न नसकेको प्रष्ट हुन्छ ।  वैदेशिक रोजगारीमा आफ्नो पसिना र मेहनत कौडिको भाउमा बेच्नु जोकोहि नेपालीको पनि रहर नभई वाध्यता हो ।

घरबाटै एजेन्ट, काठमाण्डौमा म्यानपावर, विमानस्थमा दलाल र विदेशमा कम्पनी मालिक र म्यानेजरद्धारा नराम्ररी ठगिदै परिश्रमको कमाईसमेत हातमा थमाउन नपाएका परदेशी श्रीमानकी श्रीमतिले एकछाक खाना र नाना जुटाउनकै लागी पल्लो गाँउमा काम गर्न जादा, अपरिचित पुरुषहरुसंग बोल्दा तथा हाटबजार एक्लैजाँदा गाँउ समाजको नजरमा एउटा घरमुलिले आफ्नो अपमान र वेइज्जत भएको ठान्दै यस्ता नानाथरी कुरा सातसमुद्रपारी परदेशी कानमा पु¥याइनुले नेपाली समाज अठारौ शताब्दितिर धकेल्ने मात्र नभई परदेशी श्रीमान र घरदेशी श्रीमतीबीच दरार नल्याउला भन्न सकिन्न । 

यी र यस्ता घटनाले के कुरा प्रष्ट्याउछ भने जबसम्म लैंगिक हिंसाविरुद्धको अभियानका अलौकिक नाराहरु ग्रामिण र शहरिया नारीहरुको मानसपटलबाट एकैसाथ घन्किदैनन वा एउटा महिलाको भावना र आत्मसम्मानको कदर अर्को महिलाबाट स्वस्फुर्त र प्रेरणादायी ढंगबाट हुनसक्दैन तबसम्म नेपालजस्तो गाँउ नै गाँउले भरिएको देशमा महिलामाथी हुने जुनसुकै प्रकारका हिंसाको पनि शतप्रतिशत निर्मुल सोच्नु बालुवामा पानी खन्याउनुसिवाय अरु केही हुन सक्दैन । 

मैले महिलामाथी हुने हिंसा महिलाबाटमात्रै हुन्छ भन्ने कुराको पैरवी÷वकालत गर्न खोजेको कदापि होईन, अर्थ त्यसो नलागोस । महिला हिंसाविरुद्धको उर्लदो सयकरोड अभियान होस वा बोक्सीविरुद्धको सामाजीक ऐक्यवद्धताको सुरवात होस, नेपाली समाजको दुरदराजका संकुचित मस्तिष्कहरुमा गुञ्जन सके साच्चिकै यस्ता अभियान र अभियन्ताहरुको अभिष्ट अवस्य पुरा हुनेछ जुन अति आवश्यक छ । 

श्रीमती र आमाबाबुलाई एकसरो लुगा र एकमुठी चामल कमाउनकै लागी आफुसंग भएको चलअचल सम्पति धितो राखेरै भएपनि मनमा अनगिन्ती चकमन्न सपनाहरु सजाउदै आफ्ना श्रीमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाटो भएर परदेश हानिएकै बेलादेखि कतिपय विचलित पुरुष मनहरुको वक्रदृष्टिको छायापर्नु, अपरिचित व्यक्तिहरु संग बोल्दापनि कतिपय समाजकै अगुवाहरुलेसमेत संसयको नजरले हेर्नु, मोबाइल फोनबाट कुरा गरिरहदा चियो गरिनु वा परिवारकै सदस्यहरुबाट स्पष्टिकरण मागिनु तथा आफ्नो र देशकै भविष्यका कर्णधार कलिला बालबालिका, संगै जिउने र संगै मर्ने वाचाकसम खाएकि जीवनसंगिनी, प्रोढ अवस्थाले नेटो काट्दै गर्दा सहराको महशुस गरिरहेका आमाबुबा, जन्मेहुर्केको गाँउवेशी र देशको माटोलाई केहि वर्षकै लागी भएपनि चटक्क छोडेर विदेशीएका श्रीमानलाई आफन्त र छिमेकिहरुद्धारा नै नानाथरी कुरा पु¥याइनुले विदेशमा भौतिक दुःखले रुमल्लिएका परदेशी संगसंगै मानसिक पिडाको चक्रव्यहमा पारिएका कयौ घरदेशी कोमल मस्तिष्कहरु सकसमा पारिएका छन ।

यी र यस्ता सानातिना कृयाकलापहरुतले कतै महिलाहिंसाको अदृश्य स्वरुप हामिबाटै मलजल त भईरहको छैन ? एकैपटक सबैले आआफ्नो हृदय छाम्नुपर्ने बेला भईसकेको छ । श्रीमान वैदेशिक रोजगारीमा जानुभन्दा ्पहिले समाजमा राम्रै नजरले हेरिएका महिलाहरु लाग्नेको विदेशयात्रा संगसंगै फरक दृष्टिले नजर राखिनु पक्कैपनि नेपाली समाजको विकाश र प्रगतिको हिसाबले राम्रो होईन ।

अस्थिर राजनिती र सक्षम राजनेताको अभावमा देशको आर्थीक, सामाजिक सम्वृद्धि र विकाशको  अस्तव्यस्तताले नचाहेरै धेरै नेपालीहरु विरानो मुलुकको बलौटे माटोमा पसिना चुहाउन विवश भएका छन । यसरी अल्पकालिन रुपमा  रेमिट्यान्सको भरले देश चल्न त सक्ला तर दीर्घकालिन रुपमा युवाहरुको उर्वरो उमेर विदेशीहरुकै स्वर्णीम भविष्य निर्माणमा खर्चिनु किमार्थ राम्रो होईन । यो विकराल समस्याको बारेमा सरकार, राजनैतिक दल तथा सम्पुर्ण सम्बद्ध निकायहरुको बलैमा ध्यान जान जरुरी छ ।

घरपरिवार, आफन्त तथा कतिपय छिमेकिहरुको संकुचित धारण र गलत संचारको लहैलहैको दुष्चक्रमा फस्दा कतिपय खाडिमुलुक तथा मध्यपुर्वीदेशहरुमा कामको शिलशिलामा परदेशिएका नेपालीहरुको पारिवारीक दाम्पथ्य जीवन धरापमा परिसकेको छ । वैदेशिक रोजगारीभित्रको यो अर्को महत्वपुर्ण चुनौति हो ।

गाँउघरबाट विदेशको कार्यस्थल नपुग्दासम्म चाहेर वा नचाहेरै सयौ ठाउँमा ठगिएका सोझा नेपालीहरु विदेशमा पुगिसकेपछि उधारो सम्झौतामा भनिएको र वास्तममै सुम्पिएको काममा आकाशधर्तीको फरक पाएपछि न छाड्नु न भिड्नुको अवस्थामा पुग्दछन । छोडु, भएभरको चलअचल सम्पति वन्धकीमा छ, भिडु कहिल्यै नदेखेका भिमकाय मेसीनहरुसंग जुध्नु छ । मासिक उनान्सय लास त्रिभुवन विमानस्थलमा अवतरण हुनुको रहस्यपनि यहि हो ।

तसर्थ, यी र यस्तै परदेशी तथा घरदेशीका समस्याको सुनामी निमिट्यान्न पार्न अब सरकारले रेमिट्यान्समा गर्व गर्ने दिन गईसकेका छन । देशको मुल कानुन संविधान निर्माण संगसंगै स्थायित्व, सम्वृद्धि र विकाशमार्फत आफ्नै राष्ट्रनिर्मामा सम्पुर्ण परदेशी तथा घरदेशी नेपालीहरुको चाहना हो ।
                                                              ,
माघ २३, २०७० को नागरिक दैनिकमा प्रकाशित
See more at :

No comments:

Post a Comment