Sunday, February 25, 2024

वाह! यस्तो पो हाईकिंङ

लेखक: कृष्ण महरा 
पीपीएलएको आयोजना:

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, काठमाडौँ उपत्यका कमिटीले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ललितपुर गोदावारी देखि फुलचोकी डांडासम्म शनिबार आयोजना गरेको हाईकिंङमा सहभागी हुने मौका मिल्यो । पंतिकार पनि प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनकै भएको हुँदा सकेसम्म आफ्नो संगठनको हरेक जस्तो कार्यक्रमहरुमा भ्याएसम्म पुग्ने गरेको छु । संगठनका धेरैजसो कार्यक्रममा भन्दा गोदावरी-फुलचोकी हाईकिंङले फरक किसिमको अनुभव भएको हुँदा यात्रा संस्मरण नलेखी हाईकिङको यात्रा पुरा नहुने ठानेर यो यात्रा संस्मरण लेख्ने जमर्को गरेको छु ।


 माननीय प्रमुख अतिथि:

नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सांसद माननीय योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न यस हाईकिङ (पदयात्रा) मा नेकपा एमाले बागमती प्रदेश सचिव हाईकिङ एरियाकै निवर्तमान सांसद नवराज सिलवाल, पार्टीका विभिन्न तहमा रहेका नेताहरुको समेत सहभागिता रहेको थियो ।

सदाझैं विहानको नित्यकर्म सकेर पुर्व सूचना अनुरुप बिहान ७ बजे नयाँ बानेश्वरबाट गोदावरीतर्फ हानिए । करिब साढे सात बजे गोदावरीस्थित नौधारामा रहेको होटेलमा पुग्दा दर्जनौं कानून व्यवसायी साथीहरु आईसक्नु भएको रहेछ ।

वरिष्ठ अधिवक्ताहरु सबैभन्दा अगाडी:

आफ्नो व्यस्तताका बाबजुद पनि जोश जाँगर र उमंगका साथ वरिष्ठ अधिवक्ताहरु रबिनारायण खनालज्यू, पुर्व महान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एशोसिएशनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ताद्वय टिकाराम भट्टराईज्यू र ईश्वरी भट्टराईज्यू, वरिष्ठ अधिवक्ता गंगा सागर खत्रीज्यू लगायत थुप्रै सिनियरहरुको उपस्थितिले हाईकिङको प्रस्तान विन्दु बडो रोचक भईरहेको थियो ।

गोदावरीस्थित हाईकिंङको प्रस्तानबिन्दुमा सबैभन्दा पहिले पुगेर वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पुर्व महासचिव रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता सानुराज पोखरेल केही साथीहरु लिएर फुलचोकी डांडोतर्फ अगाडी बढीसक्नु भएको विषयले हामीलाई झन् हौसला मिल्यो ।

पुर्व महान्यायाधिवक्ताको कमाण्ड:

गोदावरीस्थित प्रस्तान विन्दुमा केही समयको बसाई पछी औपचारिक रुपमा हाईकिङको शुभारम्भ गर्दै करिब सय जना हाराहारी भएको हाम्रो टोली पुर्व महान्यायाधिवक्ता रमेश बडालज्यूको कमाण्डमा सवा नौं बजे हाम्रो टोली फुलचोकीतर्फ लम्कियो ।

अग्रपंक्तिमा हुनुहुन्थ्यो गोदावरी क्षेत्रकै निवर्तमान सांसद नवराज सिलवाल ज्यू । हामी धेरैजसो कानून व्यवसायी हाईकिङ क्षेत्रको लागि नयाँ भएकोले वहाँले हामीलाई निरन्तर गाईड गरिरहनु भएकोले हामीलाई के कति समय लाग्छ, के कति यात्रा गर्न बाँकी छ भन्ने कुरामा धेरै सहज भएको थियो । जंगलै जंगलको बाटोमा रमाईलो गर्दै गीत गाउँदै सुसेल्दै हाम्रो टोली निरन्तर अगाडी बढीरह्यो । पछाडीका साथीहरु नछुटुन् र अगाडीका साथीहरु ग्रुपबाट नछुट्टीउन् भनेर इन्चार्ज रमेश बडालज्यूको 'कसैलाई गाह्रो-अफ्ठ्यारो हुनसक्छ, त्यहि भएर २५ मिनेट हिडेपछी अगाडिको टोलीले बस्ने र सबै साथीहरु पुगिसकेपछि संगै जाने भन्ने निर्देशन थियो ।

अग्रपंक्तिमा शान्तिराम सर:

अगाडीको नेतृत्व उच्च अदालत बार एशोसिएशनका अध्यक्ष शान्तिराम खतिवडा र गोदावरी-फुलचोकी हाईकिङका संयोजक एवं प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनका उपमहासचिव शिव अर्यालले गर्नुभएको थियो । साच्चै भन्ने हो शान्तिराम सर त्यति छिटो हिद्नुहोला भन्ने मलाई नै लागेको थिएन । हाईकिङका दौरान मैले वहाँलाई पछ्याउन निकै नै संघर्ष गर्नुपरेको थियो । २५ मिनेट जति हिडेपछी सबैलाई सुसेल्दै बस्न संकेत गर्दै १० मिनेट जतिको आरामपश्चात हाम्रो टोली अगाडी बढिरह्यो । बीच-बीचमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनका अध्यक्ष भोजराज आचार्यज्यूले साथीहरु आई पुगे नपुगेको, छुटेको बारे  निरन्तर सोध खोज गरिराख्नु भएको थियो । 

 जब भेटियो हिउँ: खेलियो रमाईयो, फोटो/भिडियो खिचियो ।

करिब आधा भन्दा अलि बढी बाटो कातिसकेपछी भेटियो सेताम्य हिउ । काठमाडौँमा खासै हिउ खेल्न नपाएका हामीहरुलाई हिउकै थुप्रोमा पुगेपछि अरु के चाहियो । हिउ खेल्दै फोटो खिच्दै रमाईलो गरियो । साथीहरु कोही सिंगल-सिंगल खिच्ने, कोही ग्रुपमा रमाउने, अझ म छुटे भन्दै तलैबाट आवाज दिएर स्वाँ-स्वाँ गर्दै दगुर्ने साथीहरु पनि कहाँ कम्ति थिए र ? हिउँ खेल्न र हिउँमा फोटो भिडियो खिच्न पाएकोमा सबै दंग देखिनुहुन्थ्यो । 'हैट, धान्ने हाईकिङ छुटेको, बिहानसम्म आउने तयारी थिएन, नआको भए धेरै कुरा छुट्ने र पछी पछुतो लाग्ने रहेछ', एकजना दाईले सुनाई रहनु भएको थियो ।

सातुसामल खाईयो अनि हिडियो:

'हाईकिङमा स्टामिना चाहिन्छ' भन्दै साथीहरुले झोलामा पोको पारी ल्याउनु भएको खान्की सबैलाई बाडीरहेनु भएको थियो । जति ठाउँमा बस्यो, कोही न कोही साथीहरुले केही न केही निकालिसकेका हुन्थे, साथमा पानीको घुट्की नलाई त उकालो चढ्न सकिने कुरै भएन ।   

पानीको घुट्की र साथमा बोकेको सातु सामलको बलमा सुस्तरी हाम्रो टोली अघि बढीरह्यो । हिड्दै, आराम गर्दै, रमाईलो गर्दै फुलचोकी डांडातिर उक्लिएको हाम्रो टोली झन्डै ४ घन्टामा फुलचोकी डांडामा पुग्यो ।बिहान सुरुमै गोदावरीबाट 'हामी अगाडी जान्छौं है, आउदै गर्नु' भनेर हिद्नुभएको वरिष्ठ अधिवक्ताद्वय रमण श्रेष्ठ र सानुराज पोखरेल सरको टोली फुलचोकी पुगीवरी चिया पिउदै हुनुहुदो रहेछ । हामी पुगेपछि फुलचोकी डांडामा रहेको मन्दिर दर्शन गरी फोटो सेसन पश्चात तल होटेलमा आई चिया पियौं ।

वरिष्ठ अधिवक्ताज्यूको काभ्रेको कोशेली:

साथीहरुले साथमा लागेको सातुसामल पालैपालो निकाल्दै खाईवरी सकिने बेला मन्दिर दर्शन गरेर हस्यांङ-फस्याङ गर्दै 'ल आउनुस् काभ्रेको कोशेली खाउँ' भन्दै वरिष्ठ अधिवक्ता गंगा सागर खत्रीज्यूले हाम्रो टोलीको अगाडी एउटा ठुलो पोको राख्नुभयो । पोको भित्र मकै, गहुँ, थरी-थरीको भटमास भुटेर मिठो बनाएर ल्याउनु भएको रहेछ । हाईकिङमा साथीहरुले बोकेको मध्ये सबैभन्दा अर्गानिक, मौलिक, राम्रो, मिठो र पोषिलो खानेकुरा लाग्यो मलाई चाहिं ।

झन्डै झोला हराएन !

फुलचोकी डांडामा पुगेपछि सबैले मन्दिर दर्शन गर्ने क्रममा मैले पनि जुत्ता र झोला बाहिर राखेर भित्र दर्शन गर्न गए । दर्शन गरेर फर्किदा जुत्ता मात्रै लगाएछु, झोला त्यतै छोडेर तल आएछु । धन्न मन्दीर तल चिया खाने ठाउँमा पुग्नै लाग्दा एकजना साथीले झोला भिरेको देखेपछी बल्ल याद आयो, मैले पनि झोला बोकेको थिए भन्ने कुरा ।

 लगातार चार घन्टाको उकालो हिडाईको थकाईले लखतरान भएकोले  झोला कहाँ छोडे भन्ने कुरा झट्ट सम्झिन सकिन । एकैछिनमा याद आयो दर्शन गर्नेबेला झोला बाहिर राखेको र लिन गए । दर्जनौं मान्छेको भिडमा राखेकै ठाउँमा जस्ताको त्यस्तै सकुशल भेटियो झोला ।

झोला छुटेको भए अरु त केही थिएन । बिहान लगाएर गएको ज्याकेट, बाटोमा खान भनेर लगिएका स्याउ, पानी र अन्य केही अत्यावश्यक सामान थिए झोलामा । झोला मन्दिरमै बिर्सेको भए न ज्याकेट लगाउन पाईन्थ्यो न खानेकुरा खान नै तर त्यस्तो भएन, धेरै तल नझर्दै झोला बिर्सेको थाहा पाएर लिईहाले । 

अनि तल झर्यो टोली:

सातुसामल खाई, फोटोसेसन गरी रमाईलो गरिसकेपछि हाम्रो टोलीले फर्किन सुरु गर्यो । फर्किने बेलामा चाहिं कोही छोटो बाटोबाट आउने र कोही पिच रोडको बाटो आउँन चाहनु भएकोले आ-आफ्नै इच्छाले संग संगै तल झर्यौं । हाम्रो साथमा पुर्व महान्यायाधिवक्ता रमेश बडालज्यू, पीपीएलका अध्यक्ष भोजराज आचार्यज्यू, उच्च बारका अध्यक्ष शान्तिराम खतिवडाज्यू लगायत १०, १२ जना थियौं ।  पिच बाटैबाटो जाउँ भन्ने सल्लाह भएको हुँदा केही समय हामी पिच बाटो नछोडी आयौं । 

 

हराएको चश्मा पाउदा बहिनी भईन दंग !

तल आउदै गर्दा एकजना बहिनीको आफ्नो चश्मा हराएर हैरान हुनुभएको रहेछ । फुलचोकी पुगेर मन्दिर दर्शन सकेर गोदावरी झरिसक्दा फेरी चश्मा खोज्न भन्दै माथी जानुभएको रहेछ र हाम्रो टिमका साथीहरुलाई 'मेरो कालो चश्मा भेटाउनु भयो' भन्दै सोध्दै आउनु भएको रहेछ ।  चश्मा खोज्न माथी चढेर फर्किंदै गर्दा हाम्रो पीपीएलएका अध्यक्ष भोजराज आचार्यज्यूसंग हाम्रो अन्य साथीहरुको भेट भयो र वहाँले कुनै केटी मान्छेले लगाउने चश्मा भेट्टाएको खबर साथीहरुलाई जानकारी गराउनु भयो । 

 

नभन्दै एकैछिनमा चश्मा खोज्न माथी गएकी बहिनी साथीसंग बाईकमा आईपुगिन । बहिनीलाई चश्मा हराएको हो भनेर भोजराज सरले सोध्दा 'हो हो' भन्दै बहिनी जोरले चिच्याईंन । सायद बहिनीको  हिउमा चश्मा लगाएर फोटो खिच्ने रहर चश्मा हराएसंगै चकनाचुर भएको हुनुपर्छ ।  हाम्रो टिमका साथीहरुले कस्तो थियो चश्मा, आकार, कलर सबै सोधेर अझ त्यो चश्मा लगाएको फोटो देखाउनु भनी क्रस चेक गरेपश्चात सुनिश्चित भई चश्मा भेट्टाउनु हुने हाम्रो संगठनका अध्यक्ष भोजराज सरले स-सम्मान हस्तान्तरण गर्नु भयो ।  चश्मा भेट्टिएपछी त्यो बहिनीको अनुहारमा आएको खुसी बयान गरिनसक्नु थियो ।    

लालीगुराँसको फुल माग्नेहरुको लहर :

पीपीएलएका अध्यक्ष भोजराज सर, म लगायत केही साथीहरु संग लालीगुराँसको फुल थियो । फुरासको फूललाई हामीले स-सम्मान बोकेर अझ भोजराज सरले त छातीमै टासेर तल आईरहनु भएको थियो । रातो अनि रहरलाग्दा गुराँसका फुल हात-हातमा देखिपछी 'लालीगुराँसको फुल दिनुस् न' भन्दै गुराँसको फुल माग्ने माथी चढ्दै गरेका युवा युवतीहरुले तातीं नै थियो । हामीले बोकेका गुराँसका फुलहरु भने कसैलाई दिन सकेनौं, कारण एउटा त हामीले बडो जतनसाथ रहर लागेर बोकिरहेका थियौं भने अर्कोतिर फुल माग्ने धेरै र फुल थोरै थिए ।  

जब मोटरबाटो छोडेर छोटो बाटो रोजियो :

करिब आधी-पौने घण्टा पिच बाटो हिडेपछि साथी हुम खनालले यसरी पिच बाटो हिड्दा त दिनभरी लाग्छ, अघि आको छोटो बाटो जाउँ भन्दा छोटो बाटो समात्यौं । साथी हुम खनालको अगुवाईमा त्यसरी छोटो बाटो समात्नेमा पीपीएलएका अध्यक्ष भोजराज सर, नेपाल बारका पुर्व केन्द्रीय सदस्य भुवन निरौला, म र एकजना अर्को साथी थियौं ।   

 दुई-तिन घुम्तीमा त हामीले सहजै छोटो बाटोको सदुपयोग गर्यौं । त्यसपछी भने मेन सडकमा जोडिने बाटो भर्खरै कटिंग गरी बिस्तार गरेकोले मुख्य सडकमा जोडिन बडो मुस्किल भयो । अध्यक्षज्यू, हुम खनाल जी त जसोतसो मुख्य सडकमा ओर्लिनु भयो तर भुवन सर म र अर्को साथीलाई भने बडो सकस नै पर्यो । चिप्लो र पतकरहरुले भरिएको साघुरो बाटोमा कति पटक लडियो, कतिपटक उठियो हिसाब छैन । लड्दै, उठ्दै अनि हिड्दै बल्ल मुख्य सडकमा जोडीयौं ।

 

झन्डै अर्को गाउँमा पुगिएन:

लामो मोटर बाटो हिड्न छोडेर सर्ट-कट बाटो हिड्दै आएका हामीहरु फेरी पनि सर्ट-कट बाटोकै खोजीमा थियौं ।  त्यति नै खेर एक जना भाई र बहिनी भेटीए । त्यो जोडीले 'हामी अघि आको बाटो यहि हो, सिधै मोटरबाटोमा जोडिन्छ' भनेपछि हामी पनि तिनीहरुकै पछी पछी लाग्यौं ।

छोटो बाटोबाट छिट्टै र अरुभन्दा अगाडी तल गोदावरी पुग्ने हाम्रो सपना त्यतिबेला चकनाचुर भयो जतिबेला हामी छोटो बाटो भनेर हिडेको बाटोले अर्कै गाउँतिर जाने रोडमा पुर्याएर छोड्यो, हामीले पुग्नुपर्ने मोटर बाटोको अत्तोपत्तो नै भएन । अब कता जाने बडो दोधार भयो ।

त्यति नै खेर साथी हुम खनालले एउटा अईडीया निकाले । दायाँ होइन बायाँ मोडिने । दायाँतिरको निर्माणाधीन सडक पछ्याउदै जादा हामी गन्तव्यमा पुग्न नसक्ने र बायाँतिरको जंगलै-जंगल साघुरो झाडी मिश्रित बाटो बाट गए गन्तव्यमा पुग्न सकिने निष्कर्षसहित झन्डै आधा किलोमिटर उकालो चढ्यौ र हाम्रो गन्तव्यको मुख्य मोटरबाटोमा पुग्यौं । मुख्य सडकको किनारामा एकछिन थकाई मारेपछि हामी अझ छोटो-छोटो बाटो खोज्दै मोटरबाटो छोडी पैदल मार्गतिर हिड्यौं । 

केही तल आएपछि हुम जी र भुवन सर थकाई लागेको र हिड्न नसकिने भन्दै बाईक वाला साथीहरु संग लिफ्ट मागी अगाडी आउनुभयो । म हाम्रो अध्यक्ष ज्यू भन्दा अलि अगाडी नै भएकोले केही समय एक्लै हिडे र अलि तल पुगेपछि कुमारी खरेल, गणेश ओली, भद्रा राउत लगायतका साथीहरु थकाई मारेर बसिरहनु भएको रहेछ ।

 त्यसपछि फेरी सुरु भयो हाम्रो रमाईलो । फोटो खिच्ने, रमाउने, भिडियो बनाउने काम फेरी सुरु भयो । त्यसपछि हाम्रो अन्तिम मिलन बिन्दु गोदावरीको नौ धारामा आईपुग्यौं । हामी आईपुगेको केही समय पछी हाम्रो इन्चार्ज रमेश बडाल सर, अध्यक्ष भोजराज सर लगायत सबै आईसकेपछी खाना खाईवरी सबैले आ-आफ्नो स्वेच्छाले केही रकम जम्मा गरिदिएर आ-आफ्नो गन्तव्यतिर लाग्यौं । 

हाईकिङले सिकाएको पाठ !

एक्लाएक्लै धेरै हिडे डुलेपनि ग्रुपमा हिड्नुको आनन्दै बेग्लै हुन्छ । समय मिलाएर हाईकिङ जान सके रमाईलो पनि हुने र साथीहरुको भेटघाट पनि हुने हुनाले यसले सम्बन्धलाई अझ प्रगाढ बनाउछ ।

हाईकिङ जाँदा बिर्सिन नहुने !

जहिल्यै पनि हाईकिङ जाँदा खानेकुरा, पानी, लौरो लैजान भने बिर्सिन नहुने कुरा हुन् । हामी डांडाकाँडा हिडेको मान्छे के लौरो चाहिएला भनेर लौरो नबोकी गएको मलाई समेत हिड्ने जाँदा लौरो नबोकेकोमा पछुतो लागेको थियो । साना केटाकेटी बोकेर हाईकिङ जाने सपना नदेख्ने राम्रो किनकि लगातार ३, ४ घण्टा साना केटाकेटीहरुलाई हिड्न गाह्रो हुन्छ । आफ्नो जिउमा लगाएको लुगा भारी महशुस हुने बेला साना केटाकेटी डोर्याएर वा बोकेर लानुपर्दा हाईकिङको आनन्दै हराउँछ ।

सबैलाई धन्यवाद:

अन्तमा, यसरी सधैं काममा व्यस्त मात्रै भईरहने हामीहरुलाई हाईकिङको आयोजना गरेर रमाउने अवसर जुटाउने पीपीएल, काठमाडौँ उपत्यका कमिटी र हाईकिङ आयोजनामा खट्ने सम्पूर्ण पीपीएलएका साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । शनिबारका लागि थाति राखिएका थुप्रै कामलाई पन्छ्याउदै हाईकिङ कार्यक्रममा उपस्थिति नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई, हाईकिङ क्षेत्रको लोकेशन देखाउदै हामीलाई गन्तव्यसम्म डोर्याउनु हुने नेकपा एमाले बागमती प्रदेश सचिव एवं निवर्तमान माननीय नवराज सिलवाल संगै आफ्नो व्यस्त समयलाई थाति राख्दै हामीहरुको हाईकिङ कार्यक्रममा सहभागिता जनाई हौसला बढाउनु हुने वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, सानुराज पोखरेल, टिकाराम भट्टराई, ईश्वरी भट्टराई लगायत सम्पूर्णलाई धन्यवाद ।