Tuesday, April 19, 2016

दोधारा-झोलुंगे पुल : सुदूरपश्चिमको सान

सुदुरपश्चिम डायरी :
-कृष्ण महरा 
एशियाकै सबैभन्दा लामो झोलुंगे पुल पश्चिम नेपालको कञ्चनपुर जिल्लामै भएपनि परिस्थितीले झोलुंगे पुलको प्रत्यक्ष अवलोकन गर्ने अवसर भने मिलेको थिएन । सुदुरपश्चिमकै महत्वपुर्ण पर्यटकिय आकर्षणको केन्द्र दोधारा–झोलुंगे पुल अवलोकन गर्ने मौका जुराइदियो नयाँ वर्ष २०७३ ले ।


नयाँ वर्षको पहिलो दिन रमझम र खानपिनमै वितेपनि दोस्रो दिन झोलुंगे पुल घुम्न जाने योजना बन्यो । योजनाबमोजिम बैसाख २ गते विहानै प्रदेश नं. ७ कै महत्वपुर्ण पर्यटकीय क्षेत्र लागियो दोधारा झोलुंगे पुलतिर ।

महाकाली बाहिरको नेपाल भनेर चिनिने दोधारा–चाँदनी क्षेत्र पर्यटकिय क्षेत्र भनेर जति किताव र दैनिक पत्रपत्रिकाहरुमा पढियो त्यति किन पर्यटन विकास भएन ? दोधारा–चाँदनी क्षेत्रको वर्तमान अवस्था, पर्यटन विकास हुन नसक्नुका कारणहरु, समस्या र समाधानमा केन्द्रित एउटा रिपोर्ट सुदुर नेपालको दोधारा–चाँदनीबाट ।
झोलुंगे पुलमा तस्विर खिचाउदै आन्तरिक पर्यटक
पर्यटकीय सम्भावना :  
जसरी हिजोका दिनमा महाकाली पारीका दुईवटा गा.वि.स. कुन्–कुन हुन् भन्ने प्रश्नको सजिलो उत्तरमा दोधारा, चाँदनी आउँथ्यो आज दोधारा–चाँदनीको परिचय त्यतिमा मात्रै सीमित गर्नु  अन्याय मात्रै होइन सिंगो सुदुरपश्चिम क्षेत्र अझ प्रदेश नं. ७ कै अपमान हुन्छ ।   

कञ्चनपुर जिल्लाको सदुरमुकाम महेन्द्रनगरबाट दक्षिण–पश्चिममा रहेको दोधारा चाँदनी क्षेत्र भारतीय सिमानासंग जोडिएको नेपालको पश्चिमी सिमाना हो । यो क्षेत्र पर्यटनको लागी नेपालकै बहुचर्चित र प्रसिद्ध छ । अझ कञ्चनपुर जिल्लालाई त विश्वमै दुर्लभ बाह्रसिंगाको राजधानी नै मान्ने गरीन्छ । दोधारा–झोलुंगे पुल संगै जोडिएको शुक्लाफाँटा वन्यजन्तु आरक्ष र यहाँ रहेका जीव जन्तु, प्राकृतिक दृश्य तथा घाँसेमैदानहरुको अवलोकन गर्न संसारका कयौ देशहरुबाट विदेशी पर्यटकहरु आउने गर्दछन् । अझ पछिल्लो समयमा फस्टाएको थारु होमस्टे तथा कटेजहरुको रौनक पनि यहाँको पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।  

दोधारा झोलुंगे पुल भ्रमणको सुरवात :   
हामी मदन चोकमा पुग्ने वित्तिकै एकजना मोटरसाईकल चालकले सोधिहाल्नुभयो । 
‘सर झोलुंगे जाने हो’ ? 
‘हो हो’ , मैले टाउको हल्लाएमात्रै ।  
संगै एउटा म्याजिक पनि थियो । म्याजिक र मोटरसाईकलवालाहरु बीच कसले यात्रु आफुले ओसार्ने भन्ने विषयमा भनाभन र चर्काचर्की नै भयो । मोटरसाईकलले सय र म्याजिकले पचास रुपैयाँ मात्रै लिन्थ्यो ।  
महेन्द्रनगर-दोधारा यात्रु बोक्ने म्याजिक  
विहानको दश बजिसकेकोले गर्मी याममा हामीलाई जतिसक्दो चाँडो जानु थियो । मोटरसाईकल वा म्याजिक जुनमा गएपनि पैसाको खासै फरक थिएन । मोटरसाईकल चढ्ने वित्तिकै करिब पन्ध्र÷बीस मिनटमा पु¥याइदिन्थ्यो म्याजिकले यात्रु भर्दै कम्तिमा पनि आधा घण्टा र आधा घण्टा बाटोमा गरी एक घण्टा । समयको हिसाबले हामीले मोटरसाइकल नै रोज्नु थियो तरपनि हामीहरुले म्याजिक नै रोज्यौ किनभने हामीलाई दोधारा झोलुंगे पुल पु¥याउन तम्सिएका अधिकांश मोटरसाईकल भारतीय नम्बर प्लेटका थिए । सोच्यौँ हामीलाई झोलुंगे घुमाउने सवारी साधन कम्तिमा नेपाली नम्बरको होस्, नेपाल सरकारको आधिकारीक निकायमा दर्ता भएको होस् । 

सडक तथा हवाई यातायातको अवस्था :
यातायातको साधनको नाममा तीनै मोटरसाईकल र सानो म्याजिकबाहेक दोधारा झोलुंगे जान चाहने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागी गुणस्तरीय जीप, माइक्रोबस वा बसको व्यवस्था छैन । रोडको नाममा साँघुरो थोरै कालोपत्रे धेरै धुलाम्य सडक । त्यहि सडकमा हामी चढेको म्याजिक बाटोभरी अन्य यात्रुहरुलाई ओराल्दै चढाउदै अगाडी बढ्यो । सदरमुकाम महेन्द्रनगरबाट करीब चार÷पाँच किलोमिटर अघि बढेपछि आयो एउटा ठुलो खुल्ला चौर, कच्ची सडक जहाँ दर्जनौँको संख्यामा भैसी, बाख्रा अनि गाईगोरुहरु र त्यत्तिकै संख्यामा गोठालाहरु भेटिए । यस अघि त्यस ठाउँमा नगएका हामीले ड्राइभरलाई सोध्यौं, ‘दाई यो के हो’ ? 
माझगाउ एयरपोर्टमा चर्दै गाईभैंसी 
‘कञ्चनपुरको एयरपोर्ट यहि हो नि’, उसले सोझो उत्तर दियो । 
विश्वप्रसिद्ध दोधारा झोलुंगे पुल, बारसिंगाको राजधानी शुक्लाफाँटा वन्यजन्तु आरक्ष, सुप्रसिद्ध धार्मिक स्थलहरु विष्णुमन्दिर, शिवधाम, घटालबाबा, वैजनाथधाम, निंलाशैनी भगवती, र सिद्धनाथ तथा यस क्षेत्रका अति नै रमणीय बेतकोट ताल, बन्दा ताल,  झिलमिला ताल, रानीताल, प्यारा ताल एवं पुरैना ताल जस्ता कयौ पर्यटकिय स्थल रहेको कञ्चनपुर जिल्लामा एयरपोर्टको त्यो हालत देख्दा हामी अचम्भित मात्रै भएनौ नेपाल सरकारलाई देखेर दया लागेर आयो । 

एयरपोर्टको धावनमार्गमा गाई र गोरु दौडिरहेका थिए, जहाज पार्किङ गर्ने ठाउँमा भैसीहरु आराम गरीरहेका थिए जबकी नालायक सरकार र भ्रष्ट नेताहरुलाई नेता भई सरकारमा बस्नुको अलिकति पनि लाज हुन्थ्यो भने यस्तै नेपालका कयौं एयरपोर्टहरुमा भैसी होइन देश विदेशबाट वोइङ ४७७ जहाजहरु अवतरण र पार्किङ हुन्थे । भैसी गोठालाहरुको सट्टा देशी विदेसी पाइलटहरु हुन्थे । यस क्षेत्रका कसैले पनि दिल्ली र बेंलोरको होटलमा भाँडा माझ्न जानु पर्दैनथ्यो, दश हजारका लागी कतार र साउदी अरबका भेडीगोठमा आफ्नो जीवन लिलाम गर्नुपर्दैनथ्यो ।  

पुलमुनिको रित्तो सुख्खा वगर 
२०६८ सालमा तत्कालिन पर्यटन तथा नागरीक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले ‘दिपायल तथा कञ्चनपुरको एयरपोर्ट नियमित रुपमा सञ्चालन हुन्छ’ भन्दै फर्केका थिए तर मन्त्री काठमाडौं फर्केसंगै दिपायल र कञ्चनपुरमा पनि एयरपोर्ट छ भन्ने कुरा विर्सेछन् । गत फागुन २१ गते शुदुरपश्चिम क्षेत्रीय महोत्सव उद्घाटन गर्न दिपायल पुगेका उद्योग मन्त्री सोम प्रसाद पाण्डेले पनि दिपायल एयरपोर्ट सुचारु गर्ने बताएछन् । वहालवाला पर्यटन मन्त्री आनन्द पोखरेल मन्त्री निवासबाट तीन किलोमिटर दुरीमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छड्के गर्नु नै आफ्नो ठुलो उपलब्धी ठान्दै मिडियामा खुब छाउँछन् । 
तर मन्त्री ज्यू, कल्पना गर्नुहुन्छ छ ? 
कञ्चनपुरको मझगाँउ एयरपोर्टमा भैँसीहरुले सरकार, नेता तथा पर्यटनमन्त्रीहरुलाई गिज्याइरहेछन् र भन्छन् ‘जहाज राख्ने ठाउँमा हामीलाई राख्ने यो कस्तो देश ? सरकार चलाउनेहरु हाम्रै वंशका हुनुपर्छ र त हामीलाई एयरपोर्टको पाकिङमा बस्ने र धावन मार्गमा चर्ने व्यवस्था मिलेको छ’ ।  
एयरपोर्टपछि साँघुरो सडक हुदै लाग्यौँ दोधारा झोलुंगे पुल तर्फ । 

सदरमुकाम महेन्द्रनगरबाट १० कि.मि.को यात्रा पछि पुग्यौं दोधारा झोलुंगे पुल एशियाकै सबैभन्दा लामो(लम्बाई १४५२.९६ मिटर) झोलुंगे पुल हो । यो पुल निर्माण हुनुभन्दा पहिले दोधारा–चाँदनीका जनताले भारतीय भुमी बनबासा हुँदै नेपाल आउनु पर्दथ्यो । पुल निर्माण संगै आफ्नै जिल्ला सदरमुकाम आउँदा समेत विदेशी भुमी टेक्नुपर्ने आम नेपालीको वाध्यता हटेको छ । त्यस्तै पुल निर्माणले स्थानीय उत्पादनहरु सहजरुपमा बजारमा निर्यात गरी आयआर्जनमा समेत सहयोग पुगेको छ ।


पुलमाथि बसेर तस्विर लिंदै पंतिकार 
अवैध ओसारपसारको ट्रान्जिट : 
झोलुंगे पुल निर्माणताका त्यसको उद्देश्य मोटरसाइकलको आवागमन सायदै थियोे होला तर अहिले झोलुंगे पुल माथीबाट मान्छे भन्दापनि सामानले भरिएका मोटरसाइकलहरु सारा पुल हल्लाउदै चल्ने गर्दछन् जसले गर्दा झोलुंगे पुल निकट भविष्यमा नै अस्तित्व संकटमा पर्ने निश्चित छ । त्यसैले सवारी साधन आवतजावतका लागी अर्को पुल निर्माण गरी दोधारा झोलुंगे पुललाई मानव आवतजावतका लागी मात्रै प्रयोग गर्न सके यसको संरक्षण तथा संवद्र्धन हुनसक्थ्यो ।

झोलुंगे पुल हेर्न भनी गएका सबैले देख्ने साँझा तस्विर हुन् त्यहा हुने अवैध असारपसारका । दोधारा झोलुंगे पुल प्रवेशद्धार महेन्द्रनगरको मदनचोकमै लाइन लाग्ने भारतीय नम्बर प्लेटका मोटरसाइकल झोलुंगे पुल वारीपारी छ्यापछ्याप्ती भेटिन्छन् । 

पुलमुनीबाट निर्वाध रुपमा चल्ने ट्रयाक्टर, जीप, तथा ट्रकहरु अवैध ओसार पसारमा प्रयोग हुनसक्ने अथाह सम्भावना छ जसका कारण उक्त बाटो आपराधिक तथा ग्रैरकानुनी कार्यको ट्रान्जिट मार्गको रुपमा प्रयोग भयंकर ठुलो खतरा छ ।


दोधारा-झोलुंगे पुल 
अबको बाटो :
कञ्जनपुरलाई साच्चिकै पर्यटकीय गन्तव्य बनाउन सबैभन्दा पहिलो गनुपर्ने काम भनेको मझगाउँ एयरपोर्ट संचालन तथा स्तरोन्नती, महेन्द्रनगर–दोधारा सडक फराकिलो र कालोपत्रे, महाकाली नदी किनारमा पक्की बाँध निर्माण, झोलुंगे पुलको संरक्षण तथा संवद्र्धन गर्नु जरुरी छ । हाललाई कम्तिमा त्यतिसम्म गर्न सकियो भने कञ्चनपुर लगायत सम्पुर्ण सुदुरपश्चिम अवश्य नै पर्यटन व्यवसायको लागी उदाउदो क्षेत्र बन्न सक्थ्यो । पुल निर्माण संगै हुने गरेको सीमा क्षेत्रको अवैध ओसारपसारमा समेत नियन्त्रण र नियमन हुनु जरुरी छ । 

अन्तमा, करीब तीन÷चार घण्टाको अवलोकन र स्थानीयहरु संगको भलाकुसारीपछि हामी आफ्नो गन्तव्य महेन्द्रनगर तर्फ फक्र्यौ । 
फर्कदा म्याजिक चालक दाईले गायक रामचन्द्र काफ्लेको स्वरमा सुदुरपश्चिमेली भाका हालिएको 

दोधारा झोलुंगे पुल बनबासाका गेट झुपा तम्रै मायाले ।
अ‍ैलै मुई बाडुल्गी लागी हुनु रैछ भेट झुपा तम्रै मायाले ।। 
गीत बजाउनुभयो । 
पुलमा सेल्फी खिच्दै 
गीत सुन्दा देश सम्झे र सम्झे झोलुंगे पुल मुनीको रित्तो बगर । वर्षायाममा पुरै दोधारा–चाँदनी बगाउने पानी गर्मीयाममा झण्डै पाँच किलोमिटर माथी बनबासा बाटै  भारत लगिएको छ । वर्षायाममा डुबेर मुर्नुपर्ने हिउँदमा त्यहि नदिको एकथोपा पानी पनि नपाईने, आफ्नै महाकाली नदी दोधारा–चाँदनीका जनताका लागी होइन रहेछ ।   
लाग्यो म बाँचेको देशको कुनै राष्ट्रियता रहेनछ । मेरो राष्ट्रियता झोलुंगे पुलमुनी पानी विनाको सुख्खा बगरमा खसेछ, तैपनि भन्न छोडेन मेरो नेपाल, प्यारो नेपाल ।  

                                                                                                                   लेखक कानूनका विद्यार्थी हुन् ।
 ६ बैसाख, २०७३ को अनलाइनखबरमा प्रकाशित 
See more at :

No comments:

Post a Comment