Friday, December 26, 2014

त्रिशुलीमा राफ्टिङ सफर : झल्को त्रिशुलीको

          

                                                                                              –कृष्ण महरा       


'ओई ! तिम्ले राफ्टिङ जानुपर्छ है’ 
एकाविहानै क्याम्पस गेट छिर्न नभ्याउदै मधुले अह्राई । 

मैले हुन्छ  भन्न सकिन र हुन्न पनि भन्न सकिन र्। हेरौला नि’ को इसारामा टाउको हल्लाए ।  
'त्यस्तो कन्फ्युज किन ? तिम्ले जानै पर्छ’,  संगै उभिएकी सम्झनाले दबाबमिश्रित धक्का दिईन ।

'ल पक्का जान्छु’ भनेपछि मात्रै मलाई छुट्कारा मिल्यो र म क्याम्पस गेटबाट कक्षाकोठातिर अगाडि बढे । 
नभन्दै राफ्टिङ जाने दिन बैसाख ६ गते नजिकिदै गयो । राफ्टिङ सफरको चाँजोपाँजो मिलाउनेहरु अलि बढि व्यस्त देखिन्थे ।
'ओ हेलो, तँ जान्नस ?, तिमी नजाने राफ्टिङ ?, तपाई  नजाने ? हजुरले नगई त हुँदै हुन्न के’ र्,ओई तिम्ले पैसा ल्यायौ ? कति कम प¥यो ? भोली अन्तिम डेट हो नि फेरि, मिलाएर ल्याउ नत्र गाह्रो हुन्छ के’ । 
क्लासमा प्रोफेसरको आगमन भइसकेको हुन्थ्यो र पनि कोठा यी र यस्तै प्रश्नहरुले गुन्जित देखिन्थे । 

राफ्टिङ सफरको अघिल्लो दिन बैसाख ५ गते, कक्षाकोठामा असोसिएट प्रोफेसर गणेश दत्त भट्टको आगमन भईसकेको थियो । खै कुन्नी किन हो वहाँ निर्धारित समयभन्दा १५ मिनट ढिला आउनुभयो । वहाँले क्लास सुरु गर्नै लाग्दा रोकाईयो र एउटा मौखिक ह्वीप जारी गरियो । भनिर्यो राफ्टिङ सफरमा जाने सबैले आफुलाई सजिलो र फिट हुने एकजोर थप कपडा बोक्नुहोला’ ।

अर्जुन जी ह्वीपकर्ता हुनुहुन्थ्यो । उर्दीमा विहान ६ः१५ बजे नै क्याम्पसमा उपस्थित हुन भनिएको थियो । दुईदिन अगाडि नै सफरको समयतालिका फेसवुकको भित्तामा सर्वत्र बाडिएको थियो । उफ ! लाइक, सेयर र कमेन्टको वर्षा कति कति । 

 नभन्दै राफ्टिङ सफरको दिन आयो । उर्दिको समय शिराधार्य गर्दै पुगे क्याम्पसको प्रांगडमा । 

एकचोटि त अकमक्क परे । क्याम्पस अगाडि हरियो नं. प्लेटका चिल्ला दुईवटा बस, टाढैबाट ठुला अक्षरमा देखेर्, पर्यटक मात्र’ । म झनै झुक्किए ।
'बस खै त’ ? मैले नसोधी बस्नै सकिन
'यी के त सर’ ? बसतिर इसारा गर्दै श्रीराम जी जिस्किनुभो । 
मनमनै सोचे, स्वदेशमै स्वदेशी नै आज पर्यटक बन्न पाउने भो, मन त्यसै फुरुङ्ग अनि गदगद् ।  
चिया पिउनेले पिए, नपिउनेहरु त्यतिकै रमाए । 

मोबाइलको घडिले सात बजेको संकेत गर्दै थियो । दुईटै बस खचाखच भरिए, प्रस्थानको समयले नेटो काट्नै लाग्दासमेत बसका पाइलट ककपिटमा भेटिएनन । बसहरु यात्रुलाई एउटा गालार्धबाट अर्को गालार्धमा ओसार–पोसार गर्ने अन्तराष्ट्रिय बोइङभन्दा कम थिएनन, त्यसैले बस चालक दललाई पाईलट र ककपिटको उपाधी दिलखोलेर दिन मन लाग्यो ।  

चालकको आगमनसंगै सुरुभयो राफ्टिङ सफरको रौनक । बसले हर्न फुक्यो र लाग्यो आफ्नो गन्त्यव्यतिर । जतिजति बस गुड्दै जान्थ्यो त्यति त्यति नै सफरमा सवार हामीहरु गफिन्थ्यौ, नाच्थ्यौ, खेल्थ्यौं, हाँस्थ्यौं र बसको बे्रकसंगै उफ्रिनेहरु त कति थिए कति, गन्न कसले सकोस । 

बस कालिमाटीको जाममा रन्थनिएको थियो, प्रविन जी ले एउटा आईडिया निकाल्नुभो, अन्ताक्षरी खल्ने । अब सुरुभो बसभित्रै अन्ताक्षरीको भयावह माहोल । कतिखेर कुन गीतबाट सुरु गरे, मैले मेलोमेसो केहिपनि पाईन । अन्ताक्षरीमा भाका हालेर गीत गाउनैपथ्र्यो, भाका हालेर गाउनलाई मसंग स्वरको सुकोपनि थिएन । त्यसैले मैले नजिकबाट नियालीमात्रै रहे ।

अन्ताक्षरीको यो दाहोरीमा तन, अन्तर्मन, मोह र स्वरको थुंगासरी ईच्छा हुनेले नेपाली, अंग्रजी, हिन्दी र मैथली सबै गीतहरु सफरसंगै भ्याए, कुनै बाँकी राखेनन । अझ भन्नुपर्दा, बजारमा आएजति गीतहरु एक नराखी निमीट्यान्न पारिदिए ।  म सोच्दै थिए अबपनि अन्ताक्षरी खेल्ने हो भने गीतकारले नयाँ गीत लेख्नुपर्ने, संगीतकारले संगीत थप्नुपर्ने र गायकले भन्दै स्वर थप्नुपर्ने, यदि लेखिएनन वा थपिएनन भने अन्ताक्षरी खेल्छुभन्दा सम्भव थिएन । 

अति आनन्ददायी मनोरञ्जनले बस कतिखेर होटल ब्लु ह्यावेनमा पुगेछ पत्तै पाँइन । होटल ब्लु ह्यावेन परिसरमा फाट्टफुट्टबाहेक नेपाली अनुहार कम, विदेशी अनुहार बढि भेटिए । खुकुलो र पारदर्शी पहिरन, कपालमा काला चस्मा, घाँटीमा क्यामेरा, हातमा नक्सा र नोटकपि अनि साँथमा कलिला मुना । झट्ट हेर्दा कुनै विदेशी क्याफेमा पुगेजस्तो । सोचे, यही हो आनन्दित जीन्दगी, जीउनुको सार्थकता र अर्थ । छिः हाम्रो नि जीन्दगी !, खै के जीन्दगी । 

अन्ताक्षरीको उक्साहट, डान्स र रोमान्सले पेट रित्तिएकाहरु विहानीको ब्रेकफास्टसंगै अझ बढी मोज गर्न थाले । होटल ब्लु ह्यावेनको बे्रकफास्टपछि सफरको सनक त्यही गतिमा अगाडि बढ्यो र केहि मिनेटपछि वेनिघाँटस्थित राफ्टिङ सफरको उद्गमस्थल त्रिशुली रिभरसाईड क्याफेमा उक्त बाईङरुपी बस सफलतापुुर्वक अवतरण गरियो । 

बसबाट ओर्लनेवित्तिकै सफरका सहयात्रीहरु आँखाले भ्याएजति आजै हेर्न पाए हुन्थ्योझै गरि छेउदेखि क्षितीजसम्म आँखा र नजर तेस्र्याउन थाले । अरुले आफ्नै आँखा तेस्र्याएपनि कमल जी भने क्यामेरा तस्र्याउन थाल्नुभो । 

खिचिक खिचिक ... ... ... कमल जी ले क्यामराको कर्मकाण्ड सिद्ध्याए । सबै तितर–वितर । सबै कतिखेर लाईफ ज्याकेट पहिरिएर नदिमा हामफालु झै गरिरहेका थिए । सबैले लाईफ ज्याकेट लगायौ, शीरमाथी फरक–फरक रंगका हेल्मेट, हातहातमा प्याडल र शरिरमा हाफ कपडामात्रै ।  सोच्यौं अब यहि हो राफ्टिङ, यस्तै हो सफर । 

'अल अफ यु, टेक अफ युअर लाईफ ज्याकेट एण्ड लिसन इन्सट्रक्सन’ 
कालो चस्माधारी राफ्टिङ म्यानेजर विदेशी भाषामा वर्वरायो । लगाएजति सबै नफुकाली उसले बोल्नै मानेन । हामी सबैले लाईफ ज्याकेट, हेल्मेट र प्याडल जस्ताको त्यस्तै यथास्थानमा राखिसकेपछि म्यानेजरले निर्देशन अगाडि बढायो । सायद हामी सबै नेपाली भएर होला निर्देशनको वचनमा दश प्रतिशत नेपाली थियो अरु पुरै अंग्रेजी । बुझ्नेले बुझे, नबुझ्नेले बुझेको वाहनामा टाउको हल्लाए । 

कम्तिमा आठ जनाको समुह बनाउनुपर्ने र एउटा गाईडको निर्देशन र आदेशमा चल्नुपर्ने म्यानेजरको भावअनुरुप हामी सात समुहमा विभक्त भयौ । म्यानेजरले आफ्नो ड्युटी निभाए, हामीले गाईडलाई पच्छ्यायौ । राफ्टिङ सुट र साधनसहित हाम्रो जम्बो टोली लाग्यो त्रिशुलीको नदिकिनार । 

फेरी सुरुभयो दश मिनट नदिछालमै गाईडको व्यक्तिगल लेक्चर । उसको पनि लेक्चरको भाषा विदेशी नै थियो । पढेका कतिसम्म हुन दैवले नै जानुन तर अंग्रेजी भाषाको दखल देख्दा अंग्रजीमै माष्टर्स सक्काएझै लाग्थ्यो किनभने मैले डिग्री पास गरेकाले त्यसरी अंग्रेजी बोलेको कमै भेटेको छु । 

शान्ती मुटु छाम्न थालीन । के भो शान्ती तिम्लाई ?’ हेमराज जी ले सोध्नुभयो । 
उनी चुप लागिन, सायद बोल्न मानिनन ।
'केहि हैन, मात्रै डराकी’ , अम्बिकाले प्रतिउत्तर दिईन । 
फोटो खिच्नेले खिचे । अब भने क्यामेरा र मोबाईल वाटरप्रुफ बक्सकोे भित्री कुनामा जतनसाँथ थन्काईए फोटो खिच्न उचित ठाँउहरुमा निकाल्ने कबुलनामा गर्दै । 

अहिलेसम्मको सब वाईयात थियो, खास राफ्टिङ सफर त अब पो सुरुभयो । जब दर्जन मान्छे बोकेको राफ्ट त्रिशुलीमाथी पानीजहाँजझै हुँईकिन थाल्यो, पहिलोचोटी सफरमा सवार सबैले बुझे यहि रहेछ राफ्टिङ  । 

अझ मैले त र्यापीड(नदीमा तीव्र गतिले पानी बगेको ठाँउ)  आउँदा राफ्टिङ अरु ठाँउमा त्यही डुंगा सवार न हो भन्नेपनि धेरै भेटेको तर वास्तममा त्यसो होईन रहेछ । 

हाम्रो राफ्टको भोला जी र अर्जुन जी कार्यकारी कमाण्डर हुनुहुन्थ्यो । अगाडी बसेर राफ्टको दिशानिर्देश गर्दै,  अरु हामी सबै असिस्टेन्ट पछाडिपट्टि । सुरुमा दुईतिन वटा र्यापिड आउदा क–कसको मुटु कति थर्कियो मलाई थाहा भएन । पछि भोला जी को जिम्मेवारी मैले लिए, अगाडि बसेर चलाउन साह्रै गाह्रो हुँदोरहेछ, बसेपछि थाहाभयो । 


बाटोमा अलिकति दुईटा राफ्ट नजिक के भएका थिए, सबैले पानी छ्याप्दै भिडन्त नै गर्न थाले । मलाई भने कसरी सबैलाई पच्छ्याएर कसरी अगाडी जान सकिन्छ भन्ने एकमात्रै धोको थियो । म धोको पुरा गर्न एकोहोरो गाईडको परवाह नै नगरी अगाडी बढ्दै थिए । 

'हेलो, तपाई मेरो पनि कमान्डर हो ? त्यसै गर्ने हो भने म छोडिदिन्छु आफै ह्याण्डल गर्नुस । ’ राफ्टको पछाडी छेउमा बसेको गाईड मलाई इसारा गर्दै कड्कियो । 

मेरालागी पानीमा न कुनै चेकजाँच न कुनै ट्राफिक नै । म रोक्नुपर्ने ठाँउमा पनि आफ्नै सुरले हुँईकाउदो रहेछु  । त्यसैले उ कड्किएको रहेछ मेरो राफ्टिङ गाईड । म पनि के कम, झट्ट सोधिहालेर्, भाई तिम्रो  नाम ’? 
कड्किएको अध्याँरो अनुहार चम्किलो पार्दै बोल्योर्, सन्तोष लामा’ ।

यहिबाट सुरुभयो हाम्रो संक्षिप्त वार्तालाप । 
  म    :          घर चाँहि कता नी’ ?, 
गाईड  :          धादिङ’
 म    :          कति भयो यसरी गाइड बनेको’ ?
गाईड  :          भयोहोला एकवर्ष छ महिनाजति’ । 
 म    :          कति कमाउछौ नि’ ? 
गाईड  :         स्वदेशीबाट दिनको दुईहजार, विदेशीबाट दुईहजार प्लस टिप्स त कति हुन्छ कति’ ? 

म    :        सिजनमा त खुब कमाई हुन्छहोला नी’ ? 
गाईड :         हुन्छ तर बचाउन सकिन्न’ । 

हाम्रो वार्ता नसकिदै  र्यापिड नजिक पुगेछौ । 

राफ्ट एक्कासी माथी हुँइकिएर तल अनि फेरी त्रिशुलीको छालसंगै माथी हुत्तियो । 
नभन्दै सरिताले पिलपील आँशु खसालिन

'किन के भो’ ?, भोला जी ले सोध्नुभो
'पानीको फोकाले गालामा हिर्कायो’ , सरिताले जवाफ फर्काइन । 
पछि थाहा भयो लामो अनि भयंकर डरलाग्दो र्यापिडमा सरिताको मुटू थर्किएछ, बचाउनै हम्मेहम्मे । 

राफ्टिङ सफरको बिच बिचमा कतिले पौडि खेलेर धित मारे, कतिले एक अर्कालाई पानी छ्यापेर । कोहि भने फोटो खिच्नमै प्रफुल्ल । फर्किदा त्यहि त्रिशुली रिभरसाईड क्याफेमा पेट नभरिएसम्म खाना मिठो मानीमानी खाईरह्यौ, पेट भरिएसी अलिअलि कुरापनि बनायौ । होटल प्रांगडमै नाच्नेले नाचेरै मज्जा लिए, गाउनेले गाएरै मज्जा लिए अनि हेनैले हेरेरै । 

करिब ४ घण्टाको राफ्टिङ सफरपश्चात सकुसल सम्पुर्ण सहयात्रीहरु काठमाण्डौ फक्र्यौ । सायद प्रोफेसर डा. सुस्मिता सिंह कार्कीको सफरपुर्वको सुभेच्छा र सदिक्षाले हुनुपर्छ न कसैलाई चोटपटक लागेको सुईको सुनियो न कसैले खल्लो अनुभव गरेको नै  । 

अन्तमा, त्रिशुली राफ्टिङ पर्यटकिय दृष्टिकोणले अति महत्वपुर्ण त छदैछ, अर्थापार्जन र रोजगारीको हिसाबलेपनि यो व्यवसाय सरल, सलिन र सराहनीय छ । त्यै त्रिशुली हो कतिबेला बढेर मान्छेसमेत बगाईदिन्छ कतिबेला पुल भत्काएर आवतजावत नै राकिदिन्छ तर म त भन्छु, यसले थोरबहुत जे–जस्तो गरेपनि धेरैजसो कतिलाई मनोरञ्जन प्रदान गरेको छ भने कतिलाई रोजीरोटी र खाना–नानाको जोहो गरेको छ । जय हो त्रिशुली, जय हो राफ्टिङ । 

                                                                                                                        

 गत बैशाख ५, २०७० को त्रिशुलीको  राफ्टिङ सफरको  यात्रा संस्मरण 

Monday, December 8, 2014

विर्सन नहुँने संवैधानिक इतिहाँस


                            
                                                                                           कृष्ण महरा

संविधानसभाका अध्यक्ष सुवाष चन्द्र नेम्वाङ्ग निधारित समयमा नै देशलाई नयाँ संविधान दिन सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज तथा सम्पुर्ण जनतालाई आआफ्नो तर्फबाट दवाब दिन विनम्रतापुर्वक  आग्रह गरिरहेका छन । त्यस्तै, एकातिर सदियौदेखि राज्यसंयन्त्रको मुलप्रवाहबाट विमुख पारिएका भनिएका आदिवासी÷जनजाती, महिला, दलित, मधेशी, अल्पसंख्यक, सीमान्तकृत समुदाय आगामी नयाँ संविधानमा आफुहरुको हक अधिकार सुनिश्चित गराउन लागिपरेका छन भने अर्कोतिर जनताले प्रजातन्त्र प्राप्त गरेको साठी÷पैंसटठी वर्षसम्मपनि विकास नामको बुटिले नछोईएको र केन्द्रिकृत शासनसत्ताको स्वादबाट सधै पाखा पारिएको सुन्दर सुदुरपश्चिमवाशीहरुपनि संविधानमार्फत विकाश र सम्वृद्धिको मार्ग चाहन्छन ।

त्यसो त नेपालमा संविधान बन्ने प्रक्रिया पहिलो पटक भने होईन । यो २०७१ माघ बन्ने भनिएको संविधान नेपालको संवैधानिक इतिहाँसमा निमार्णका हिसाबले सातौ जनप्रतिनिधिमुलक संस्था संविधानसभा मार्फत निर्माण हुने पहिलो संविधान हो ।

नेपालको संक्षिप्त संवैधानिक इतिहाँस :
अब उप्रान्त हुकुमी शासनले काम गर्न नसकिने र थोरबहुत भएपनि आफुलाई जनताप्रति उत्तरदायी देखाउन तत्कालिन श्री ३ पद्मशम्सेरले २००४ सालर्मा नेपाल सरकार वैधानिक कानुन’ नाम दिईएको संविधान निर्माण गरेतापनि लागु नहुदै उक्त संविधानले मृत्युवरण ग¥यो ।
२००७ सालको क्रान्तीपछि तत्काल क्रान्तीका उपलब्धिहरु बचाईराख्न र पछि  संविधानसभामार्फत संविधान निर्माण गर्ने उद्देश्यले राजाद्धारा नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो ।जनताका प्रतिनिधिहरुले संविधान निर्माण गर्ने भनिएपनि विपी कोईराला र राजाविचको वेमेलले राजा महेन्द्रद्धारा आयोगमार्फत २०१५ सालको संविधान जारी गरियो । त्यसपश्चात  नेपाली जनताको संविधानसभा मार्फत संविधान निर्माण गर्ने सपना उहिल्यै तुहिएको थियो । त्यसपछि भने दोस्रो जनआन्दोलन २०६२÷६३ सम्म संविधानसभाको माग गरिएन र गरिएपनि कसैले टेरपुच्चर लाएनन ।

२०१७ पौष १ गतेमा राजनैतिक दलमाथी प्रतिबन्ध लगाइसकेपछी राष्ट्रिय पञ्चायत अनुकुल राजा महेन्द्रले ऋषिकेश शाहको अध्यक्षताको समितिमार्फत नेपालको संविधान २०१९ जारी गर्नुभयो । तत्पश्चात नेपालमा निर्दलिय पञ्चायती व्यवस्थाको प्रारम्भ भयो भने देशमा राजनैतिक दलहरुको भविष्य अँध्यारो अन्धकारमा भासियो । क्रान्तीका उपलब्धिहरु र जनताको स्वशासित हुने अधिकार लुछियो ।  

दलविहिन शासन र प्रजातन्त्र पुनस्र्थापना बीचको झण्डै ३० वर्षे अवधिमा राजाको असिमित संवैधानिक तथा राजकीय अधिकारले फेरी नेपाली जनता २०४६ सालको जनआन्दोलन मार्फत अधिकार पुनर्प्र्राप्तीका लागी सडकमा ओर्लिन वाध्य भए ।

पहिलो जनआन्दोलनमा जनताको माग सम्बोधन गर्नकै लागी तत्कालिन सर्वाेच्च अदालतका न्यायधीस विश्वनाथ उपाध्याय नेतृत्वको आयोगमार्फत  नेपाल अधिराज्यको संविधान २०४७ जारी गरिएको भयो । सोहि ऐतिहाँसिक पहिलो जनआन्दोलनको उपलब्धिस्वरुप नेपाली जनता संवैधानिक रुपमा पहिलोपटक उक्त संविधान अगाडि श्री ५ मा निहित सार्वभौमसत्ता नेपाली जनतामा निहित गराउन सफल भए ।

सशस्त्र दन्द्ध र दोस्रो ऐतिहाँसिक जनआन्दोलन २०६२÷६३ पश्चात नेपालमा फेरी लक्ष्मण प्रसाद अर्याल संयोजकत्वको आयोगद्धारा नेपालको अन्तरिम संविधान २०६३ निर्माण गरियो । यो नेपालको पुर्ण संविधान होईन, तत्कालिन जनआन्दोलन र संघर्षले निम्त्याएको संकर्मणकाल मत्थर पार्ने अन्तरिम विधान हो र पनि यस संविधानको आफ्नै विशेषता र महत्व छ । 

यस  संविधानले संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राष्ट्र, छुवाछुत तथा जातिय भेदभाव विरुद्ध एवं महिलाको हकलाई पहिलोपटक मौलिक हकको रुपमा स्वीकार गर्दै जनप्रतिनिधिमुलक संस्था संविधानसभाले नयाँ संविधान निर्माण गर्ने संवैधानिक व्यवस्थाको परिकल्पना गरेको हो ।    

बुझ्नुपर्ने महत्वपुर्ण कुरा त के छ भने हामी मुलुकको भविष्य निर्माण गर्ने संविधान निर्माणको दोस्रो चरणमा छौ । पहिलो चरणमा असफल सिद्ध भईसकेका उनै नेता र उनै राजनैतिक दलहरु फरक राजनैतिक पोजिसनमा उभिएर संविधान निर्माणको यो अन्तिम चरणमा छन ।  
              
नेपालको सन्दर्भमा संविधानको ऐतिहाँसिक पाटो पल्टाएर हेर्ने हो भने हरेक संविधान निर्माणपश्चात केहिँ न केहिँ राजनैतिक विग्रहका झिल्काहरु निम्तिएका छन । ति नै झिनामसिना रापहरु पछि गएर कहिले कु मार्फत सत्ता हत्याईएको छ त कहिले आन्दोलन र सशस्त्र संघर्षहरु जन्मिएका छन । 

विगतमा संविधान निमार्णपछिको परिणाम :
२००४ सालमा पद्मशम्सेरले नेपालको पहिलो संविधान जारी गरे तर राणाहरु भित्रकै आपसी विवाद र किचलोले लागु गर्न सकेनन, जनतालाई अधिकारसम्पन्न बनाउन सकेनन फलस्वरुप २००७ सालको क्रान्ती भयो र राणाशासन सदाका लागी अन्त्य भयो । 

२००७ मा दोस्रो संविधान जारी भयो, क्रान्तीका महानायक र प्रधानमन्त्रीका पहिलो हकदार विपी कोईरालालाई देशको प्रधानमन्त्री बनाईनुपथ्र्यो तर त्यस गरिएन । २०१५ सालमा संविधान बनाईयो उक्त संविधानको परिणामस्वरुप नेपाली राजनितीमा पौष १ गतेजस्तो अत्यासलाग्दो अध्याँरो दिन देख्नुप¥यो ।

वीपी कोईराला, कृष्णप्रसाद भट्टराई लगायत अन्य कयौ २००७ सालको क्रान्तीका योद्धाहरु जेलजीवन जिउन बाध्य भए । फेरीपनि नेपालको संवैधानिक इतिहाँसमा संविधानको फेरवदल हुने क्रम रोकिएन । राजा महेन्द्रले फेरी पञ्चायती व्यवस्था अनुकुल २०१९ सालमा संविधान जारी गर्नुभयो त्यस लगत्तै कतिपय क्रान्तीवीरहरुलेदेशछोड्नु¥यो । 
त्यतिमात्रै होईन, २०३७ सालको जनमतसंग्रहमा राज्यशक्तिको चरम दुरुपयोग गरि पञ्चायतको पक्षमा मत दिन सारा नेपाली जनतालाई वाध्य पारियो र देश २०४६ सालको आन्दोलनको शिकार भयो । उक्त आन्दोलन सफल भएपश्चात २०४७ सालमा नेपालमा फेरी अर्को संविधान जारी भयो ।

उक्त २०४७ सालको संविधान घोषणाका क्रममा विश्वका दश उत्कृष्ट संविधानमध्ये एक मानिएपनि त्यस संविधान नेपाली जनताको मर्म,भावना,र हित अनुकुल भएन जसको परिणामस्वरुप यसविचमा विभिन्न संर्घष र सशस्त्र दन्द्ध नै निम्तियो । नेपालमा उक्त दशवर्षे सशस्त्र दन्द्धले देश कति पछाडि प¥यो त्यो यहाँ उल्लेख गरिरहनु पर्दैन । 

उक्त संविधानपश्चात त २०६२÷६३ को आँधिहुरी नै ल्याईदियो । फेरीपनि नेपालमा उहि संविधानको पुनरावृति दाहोरियो नेपालको अन्तरिम संविधान २०६३ ।  देशमा २४० वर्षदेखि सदा शासन गरिरहेको राजतन्त्रको नामनिसाना इतिहाँसमा मात्रै सीमित रह्यो भने लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रको राज चल्यो । 

विगतका संविधानझैं यो संविधानलेपनि अन्तरिम समस्या समाधान बाहेक सारा समस्या समाधान गर्ने कुरै भएन । दुई वर्षमा बनाउने भनिएको संविधान चार÷चार वर्षमा पनि नबन्नु, देशमा अनिश्चितकालिन संक्रमणकाल र संघियताका नाममा विभिन्न जाती, क्षेत्र एवं वर्गले गर्ने वन्द,हड्ताललाईपनि यसै संविधानपछिको परिणाम मान्दा अत्युक्ति नहोला ।

इतिहाँसको मुल्याँकन :
राणादेखि राजासम्म र विश्वप्रसिद्ध संविधानविद्ध आइभर जेनिङदेखि नेपालकै संविधान र कानुनका हस्तिहरुले निमार्ण गरेका संविधानहरुले त नेपालमा स्थीरता र विकाश निर्माणको मुल फुटाउन सकेनन नै तर संविधान र कानुनको त्यति ज्ञान नभएपनि अबका जननिर्वाचित प्रतिनिधीहरुले निर्माण गरेको संविधानले कतिको देशमा स्थीरता र सम्वृद्धिको कायापलट ल्याउछ त्यो भने व्यग्र प्रतिक्षाको विषय नै छ ।

हुन त संविधान तथा कानुनका कतिपय विज्ञहरुले विगतका राजनैतिक उथलपुथल र विद्रोहहरु संविधानका कारण भएका वा घटेका होईनन पनि भन्न सक्दछन तर यथार्थ वास्तविकता के हो भने विगतमा जे–जति क्रान्ती,उथलपुथल तथा संघर्षहरु भए ती संविधानको परिवर्तन संगसंगै आएका छन । सायद ती संविधानहरुले तत्तत् समयमा सम्पुर्ण जनभावनालाई समेटेर आएका भए जनता यतिका संविधान फेरवदल गर्नतिर लाग्ने थिएनन कि ?

विगतका संविधानहरु र आगामी संविधानको तात्विक फरकपना के हो भने विगतमा राणा,राजा वा कुनै व्यक्ति वा आयोगमार्फत संविधानको निर्माण हुन्थ्यो भने अबको संविधान जनताले आफ्नै प्रतिनिधीहरुमार्फत निर्माण गर्दैछन । हिजो राजा महाराजाहरुको अनुकुल हुनेगरि लेखिएको संविधान अब जनताको अनुकुल हुनेगरि लेखिनेछ, लेखियोस । 

पञ्चायतकालिन संविधानबाट निर्दलियता शब्दमात्रै हटाउन कत्रौ संघर्ष गर्नुपरेको थियो ? यो यथार्थलाई संविधान निमार्णमा सरिक सभासद तथा राजनैतिक दलहरुले राम्ररी बुझ्नैपर्छ । संविधान देशको मुल कानुन मात्रै होईन, मुलुकलाई सहि दिशातर्फ डो¥याउने महत्वपुर्ण राजनैतिक दस्तावेज पनि हो ।विश्वमा प्रजातान्त्रिक मुलुकहरु चाहे लिखित हुन वा अलिखित, संविधानद्धारा नै नियन्त्रित, निर्देशित र सञ्चालित हुन्छन ।

वर्तमान संविधान निमार्ण प्रक्रिया  :
जहाँसम्म नेपालको वर्तमान संविधान निर्माणको प्रसंग छ, जुन विन्दुमा आएर गएको संविधानसभा विफल भएको थियो दलहरु यसपाली पनि त्यसै विन्दुमा अड्किएर ठोक्किदैछन । संविधानसभा निर्वाचन बहिस्कार गरेको वैध्य नेतृत्वको नेकपा माओवादी लगायत तेत्तिस दलिय मोर्चालाईसमेत संविधानसभामा सहभागी गराउन भन्दै गरिएको कथिर्त राजनैतिक सम्मेलन’ नामक पोलिटिकल स्टन्ट सुरु नहुदै अन्त्य भईसकेको छ । 

सत्तारुड कांग्रेस एमाले सहमतिको माध्यमद्धारा कुरा मिल्न नसके प्र्रकृयाको माध्यमद्धारा भएपनि संविधान जारी गर्नुपर्छ भनिरहका छन भने प्रमुख प्रतिपक्षी एनेकपा माओवादी लगायत अन्त्य दलहरु प्रकृयामा गए आफुहरुको एजेण्डा नै हराउने र आफ्नो गठबन्धनको हार हुने बुझिरहेका छन । संविधान जसरी भएपनि ल्याउछौ भन्नु र कसैलेपनि आफ्ना पुर्ववत अडानबाट एक इन्चपनि टसमस नहुन आफैमा विरोधाभास देखिन्छ ।

देश संघियतामा जाने निश्चित नै छ । संघियता आफैमा नराम्रो भने हुदैँ होईन तर हाम्रोजस्तो जातीय संघियता माग हुने र देश टुक्य्राउन माग गरिने देशमा यसले कस्तो रुप धारण गर्ने होला, बुझ्न गाह्रो छैन । भर्खरै गरिएर्को अपना मधेश–आजाद देश’को मागले नेपाललाई ठुलो पाठ सिकाएको हुनुपर्छ ।

निष्कर्ष :
संवैधानिक इतिहाँस भन्छ नेपालले आजसम्म छ वटा संविधान खाईसक्यो, सातौ पकाउदैछ । विश्व इतिहाँस हेर्ने हो भने सयौ वर्ष पुराना र कतिपय मुलुक लिखित संविधानविनै विश्वमा विकासको राज गरिरहेका छन । अमेरिकनहरुले यति धेरै प्रगति गरिसक्दापनि सन १७८७ मा बनाएको संविधान पुरानो भयो, फेर्नपर्छ भनेनन । 
जापानीहरुले विदेशीले बनाईदिएको संविधान चाहिएन, हामिले आफै बनाउनुपर्छ भनेनन, खुरुखुरु प्रगति मात्रै गरिरहे । त्यसैले संविधान मात्रै फेरेर हुँदो रहेनछ, आफुलाईपनि फेर्न सक्नुपर्दो रहेछ । अब बन्ने संविधानले सारा नेपालीको भावना समेट्दै लामो आयु बोकेर र सबैथरी विभेदको अन्त्य गरि आओस, यहि नै नेपाल र नेपालीको सर्वोपरि हितमा हुनेछ ।

   
                                         
                                 मङ्सिर २२, २०७१को नागरिक दैनिकमा प्रकाशित

See more at : 
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/2017-nagarik-08-dec-2014/2-nagarik.html