Friday, June 19, 2015

बालिकाहरूको आत्महत्या ·

22 Apr 2015
·         बुधबार ९ बैशाख, २०७२
·         कृष्ण महरा
केही दिनअगाडि परीक्षामा असफल भएपछि चारजना किशोरीले महाकाली नदीमा हाम फालेर आत्महत्या गरे। विसं २०७१ साल को अन्तिम दिन अर्थात् चैत्र ३० गते सोमबार दार्चुलाको दत्तु गाविसस्थित राष्ट्रिय उच्च मावि दत्तुमा कक्षा ६ र ७ मा अध्ययनरत बालिका ममता चुनारा, नितु लुहार, पुजा कोली र अर्की ममता चुनाराले वार्षिक परीक्षामा निराशाजनक नतिजा आएको भन्दै महाकाली नदीमा हाम फालेर प्राण त्यागे। यस घटनाले सिंगो देशलाई स्तब्ध बनाएको हुनुपर्छ

आत्महत्या गर्नेमध्ये कक्षा छमा अध्ययनरत ममता चुनारा द्वितीय श्रेणीमा पास भएपनि उनले अन्य अनुत्तीर्ण साथीको साथ छोड्न नसकी मृत्युको बाटो रोजेकी रहिछन्। यसरी परीक्षामा फेल हुने कसैले मृत्युको बाटो रोज्नुपर्ने कुनै कारण छैन। न ती बालिकाहरूले कुनै अपराधै गरेका थिए न तिनको जिन्दगी समाप्तै भएको थियो। हाम्रो शिक्षा प्रणालीले ती अबोध बालिकालाई तर्सायो र अरू विकल्प देखाएन। विगतमा पनि खासगरी एसएलसी परीक्षामा अनपेक्षित नतिजा आएपछि बालबालिकाले आत्महत्या गरेका घटना सार्वजनिक भएका थिए। त्यसमा कसैले ध्यान दिएन

दार्चुलाका यी बालिकालाई एक प्रकारको मानसिक भयले आत्महत्या गराएकोे देखिन्छ। त्यस्तो भय उनीहरुले किन र कहाँबाट महसुस गरेका थिए भन्ने अनुसन्धान हुनैपर्छ। सञ्चार माध्यममा आएजस्तैे ती बालिकाले अभिभावककै डरले जीवन समाप्त गरेका हुन् भने सबै अभिभावकहरू गम्भीर बन्नुपर्छ। बालबालिकाको कोमल मस्तिष्कमा ज्यानै फाल्ने गरी आतंक फैलाउनु पाप र अपराध पनि हो । 

बालबालिका परीक्षामा अनुत्तीर्ण हुनुको कारण बालबालिकामात्र हुँदैनन्। मूलतः विद्यालयमा हुने पठनपाठन, शिक्षकको नियमितता, सिकाइको अनुगमन, अभिभावकले तिनलाई घरमा दिएको समय, शैक्षिक सामग्रीको उपलब्धताजस्ता विषय सिकाइ उपलब्धिका जिम्मेवार हुन्छन्। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ ले कक्षा १ देखि ७ सम्म उदार कक्षोन्नतिको व्यवस्था लागु गर्ने भनेको पनि नौ वर्ष बितिसक्तासमेत उक्त प्रावधान लागु गर्न नसक्नुले राष्ट्रकै गैरजिम्मेवारीपनको उदाहरण हो  

दाचुर्लाको यस घटनाबाट हामी बालबालिकालाई कस्तो शिक्षा दिइरहेका छौँ र देशको भविष्यको भविष्य कता डोर्यामउँदै छौँ भन्ने विषयमा पनि ध्यान दिनुपर्ने देखिएको छ। विगतमा पनि विभिन्न परीक्षामा फेल हुँदा बालबालिकाले जीवन त्यागेेका थिए। तिनमा राज्य र समाज गम्भीर भएन। अब पनि त्यस्तै उदासीनता रहिरहने भने भविष्यमा पनि यस्ता घटना दोहोरिन सक्छन्। यस्ता घटनालाई सामान्यरूपमा लिइयो भने कुनै दिन अझ भयावह दुर्घटना हुनसक्छ। यसमा सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षासँग सरोकार राख्ने सबै बुद्धिजिवी तथा पेसाकर्मी सचेत हुनु जरुरी छ। परीक्षामा ३२ अंक आए पास र ३१.९ आए फेल भन्ने प्रणाली अन्त्य गरी जतिसक्दो चाँडो ग्रेडिङ पद्धति'मा जानु अपरिहार्य देखिन्छ। वर्षका अन्तिममा एकै पटक विद्यार्थीको मूल्यांकन गर्नुको साटो निरन्तर मूल्याङ्कन पद्धति अपनाएर त्यसैका आधारमा कक्षोन्नति गरिनुपर्छ। 

यसैगरी परीक्षामा फेल हुनु जिन्दगी समाप्त हुनु हैन। अभिभावक, शिक्षक, नीति निर्माता सबैले जाँचमा फेल भएका विद्यार्थीलाई परीक्षामा फेल हुनु जीवनमै विफल हुनु होइन भन्नसक्नुपर्छ। सिद्धार्थ गौतमलाई बुद्ध बन्न कुनै परीक्षा पास गर्नुपरेन। जेनतेन तेस्रो श्रेणीमा पास भएका मोहनदास महात्मा गान्धी बने। स्कुलमा पढ्न छोडेर बगरमा कीरा फट्याङ्ग्रासँग खेल्दै बरालिने चार्ल्स डार्विन विकासवादी सिद्धान्तका पिता बनेर निस्के। बालबालिकालाई यस्ता उदाहरण दिएर सम्झाउनुपर्छ। समस्याले विकराल रूप नलिँदै बालबालिकालाई विद्यालयको परीक्षामा र पास फेलको भूतबाट मुक्ति दिलाउन तत्काल हरसम्भव प्रयास गर्नुपर्छ

९ बैशाख२०७२ को नागरिक दैनिकमा प्रकाशित  
- See more at:

No comments:

Post a Comment